२२ मङ्सिर २०७५, काठमाडौँ
रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा १०९ औँ लक्ष्मी जयन्तीको अवसरमा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रम अन्तर्गत वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. राजेन्द्र सुवेदीलाई सम्मान गरिएको छ ।
वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कवि गोष्ठीमा वरिष्ठ साहित्यकार तथा समालोचक प्रा. राजेन्द्र सुवेदीलाई रू.२०,००५।– राशीको रिया साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको थियो ।
काठमाडौँका उत्तर पूर्वी क्षेत्रका वरिष्ठ कवि, लेखक, साहित्यकार र समालोचक लगायत साहित्यका अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको यस समारोहमा कविहरू बलराम दाहाल, नारायण निरासी, त्रिलोचन आचार्य, खेमराज पोखरेल, केशवराज पाठक, विशु बहादुर के.सी., गणेश मिश्र लगायत अन्य नयाँ प्रतिभाहरू समेत २० जना भन्दा बढी कविहरूले कविता वाचन गरेका थिए ।
समारोहमा रमेश शुभेच्छुकले सम्मानित स्रष्टा प्रा. राजेन्द्र सुवेदीको व्यक्तित्व, नेपाली साहित्यमा उनको योगदानबारे चर्चा गरेका थिए । प्रा. सुवेदीले सम्मानपश्चात् कार्यक्रमा बोल्दै रिलायन्स इन्टरनेसनल एकेडेमी र रिया साहित्य समाजले प्रदान गरेको सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्न हौसला मिलेको भन्दै सम्मानप्रति कृतज्ञता प्रकट गरेका थिए ।
उपत्यकाका २४ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगिता २१ गते शुक्रबार सञ्चालन गरी उत्कृष्ट छ वक्ताहरू छानिएका थिए र २२ गते सम्पन्न भव्य कवि गोष्ठी तथा स्रष्टा सम्मान समारोहबिच छ प्रतियोगीहरूबिच अन्तिम प्रतिश्पर्धा गराईएको थियो ।
उक्त प्रतियोगितामा पायोनियर पब्लिक स्कुल, कपनकी छात्रा दीपिका ढुङ्गाना प्रथम, मनकामना बोर्डिङ स्कुल, जोरपाटीकी छात्रा प्रवीणा पौडेल द्वितीय, टाइमलाइन एकेडेमी, जोरपाटीकी छात्रा प्रेनिशा सञ्जेल तृतीय, बि.एन. एकेडेमी, बसुन्धराकी छात्रा राधिका बोहरा, हिलारी इङ्लिस स्कुल, गौरीघाटकी छात्रा स्तुति पौडेल र लोयल्टी एकेडेमी, मण्डिखाटारकी छात्रा अस्मिता खड्का क्रमशः चौथो, पाचौँ र छैठौँ स्थान प्राप्त गर्न सफल भएका थिए । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरियो ।
रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाजद्वारा वि.सं. २०६९ मा स्थापित यो पुरस्कार तथा सम्मान यसअघि क्रमशः डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा. कुमार बहादुर जोशी, प्रा.डा. चुडामणि बन्धु, प्रा.डा. महादेव अवस्थी, प्रा.डा. वासुदेव त्रिपाठी र डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।