१० भदौ २०७५, काठमाडौं
काठमाण्डौमा जन्मिए पनि कलिलै उमेरमा खेतीपाती , मेलापात र ज्यालापर्मको अनुभव राम्रैसँग संगालेका छन् ,उनले ।
परिवारको विपन्न आर्थिक अवस्थाका कारण विद्यालय पढ्दा नै ज्याला मजदुरी गर्न गएका उनले हातका ठेला फुट्दा हातमा रुमाल बाँधेर पनि खेत खनेका छन् । परिश्रमको फल मीठो हुन्छ भन्ने भनाई राजन श्रेष्ठको जीवनमा चरितार्थ भयो । कमै उमेरमा विभिन्न उतारचढावकाबीच समाजमा छुट्टै पहिचान बनाउँदै छन् ,राजन ।
बुढानिलकण्ठ नगरपालिका १३ चुनिखेल टुसालमा जन्मिएका २८ वर्षीय श्रेष्ठ कमै उमेरमा प्रगति गर्ने युवामा गनिन्छन् । कपनमा रहेको पायोनीयर पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल रहेका उनी विभिन्न कला,साहित्य, सामाजिक र शैक्षिक संघसंस्थामा आवद्व छन् ।
सानो छँदा साथीभाइसँग खेल्न मन पराउने उनी विद्यालयमा प्रायः प्रथम हुने गर्थे । जनजागृती निमावि (हाल मावि) मा कक्षा ८ सम्म अध्ययन राजनले नौलिन माद्यामिक विद्यालयबाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ।
एसलसीमा स्कुल टप गरेका राजनले प्राय : कलेजहरुमा छात्रवृत्तीमा अध्ययन गर्ने अवसर पनि पाए । केभ्स कलेजमा प्लसटु अध्ययन गरेका राजनले बज्र इन्टरनेशनल कलेजबाट स्नातक उत्तीर्ण गरे । पत्रकारिता र अग्रेजी विषयमा स्नातक गरेका राजनले युनिभर्स कलेजबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेका हुन् । आइएसआरबाट एमफिल गरेका राजन अब छिट्टै नेपालबाटै पिएचडी गर्ने तयारीमा पनि छन् ।
पढाइमा अब्बल राजन स्कुल पढ्दादेखि नै घरमा आएका भाइबहिनी (होम ट्यूशन) पढाउँथे । जसको बदलामा उनलाई कोहि चामल, आलु त कोहि पैसा दिने गर्थे । त्यसपछि राजनले होम होम ट्यूशनलाई निरन्तरता दिए भने इन्स्टिच्यूटमा पढाउन थाले । स्तुपाको सुरक्षा गार्डबाट जागिरे जीवनको सुरुवात गरेका राजनले रेष्टुरेन्टको अकाउन्टेन्ट र सुन पसलमा पनि काम गरे । भन्छन्, मैले कुनै काम सानो , ठूलो भनिनँ ।
स्नातक पहिलो वर्षमा अध्ययन गर्दा उनले केहि समय विभिन्न संघसंस्थामा पत्रकारिता तालिम लिए भने विभिन्न विद्यालयमा पत्रकारिता तालिम पनि दिए । विभिन्न क्षेत्रमा काम गरेको अनुभव संगालेका राजनले २०६४–६५ बाट अंग्रजी शिक्षकको रुपमा काम गर्न थाले । गोकर्णेश्वर स्कुलबाट अध्यापन गराउन थालेका राजनले नेशनल आइडियल स्कुल , कुपण्डोलमा रहेको नाइटिङ्गेल स्कुल, नर्सिङ कलेजमा केहि वर्ष अंग्रेजी पढाए ।
