२५ फागुन २०७५, काठमाडौं
नेपाल सरकार र चन्द्रकान्त (सी.के.) राउतसँग हिजो गरिएको सम्झौताको विषयलाई लिएर पक्ष र विपक्षमा निकै बहस चलिरहेको छ । हिजो राती जनता टेलिभिजनमा नेकपा स्थायी समिति सदस्य तथा सुदुर पश्चिम ईन्चार्ज भिम रावलको धारणाले विषयवस्तु र सम्झौतामा थप अन्योलता सिर्जना गरेको छ । सम्झौताको पक्ष र विपक्षमा आफ्नै पार्टीका केन्द्रीय नेताहरु विभाजित भईरहँदा प्रतिपक्षी काँग्रेस अहिलेसम्म शान्त देखिएको छ भने नेकपाकै भातृ संगठन युवा संघले शब्दजालमा नखेल्न पार्टी नेतालाई चेतावनी दिएको छ ।
खास परिस्थितिको विश्लेषण गर्दा पार्टी कार्यकर्ता वा आम नेपालीहरु भिम रावललाई सम्मानपूर्वक हेर्ने गर्दछन । राष्ट्र, राष्ट्रियता र वैदिक संस्कृतिप्रति रावलका भावनाहरु आम नेपालीले मन पराउँछन् । विषय वस्तुप्रतिको प्रष्ट विचारले रावल धेरैलाई सकारात्मक प्रभाव पार्ने क्षमता राख्दछन् । तर हिजोराति जनता टेलिभिजन मार्फत नेपाल सरकार र चन्द्रकान्त राउतसँग भएको सम्झौतालाई लिएर उनले गरेको व्याख्या र विश्लेषण सुन्दा सामान्य कार्यकर्तालाई निकै भावुक बनायो । देशै सकिन लाग्यो भनेर राष्ट्र र राष्ट्रियताको रक्षा गर्न नेकपाका कार्यकर्ता र आम जनसमुदायलाई गरेको अपिलले देशै सकिन लागेको अवस्थाको चित्रण गरियो ।
रावलका विचारहरु सुन्दा निकै मार्मिक, राष्ट्रवादी देखिन्छन तर रावल जस्तो जिम्मेवार नेताले सम्झौताप्रति गरेको विश्लेषण भने युवा वा विद्यार्थी संगठनको स्थायी सदस्यको जस्तो देखिन्थ्यो । रावलकै भाषामा भन्दा त्यो सम्झौता सबैभन्दा ठूलो राष्ट्रघात हो । एउटा विद्रोही नेताले बोलेका भाषालाई लिएर रावल जतिको नेताको विश्लेषण निकै अनौठो थियो । एउटा विद्रोही नेताको सम्झौताप्रति पहिलो सार्वजनिक भाषणमा कहिल्यै आफ्नो गल्ति र कमजोरीको व्याख्या गर्दैनन् । मैले अपराध गरेको थिए त्यसैले म आफूलाई समर्पण गर्दछु भन्ने गरेकै छैनन् । न हिजो राजनीतिक दलले पञ्चायत ढाल्दा भने न माओवादी नेता शान्ति सम्झौतापछि भने न संसारका अरु कुनै विद्रोही नेताले भन्ने गर्छन् । राउतले पनि त्यहि रुपमा आफूलाई चोख्याउन सक्दो प्रयास गरे । रावलको भनाईमा प्रधानमन्त्रीले गरेका राष्ट्रवादी विचारको कतै उच्चारण नै भएन । तर एउटा विद्रोही नेताको अभिव्यतिलाई लिएर निकै चर्चा गरे, मानौं नेपालमा निकट भविष्यमै महाभारत युद्ध जस्तै भयानक केहि हुनेवाला छ ।
निकै युवालाई परिवर्तनको सपना देखाएर आन्दोलनमा लागेका राउतलाई पनि आफ्नै बाध्यता होला । वैज्ञानिक दाजुको विचारलाई नकार्न नसक्ने परिस्थिति र कार्यकर्ताको भावनापनि उनले समेट्नु पर्ने थियो होला । उनले भाषणमा जनमत संग्रह भनेपनि उनको भाषण सकिने वित्तिकै राष्ट्रिय सभा बाहिर उनका कार्यकर्ताहरु राउतले धोका दिएर सरकारसँग आत्मसमर्पण गरेको अभिव्यक्ति दिँदै थिए । सम्झौतामा यस्ता भाषण र भावहरु हुने नै गर्दछन् ।
सम्झौतामा रावलले भने झैँ केहि शब्दहरु कम र केहि शब्दहरु बढी भए होलान् । सम्झौतामा प्रष्ट पार्नुपर्ने विषय राउतको बाध्यताले सरकारले केहि स्थान दियो होला । केहि शब्द प्रयोगमा कमजोरी पनि होला तर छुट्टै राज्यको माग गर्ने एउटा समुह जसले आफ्नो पार्टीकै नाम “स्वतन्त्र मधेश गठबन्धन” राखेको छ । त्यहि नाम र शब्द उल्लेख भएवापत सरकारले स्वतन्त्र मधेशको अस्थित्व स्वीकार गर्यो भन्नु युवासंघकै भाषामा शव्दजाल भन्दा बढी केहि होईन !
