११ मंसिर २०७५, काठमाडौँ
आदिम मिडिया हाउसको उद्घाटन तथा सातौं नेपाल अफ्रिका फिल्म फेष्टिभल चलचित्र महोत्सव उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् ।
कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सार्क र बिमस्टेक सम्मेलनका समयमा विदेशी पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा ल्याउन प्रयोग भएका सवारी पुराना भए भनी टिप्पणी गर्ने सञ्चारमाध्यमले हाल राष्ट्रपति र उपराष्ट्रपतिलाई खरिद गर्न लागेको साधनका बारेमा नकारात्मक टिप्पणी गरेको बताएका थिए । पोखरेलले पत्रकारिता पेशालाई व्यवसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।
कलेजले १५ वर्ष अघिदेखि शुरु गरेको पत्रकारिता विश्वविद्यालय स्थापनाका लागि सरकारले नीतिगत व्यवस्था गर्न सहयोग गर्ने प्रतिबद्धता उपप्रधानमन्त्री पोखरेलले जनाएका थिए । वार्षिक एक लाखभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेशिने गरेकाले सरकारले प्राविधिक र रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्न लागेको जानकारी उनले गराएका थिए ।
राष्ट्रिय सभाका सदस्य कोमल वलीले राजनीतिक क्षेत्रलाई पैसा कमाउने भाडो बनाउने हैन भन्दै इमान्दार हुनुपर्नेमा जोड दिईन् । सांसद, मन्त्री, कर्मचारी लगायत जोसुकैले गल्ती गरे पनि सञ्चारकर्मीहरुले खबरदारी गर्नुपर्ने बताईन् ।
“सञ्चारजगतले सरकारका कमीकमजोरी लेख्ने तर उद्योगपतिले कर नतिरेको समाचार चाहि विज्ञापनको स्रोत बन्द हुन्छ भन्ने भयले नलेख्ने गर्न नहुने बताउँदै आफु सोही कलेजमा स्नातकोत्तर दोस्रो वर्षमा पत्रकारिता अध्ययनरत रहेको बताईन् ।
कलेजका संस्थापक क्याम्पस प्रमुख डा मञ्जु मिश्रले सन् २००१ जनवरीदेखि अध्यापनअध्यापन शुरु भएको कलेजलाई आमसञ्चार विश्वविद्यालयका रुपमा विकास गर्न पूर्वाधार तयार पारिएको बताएकी थिईन् ।
निजी क्षेत्रलाई समेत विश्वविद्यालय खोल्ने गरी नीति निर्माण गर्न डा. मिश्रको माग रहेको थियो । सात रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा छ तला र ३४ कोठा छन् । कलेजका लागि चीन र नर्वेले पत्रकारितालाई उपयोगी हुने उपकरण उपलब्ध गराएको सबैलाई जानकारी गराईन् ।