पाल्पा, १५ चैत
रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्न सफल हुनुभएको छ ।
उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्नुुहुन्छ । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा हुनुहुन्छ । उहाँले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन तथा अन्य व्यवसायबाट मेहनतअनुसार आम्दानी हुन्छ भन्ने उहाँ नमूना बन्नुभएको छ ।
कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रमार्फत अर्यालले भैँसीपालन गर्दै आउनुभएको छ । भैँसीपालन केन्द्रमा भैँसीको दूधसँगै मुर्रा जातका भैँसीका पाडापाडीसमेत उत्पादन हुँदै आएको उहाँले बताउनुभयो ।
केन्द्रमा अहिले २२ वटा मुर्रा भैँसी रहेका छन् । हाल नौवटा भैँसी र दुईवटा गाई दुहुना छन् । केन्द्रमा रहेको एउटा भैँसीले तीन पटकसम्म दिनमा दूध दिँदै आएको उहाँले बताउनुभयो । पचास रोपनी जग्गामा भैँसीका लागि आवश्यकताअनुसार घाँस खेती गर्दै आउनुभएका अर्यालको भैंसीपालन केन्द्र यतिबेला आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ अहिले पाँच जनाले रोजगार पाएका छन् ।
स्थानीय सीताकुण्ड दुग्ध सहकारी संस्था रामपुरले सहुलियत दरमा ऋण, भैँसी तथा गाईको बीमा, घाँसको बीउ तथा प्राविधिक सहयोग गर्दै आएको सहकारीका अध्यक्ष कमल भट्टराईले बताउनुभयो । सहकारीको सहयोगकै कारण रामपुर क्षेत्रमा करीव १०० भन्दा बढी युवा पशुपालन व्यवसायमा संलग्न रहेका छन् । पछिल्ला वर्षमा रामपुरमा दूधको खपत हुँदै आएको छ । सहकारीले सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्न थालेपछि विपन्न समुदायका महिला तथा पुरुष पशुपालनमा जुटेका छन् । (रासस)