प्याब्सन गुणस्तरीय शिक्षा तथा निजी एवम् आवासीय विद्यालयहरुको अधिकारका लागि क्रियाशील रहन्छ : प्रेम राई (परिक्षित)



२८ कार्तिक २०७५, काठमाडौं

निजी तथा आबासीय विद्यालय संघ (प्याब्सन) काठमाडौंका उपाध्यक्ष प्रेम राईको जन्म वि.सं.२०२५ साल वैशाख २० गते खोटाङ जिल्लाको तत्कालिन सिम्पानी गा.वि.स.को  कसेरी सुन्तले भन्ने स्थानमा माता शुक्रमाया राई र पिता मन्दिर जंग राईको कोखबाट भएको हो ।

उहाँ सानै देखि पढाइमा अव्बल  हुनुहुन्थ्यो । भविष्यमा शिक्षण पेशामा नै काम गर्ने अठोटका साथ अध्ययन अध्यापन गर्दै हालसम्मको यात्राहरुमा विभिन्न परिचय बनाई सक्नु भएको छ ।

छिटो कण्ठ गर्ने स्वभावका राई वास्तवमा नै विद्यार्थी अभिभावकको रोजाइमा पर्नुहुन्छ । यो नै उहाँको ठूलो परिचय हो । विद्यार्थी रहँदा पनि आफू शिक्षकहरुको प्रिय विद्यार्थी भएको उहाँ बताउनुहुन्छ ।

कारण उहाँ गीत, संगीत, साहित्य लेखन तथा पढाइमा अब्वल भएर नै हो । कुनै शिक्षक अनुपस्थित रहँदा उहाँलाई पढाउन लगाइन्थ्यो भनेर उहाँले ती दिनहरुलाई सम्झनुहुन्छ । सुमधुर आवाजमा गीत गाएर गीतहरुमा संगीत भरेर उहाँले आफ्नो जीवनलाई सार्थकताको बाटोमा हिडाउनु भएको छ । साहित्यमा उहाँका तीन वटा कृतिहरु प्रकाशित छन् । सहीदका सपना (कविता संग्रह) २०४८, बस्तीका चित्कार (नाटक), घाम उदाए पछि –बालगीत संग्रह), बाल सरगम गीतिएल्वम लगायत प्रकाशित छन् ।

प्रेम राई समाज सेवाको एउटा अर्काे महत्वपूर्ण नाम हो । उहाँले साहित्यकार कल्याण कोष तथा राहत नेपाल फाउण्डेशन लगायत सामाजिक संस्थाहरुको निर्माण गर्नुभएको छ । साहित्यकार कल्याण कोषले साहित्य लेखनमा लागेका साहित्यिक सर्जकहरुलाई स्वास्थ्य उपचार तथा कृति प्रकाशनका लागि आर्थिक सहयोग गर्ने गर्दछ । भने राहत नेपाल फाउण्डेशनले बाढी, पहिरो, भूकम्प तथा दैवी विपत्तीमा परेका मानिसहरुलाई सहयोग पुर्याउनुका साथै त्यस्ता विपत्तीबाट घरवार विहीन भएका मानिसहरुलाई सहयोग गर्ने गरेको छ । मीठो मुस्कान, चम्किलो चेहरा, शालीन स्वभाव र प्रभावशाली व्यक्तित्वका धनी राई जिल्ला प्यावसन काठमाडौंको उपाध्यक्षमा २०७३ सालमा निर्वाचित हुनुभएको हो । इडन ब्रिज स्कुलमा फाउण्डर प्रिन्सिपलको रुपमा कार्यरत प्रेम राई (परिक्षित) सँग विश्व आचार्यले लिएको अन्तरंग कुराकानी :

विश्व आचार्य : यहाँको प्रारम्भिक शिक्षा कहाँबाट सुरु भयो ?

प्रेम राई (परिक्षित) : म खोटाङ जिल्लामा जन्मीएको हुँ । खासमा त्यहीबाट नै प्रारम्भिक शिक्षा शुरु भएको हो । खोटाङ जिल्लाको श्री सिम्पानी माध्यमिक विद्यालयमा कक्षा ३ सम्मको अध्ययन पुरा गरे ।

विश्व आचार्य : यहाँको बाल्यकाल र अध्ययनको सुरुवाती चरणलाई कसरी सम्झनुहुन्छ ?