सो क्रममा उनले विद्यालयमा हुने अतिरिक्त कृयाकलाप प्रमुखको जिम्मेवारी पनि सम्हाले । त्यसपछि जाउलाखेलमा रहेको डिएबि स्कुलमा सिनियर अंग्रेजी शिक्षक बने । त्यसबेला उनले उक्त स्कुलको वेभसाइटमा राख्ने समाचार सामाग्री संकलन र सम्पादन पनि गर्थे ।
फुटबल खेलमा रुची राख्ने राजन प्लसटु पढ्दा एक घटना व्यहोरे । फुटबल खेल्दा खेल्दै उनको एउटा गोडामा अप्रेशन नै गर्नुपर्ने गरी चोट लाग्यो । सो घटनाले बुवा रामजी श्रेष्ठ उनीसँग निकै रिसाए । त्यसपछि राजनलाई आफूले ठूलै अपराध गरेको जस्तो लाग्यो र आँशु थाम्न सकेनन् । गोडामा चोट लाग्दा नरोएका राजन बावुको गाली सहन सकेनन् ।
र त्यहाँ उनीमात्रै रोएनन् साथीहरुलाई पनि रुवाइदिए ।उनको गोडाको अप्रेशनको लागि २–३ लाख लाग्ने भयो । सबैको प्यारो, आज्ञाकारी, इमान्दार राजनलाई साथीहरुले विभिन्न माध्यमबाट चन्दा उठाएर निकै आर्थिक सहयोग जुटाए । उनी भन्छन् , साथीहरुको सहयोगले छिट्टै आर्थिक संकलन भयो र मेरो उपचार पनि निकै राम्रो भयो ।’
त्यस्तै उनको जीवनमा एउटा रोचक घटना घटेको छ । उनी ज्योतिषमाथि विश्वास राख्दथे । एक दिन ज्योतिषीले एसएलसीमा अनुत्तीर्ण हुने देखिन्छ भनिदिए । कक्षामा पहिलो हुने राजनलाई उनको कुराले डर पैदा गरायो पनि । त्यसपछि त उनले झनै मेहनतका साथ अध्ययन गरे । अन्तत: एसएलसीमा स्कुल टप पो गरे । राजनलाई अंग्रेजी पढेकोमा कहिल्यै पछुतो लागेन । भन्छन्, ‘अंग्रेजी पढेर ज्यूँन सिकेँ।’
विभिन्न निजी विद्यालयका अंग्रेजी शिक्षक बनेका राजनलाई अष्ट्रेलिया जाने सोच पनि आयो । अष्ट्रेलिया जाने कुरा उनले आफ्ना साथीहरुलाई सुनाए । उनका साथीहरुले सानैदेखी राम्रो पढाई भएको र यति धेरै अध्ययन गरेको मान्छे भएकाले विदेश नजान सुझाव दिए ।तत्पश्चात स्वदेशमै केहि गर्ने योजना बनाएका राजनले सोचे शिक्षा क्षेत्रमै लागिरहेको छु, अब एउटा संस्था चलाउनुपर्यो । र त्यो सोचले उनलाई पायोनीयर पब्लिक स्कुलको संस्थापक प्रिन्सिपल बनायो ।
उनी भन्छन्, ‘सुरुवातमा कपनमा सञ्चालन भइरहे पनि कमजोर अवस्थामा रहेको पायोनीयर पब्लिक स्कुल २०–२५ जना मिलेर लिने सहमती भयो । तर पछि ८ जनाले २०७२ मा स्कुल लियौँ । अहिले पाँच जना मात्रै छौँ । त्यतिबेला कतिपय मानिसहरुले गलत निर्णय लिनुभयो भन्ने सुझाव पनि दिनुभयो ।‘
राजनले आफू जुन संस्थामा संलग्न हुन्थे त्यहाँ आफ्नो सकारात्मक छवी बन्थ्यो । प्रष्ट वक्ता राजनलाई आफू संलग्न विद्यालयमा आयोजना हुने कार्यक्रम सञ्चालनको जिम्मेवारी आउने गथ्र्यो । भन्छन्, विद्यालयमा कार्यक्रम हुँदा म छु भनेपछि सबैजना ढुक्क पर्नुहुन्थ्यो । मैले कार्यक्रम सञ्चालन मात्र नभएर व्यवस्थापनको जिम्मेवारी पनि लिन्थेँ । र जस्तोसुकै अवस्थामा पनि त्यो जिम्मेवारी पूरा गरेरै छाड्थेँ ।
