बूढानीलकण्ठ नगरपालिकाको आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिमको सुरुवात



२३ मङ्सिर २०७५, काठमाडौं

“हाम्रो समस्या, हाम्रै समाधान” भन्ने मूल नाराका साथ आठदिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को सभाहलमा सुरु भएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा संचालित तालिममा सर्वाेच्च अदालतका बरिष्ठ न्यायधीश प्रमुख अतिथि दीपकराज जोशी, विशेष अतिथि प्रदेश सभा सदस्य दीपक निरौला, अतिथिहरुमा प्रदेश सभा सदस्य कुसुम कुमार कार्की, बूनपा नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई, टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोल, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, बूनपा ९ का वडाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा, १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, बूढानीलकण्ठ नगरपालिका न्यायिक समिति सदस्य भगवती निरौला लगायत अन्य जननिर्वाचित तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय सरकारले स्थानीय स्तरका मुद्दाहरुलाई मेलमिलाप मार्फत टुङ्ग्याउन सहजीकरण तथा सहयोग गर्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले संचालित तालिममा बूढानीलकण्ठ नगरपालिकाका १३ वडाबाट २ जनाको दरले २६ र अन्य दुई गरी २८ जनाले तालिम लिने आयोजकले बताएका छन् ।

दुर्गा प्रसाद अर्यालको सभापतित्वमा भएको कार्यक्रममा सम्भव मेलमिलाप केन्द्रका उपाध्यक्ष राजु तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

तालिम कार्यक्रममा न्यायिक समिति सदस्य भगवती निरौला र स्वस्तिका दुलालले अतिथिहरुलाई खादा ओढाई सम्मान गरेका थिए भने कार्यक्रमको संचालन सचिव रमेश डंगोलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्