प्रेम राई (परिक्षित) : वास्तवमै धेरै याद आउँछ, आजको जस्तो पढ्नको लागि त्यसबेला सजिलो थिएन । धुलो माटो पिनेर, पाटीमा लेखेर अक्षर चिन्ने र लेख्ने परिपाटी थियो । मैले स्कुल गएको दिन सरले बासको छेस्को, डिको दिएर एक साइडमा तिमीलाई यति है भाग लगाईदिनु हुन्थ्यो ।  मैले छिट्टै अक्षर चिनेँ । त्यसबेला क देखि ज्ञ सम्म धुलौटोमा बाँसको डिकोले लेख्न लागाउनुभएको थियो । मैले साउ अक्षर, बाह्रखरी, जोडिएको अक्षर, खुट्टा काटेको रेफ लागेको अक्षर सबै एकैदिनमा लेखेर बुझाँए । जुन मैले घरमै सिकेको थिए ।

मैले त्यत्ति लेखिसकेपछि कक्षा १ मा भर्ना हुनका लागि सरले मलाई एक रुपैयाँ लिएर  आउनु भन्नु भयो । पैसाको व्यवस्थापन गर्न मलाई महशुस भएसम्म मेरी आमालाई गाह्रो भएको थियो । जसोतसो कक्षा १ मा भर्ना भइयो । कक्षा १ मा भर्ना भएपछि सरले पुस्तक दिनुभयो । पुस्तक लिने क्रममा यति खुसी भएँ की त्यसको वयान गर्न शब्दहरु कम हुन्छन् । पढ्न साह्रै मन लाग्ने, सानै देखि घरमानै बसेर पढ्ने लेख्ने  गाँउघरमा कती सुवानी केटो रहेछ भनेर सबैले तारिफ गर्थे । त्यसबेला स्कुलजाने, पढ्ने, घर परिवारको सानोतिनो काममा सहयोग गर्ने, घाँस गोठाला गर्ने कामहरु गर्थे ।

विश्व आचार्य :  थप अध्ययन………….

प्रेम राई (परिक्षित) :  खोटाङबाट हाम्रो परिवार उदयपुरको बेल्टार बसाहा भन्ने स्थानमा बसाई सर्यो र त्यहाँ स्थित ज्योति मा.वि. मा कक्षा १० सम्म अध्ययन गरे र राजनैतिक कारणबाट एसएलसी परीक्षा दिन अनुकुल नभएपछि त्यो भन्दा अलि पर थानपोखरी मावी बाट प्रथम श्रेणीमा एसएलसी उतिर्ण गँरे । एसएलसी पास गरेपछि काठमाडौं आईयो । प्रमाणपत्र तह र स्नातक तह नेपाल कमर्स क्याम्पस मिन भवनबाट गरियो, भने स्नतकोत्तर त्रिविवीबाट गरियो ।

विश्व आचार्य : विद्यालय स्तरमा तपाईँले कस्ता कस्ता कार्यक्रममा भाग लिनुभयो ?

प्रेम राई (परिक्षित) :  आजको समय जस्तो प्रतिस्पर्धात्मक कार्यक्रमहरु खासै हुदैँन थिए । सम्झदा त्यतिखेर प्रतिस्पर्धा चाँहि जसले धेरै पौडी खेल्यो, जसले अग्लो रुख चढ्यो ऊ नै प्रतिभाशाली हुन्थ्यो । पढाई बाहेक माछा मार्ने, फाल हान्ने, हाइजम्प गर्ने जस्ता कामहरु जसले धेरै गर्यो उनै तगडा भन्ने गरिन्थ्यो । सरस्वती पूजाका कार्यक्रमहरुमा गीत गाउने काम मेरो भागमा पर्थ्यो । सरस्वती पूजामा सांस्कृतिक कार्यक्रम हुने भएकोले उक्त कार्यक्रमको लागि सहयोग उठाउने हाम्रो भागमा पर्थ्यो । यी कुराहरु सम्झँदा आज पनि मनै साह्रै रमाइलो लागेर आउँछ ।

विश्व आचार्य :  प्रायः स्कुलमा प्रथम हुने व्यक्ति त्यसपछि गएर एस.एल.सी प्रथम श्रेणीमा पास भएर पनि किन शिक्षक नै बन्नुभयो ? सम्भावनाहरु अन्य क्षेत्रमा पनि थियो होलानी हैन र ?