२०७२ माघमा ९ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका राजन भन्छन्, ‘पहिले प्रेममा रहे पनि हाम्रो मागी विवाह हो । विभिन्न रोकावट, आरोह अवरोह आए पनि मागी विवाह भयो । अहिले १८ महिनाको छोरी छिन् ।’
विवाह अघि आमा चन्द्रमाया श्रेष्ठ र पछि श्रीमती डिम्पल श्रेष्ठबाट प्रेरित राजन कमै उमेरमा युवाहरुको प्रेरणाको स्रोत बनेका छन् ।उनी भन्छन्, ‘समाजमा कमै उमेरमा प्रगति गर्ने युवाको रुपमा हेर्न थालेका छन् । सानैदेखि बोलेको पूरा गर्ने भएकाले विश्वास पनि गर्नुभएको छ ।’युवाहरुले आफू जस्तो बन्नुपर्छ भन्छन रे भन्ने सुनेका छन् राजनले ।
उनलाई कतिपयले बाहिर हेर्दा नरिवलको जट्टा जस्तो तर भित्र नरम भन्ने पनि गरेका छन् । शिक्षा,समाजसेवा र साहित्यमा सक्रिय राजन आफ्नै देशमा केहि गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र पनि बनेका छन् ।
नेपाली र अंग्रजी दुवै भाषमा कविता लेख्ने राजनको साहित्यिक नाम धरातल हो । उनी आस्था आर्टस एकेडेमीका सचिव, केयूसिटी कलेजका संस्थापक, लायन्स क्लब अफ काठमाण्डौ लिडरसिप फर चेन्जका अध्यक्ष, कल्याणकारी स्वयमसेवक संघ प्रदेश नम्बर ३ का सचिव तथा एनप्याव्सनका जिल्ला कमिटी सदस्य पनि हुन् । अन्य विभिन्न संस्थामा आवद्ध रहेका राजनले केयूसिटी कलेजमा प्लसटु र व्याचलर पनि पढाउने गरेका छन् ।
पायोनीयर पब्लिक स्कुलको नेतृत्वमा आएपछि कपनमा आफूले राम्रै प्रभाव पारिरहेको उनको दावी छ । भन्छन्, हामी आएपछि पायोनीयरको मुहार फेरिएको छ । अब यसैको छुट्टै मन्टेश्वरी खोल्ने, प्लसटु चलाउने योजना छ । पायोनीयरका विद्यार्थीहरु देशको प्रतिनिधित्व गर्दै खेल प्रदर्शनका लागि विभिन्न राष्ट्रमा जाने तयारी गरिरहेको उनले बताए । शिक्षा क्षेत्रमा आफ्नो सकारात्मक छवी बनाउने तथा पुस्तक लेख्ने योजना पनि छ उनको ।
उनी भन्छन् , ‘मेरो बुवाले धेरै पढिस भनेर गाली गर्नुहुन्थ्यो । हजुरबुवाले ८ कक्षामा पढ्दा नेपाल बस्ने भए पढाई पुग्छ । तिमीले धेरै ज्ञान पाइसक्यौ । विदेश जाने भए अझै पढ्नु भन्नुहुन्थ्यो । उहाँले एसएलसी नै नदिएपनि हुन्छ भन्नुहुन्थ्यो । तथापी आमाले पढ्न निकै प्रेरित गर्नुहुन्थ्यो । अहिले बुवाआमा सन्तुष्ट हुनुहुन्छ ।’
कतिपय कुलतमा लागेका साथीहरुलाई सुधार्ने प्रयास गरेपनि उनी असफल नै रहे । भन्छन्, ‘मलाई यो स्थानमा पुर्याउन धेरै साथीहरुको महत्पूर्ण भूमिका छ ।’