जिल्ला अस्पतालमा प्रसुती सेवा प्रभावित



२८ कार्तिक २०७५, संखुवासभा

जिल्ला अस्पताल संखुवासभामा चिकित्सक नहुँदा प्रसुती सेवा प्रभावित भएको छ । चिकित्सक नहुँदा विगत एक सातादेखि सेवा प्रभावित भएको हो । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले दुई जना चिकित्सक ल्याएका थिए तर एकजना चिकित्सकको समयावधि सकिएको र अर्का पनि विदामा बसेपछि प्रसुति सेवा प्रभावित भएको हो ।

डा. युवराज वस्नेतले दशैँअघि नै समयावधि सकिएको भन्दै अस्पताल छाडिसकेका छन् । डा. शैलीका श्रेष्ठ पनि विदामा बसेपछि प्रसुति गराउन आएका सेवाग्राहीहरु मारमा परेका छन् ।

सोमबार खाँदबारी नगरपालिका–४ का प्रसुती सेवा गराउन आएका भुवन राईलाई अस्पतालले चिकित्सक नभएकाले प्रसुती सेवा दिन नसक्ने बताएपछि समस्यामा परे । अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजान भने पनि रकम अभावमा लान नसकेको राईले दुखेसो गरे । उनी मात्र होइन, प्रसुती गराउन आउने जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्ला भोजपुरको उत्तर–पूर्वी भेगका बिरामी पनि अस्पताल आएर फर्कने गरेका छन् ।

जिल्ला अस्पताल प्रमुख लक्ष्मण खड्काका अनुसार संस्थाले राखेको डाक्टरको समयावधि सकिएकाले सम्बन्धित निकायमा चिकित्सक व्यवस्थापनका लागि अनुरोध गरिएको तर हालसम्म समस्या समाधान नभएको बताए । यता, अस्पताल समितिका अध्यक्ष सुमन शाक्यले प्रसूति सेवा गराउने चिकित्सक चाँडै व्यवस्थापन गर्ने बताए । प्रसुती सेवाको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा समितिको बैठक राखेर चाँडै समस्या हल गर्ने अध्यक्ष शाक्यले बताए ।

प्रसुती सेवाका चिकित्सक व्यवस्थापन गर्न नसक्दा अस्पतालमा पटक–पटक प्रसुती सेवा प्रभावित हुने गरेको छ । चिकित्सक नभएपछि २४ सैं घण्टा दिईने प्रसुती सेवा एक साताबाट ठप्प भएको हो ।

प्रतिक्रिया दिनुहोस्