प्रेम राई (परिक्षित) :  एकदम राम्रो प्रश्न गर्नुभयोे । हो यहि कुरा म भन्न चाहन्छु शिक्षण पेशा भनेको नराम्रो हो त ? मेरो त जीवनको आदर्श नै शिक्षक बन्ने थियो । मैले आज सम्म पढाएका विद्यार्थी सङ्ख्यामा २५/३० हजार पुगीसके । समाज र राष्ट्रको लागि सक्षम बनाउने, ईन्जिनियरहरु, प्राविधिकहरु, निर्माण गर्ने शिक्षण पेशा नराम्रो हुन्छ र ? सबै भन्दा कम नम्बर ल्याउने चाँहि शिक्षक बन्नु पर्ने अवस्था धेरै नम्बर ल्याउने विद्यार्थी डाक्टर इन्जिनियर बन्नु पर्ने……….? यसरी हामीले शिक्षण पेशा र शिक्षक भन्ने कुरालाई पछाडी पार्ने हो भने हामी कहाँ पुग्छौं । शिक्षा क्षेत्र कहाँ पुग्छ ?   राम्रो पढेर आफुलाईं चाहिने कमाएकै छु, औषत जीवन जिएकै छु, खुसी जो मलाई यहीँ पेसाले दिएको छ । मैले यत्ति धेरै विद्यार्थीहरु पढाएको छु, जो देश निर्माणको विभिन्न स्थानमा योगदान दिईरहेका छन् । जुन कुराले मलाई औधी खुसी तुल्याउँछ ।

विश्व आचार्य :  तपाईले पढ्ने समयमा सम्झने शिक्षकहरु को हुनुहुन्छ कि उहाँहरुले गर्दा तपाई जीवनमा केहि गर्नुपर्छ भन्ने लागेको थियो ?

प्रेम राई (परिक्षित) : अवश्य नै सत्यनारायण झा जसले पढाउदा पढाउदै कण्ठस्थ बनाउने, भूगोल पढाउने सर रमाकान्त यादव, शिवनारायण झा जस्तो पढाउने सरहरु जस्तो सायद अहिले सम्म पनि देखेको छैन भन्नुपर्छ । कति राम्रो पढाउने कति । सबै पढाउँदा पढाउँदै कण्ठस्थ बनाउने सरहरु जसबाट मैले उहाँहरु जस्तो पढाउने बुझाउने शिक्षक बन्न पाए कती भाग्यमानी हुन्थे भन्ने लाग्थ्यो । उहाँहरुबाट शिक्षा क्षेत्रमा केहि गर्नुपर्छ भन्ने लाग्थ्यो । कतिपय सरहरु किताब नहेरी पढाउनुहुन्थ्यो । मलाई पनि त्यो छाप छ, इम्प्रेशन छ । म पनि किताब नहेरीकन पढाउन सक्छु ।

विश्व आचार्य :  तपाईलाई के लाग्छ विद्यार्थी भनेको के हो ? विद्यार्थी कस्तो हुनुपर्छ ?

प्रेम राई (परिक्षित) : ज्ञानसीप आर्जन गर्ने कुरामा तत्पर हुनु नै विद्यार्थी हुनु हो ।  विद्यार्थी भनेको विद्या आर्जन गर्ने हो । ज्ञानगुनका कुरा सिक्न खोज्ने मस्तिष्क हो । केहि जान्न खोज्ने जिज्ञासु तथा चिजको अनुभव गर्ने, सिकारु, ज्ञान सिप आर्जन गर्ने कुरा का लागि तयार हुनु नै विद्यार्थी हुनु हो । विद्यार्थी उद्देश्य लिएको हुनुपर्छ । म भविष्यमा के बन्छु भन्ने कुरा उसले सोचेको हुनुपर्छ ।बारबार असफल भएपनि सफलता हात नलागेसम्म निरन्तर प्रयास गरिरहनु सफल विद्यार्र्थीको विशेषता हो ।

विश्व आचार्य : यत्रो समय शिक्षण पेशालाई अगाल्नु भएको छ तपाइको विचारमा शिक्षक कस्तो हुनुपर्छ ?

प्रेम राई (परिक्षित) :  प्रश्नहरु सोध्ने, सिर्जनाशील बनाउन सक्ने, उनीहरुलाई जिज्ञासु बनाउने, समस्याको समाधान गराउन सक्ने, विषयवस्तुलाई अब्बल तरिकाले प्रस्तुत गर्न सक्ने, जोश जाँगरले भरिएको, मीठास भावले प्रस्तुत हुने लगायतका कुराहरु शिक्षकमा हुनुपर्छ । साथै विद्यार्थीहरुको भावना बुझेर पठनपाठन गराउने लगायतका कुराहरु असल र सफल शिक्षकमा हुनुपर्छ ।

विश्व आचार्य : अभिभावक कस्तो हुनुपर्छ ?

प्रेम राई (परिक्षित) :  अभिभावकहरु पहिलो शिक्षक हुन् । उहाँहरुले नै हो सबै राम्रा कुराहरु सिकाउने । राम्रो र नराम्रो भन्ने कुरा बच्चाले अभिभावक बाट नै सिक्ने हो । त्यसैले बच्चाहरुलाई राम्रो संस्कार सिकाउनको लागि अभिभावकहरु वस्तवमा नै पहिलो शिक्षक बन्ने खालको हुनुपर्छ । जग बलियो भएन भने घरले भार थाम्न सक्दैन र त्यो घर ढल्छ । त्यसैले घरबाटै बालबालिकाहरुको संस्कार बलियो बनाउनुपर्छ ।

विश्व आचार्य : शिक्षकहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?

प्रेम राई (परिक्षित) : प्रसंग एउटा यस्तो छ हरेक विद्यार्थीको अभिभावकको चाहाना आफ्ना छोराछोरीलाई डा. इन्जीनियर बनाउने हुन्छ । अभिभावकहरु भन्नु हुन्छ कि राम्रो शिक्षक चाहिन्छ । जव आफ्नो बालबच्चालाई राम्रो शिक्षक बनाउन कोशिष गर्नु हुन्न भने शिक्षण पेशालाई हेला गरियो भन्ने मलाई लाग्छ । राज्यले शिक्षण पेशालाई हेर्ने दृष्टिकोण किन कमजोर ?  विश्वका विकसित राष्ट्रहरुको विकासको आधार नै शिक्षा हो । उनीहरुले शिक्षण पेशालाई उच्च प्राथमिकता एवम् सम्मान दिएको हुँदा ती देशहरुले शिक्षामा र मानव विकासमा फड्को मारेका छन् तर हाम्रो देशमा कुनै काम नपाएमा अन्तिममा गएर शिक्षक बन्नुपर्ला भन्ने सोच रहेको हुँदा हामी पछि परिरहेका छौं यसका लागि राज्यस्तरबाटै पहल हुन आवश्यक छ भने हामी साँघुरो मानसिकताबाट बाहिर आउन जरुरी छ ।

अमेरीकामा शिक्षकलाई पहिलो ग्राहयता दिइन्छ । जापानमा शिक्षकलाई न्यायधिशको कुर्सीमा बस्ने अधिकार  छ, भारतमै पनि शिक्षकहरुलाई हेर्ने नजर राम्रो छ, तर नेपालका शिक्षकहरुलाई दोश्रो तेश्रो दर्जामा राखिन्छ । समग्र राष्ट्र विकास हुने भनेको शिक्षाले हो जुन विद्यार्थी कमजोर छ या थोरै नम्बर ल्याउँछ ऊ चाँही अन्तीममा शिक्षक बन्नु पर्ने, यसले नेपालको शिक्षा क्षेत्रलाई कहाँ पुर्याउँछ । त्यसैले शिक्षण पेशा र शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोण राज्यले बदल्नु पर्दछ, समाजले बदल्नु पर्छ र मात्र देश उन्नतिको शिखर चढ्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया दिनुहोस्