नेपाललाई हल्लै हल्लाको देश भनिन्छ । एउटा भारतीय अभिनेताले नेपाली मनपर्दैन भन्ने अभिव्यक्ति दिएकै कारण करिब आधा दर्जन नेपाली युवाले बलिदानी दिएको अनुभव हामीसँग ताजै छ । नेपालीमा राष्ट्रियताको भावना परापूर्व समय देखि निकै जब्बर छ । पुर्खादेखि हामीले कहिल्यै अपमान सहेनौं । प्रत्येक नेपालीमा त्यहि राष्ट्रभावको रगत बगिरहेको छ ।
धन्न आज केहि दुर्घटना भएन । वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनताको विश्वास कमजोर भएको भए, भारतीय अभिनेताको सामान्य अभिव्यक्तिमा ज्यान गुमाए झैँ धेरै नेपालीले आज ज्यान गुमाउने अवस्थाको सिर्जना हुने थियो । रावल जतिको उचाईमा पुगेका नेताले राष्ट्रियताको विषयमा राख्ने अभिव्यति बैठक वा आन्तरिक छलफलमा वा आम संचारमा उठाउने भन्ने हेक्का राख्नु पर्छ कि पर्दैन ? आफूलाई लागेका हरेक विचारहरु आमसंचारमा राख्ने परिपाटीले केहि समय चर्चा त पाउला तर कालान्तरमा पार्टी, सरकार, आम नेपाली र स्वयं नेतालाई पार्ने दीर्घकालीन प्रभावबारे समयमानै सोच्नु उपयुक्त हुन्छ ।
सम्झौता गराउनको लागि नेपाली वैज्ञानिकहरु काम गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा वरिष्ठ वैज्ञानिक सिके राउतका दाजु जयकान्त राउतले आफ्नो भाइलाई पृथकतावादी अभियानवाट छुटाएर नेपालको शान्ति, सुशासन र संविधानलाई स्वीकार गर्न जुन भूमिका निर्वाह गरे त्यो निकै प्रसंशनीय छ । आन्दोलन, अशिक्षा र गरिबीको फाईदा उठाउँदै तराईमा बसोवास गर्ने नेपालीहरुको भावनामा खेलेर गरिने कथित आन्दोलनको सिर्जना गर्दै नेपालको तराई भू–भागलाई अझ अस्थिर बनाईराख्ने तत्वलाई निरुत्साहित गर्दै नेपालको वर्तमान संविधानको कार्यान्वयन मार्फत तराई मधेशलाई समृद्धिको मार्गमा लैजान देशका प्रधानमन्त्रीले जुन जोखिम मोले त्यो तराईबासीको लागि मात्र नभई आम नेपालीलाई खुशीको विषय हो । प्रशंसाको विषय हो । आफ्ना नागरिकको शान्तिपूर्ण जीवनयापन मार्फत समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्तिको एक खुड्किलो पनि हो ।
प्रधानमन्त्री केपी शर्माले गरेका राम्रा प्रयाशहरुको आफ्नै नेता र कार्यकर्ताले प्रचार र प्रशंसा गर्ने वातावरण अझ बन्न सकेको छैन् । अहिलेपनि राम्रा कामहरुको विरोध विपक्षी पार्टीले भन्दा आफ्नाले नै गर्ने गरेका छन् । पार्टी एकतालाई स्थानीय तहसम्म पुर्याउन नसक्नु यसको मुल कारण हो । प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले कुनै व्यति विशेषप्रति लक्षित गरी समय समयमा दिने अभिव्यक्तिहरु चाहे गीतको विषय होस् ,चाहे रविन्द्र अधिकारीको स्मृतिमा भ्रष्ट्राचार नगरेको विषय होस् वा पानीजहाजको कार्यालय उद्घाटन मात्र होईन । विराटनगरमा ग्याँस उद्घाटनको विषय नै किन नहोस् । त्यस्ता कार्यक्रमहरुमा प्रधानमन्त्री सहभागी हुनु वा बोल्नु जरुरी देखिदैन । जस्तोसुकै कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी हुने र पार्टी वा सरकारका आन्तरिक बैठकमा गर्नुपर्ने छलफललाई सार्वजनिक गर्दा सरकारलाई मात्र होईन । आम कार्यकर्तालाई परेको अप्ठ्यारोको विषयमा प्रधानमन्त्री लगायत जिम्मेवार नेतृत्वले सोच्न ढिला भै सकेको छ ।
जनता र पार्टीले दिएको महत्वपूर्ण जिम्मेवारीलाई ख्याल नै नगरी सरकार र पार्टी नेतृत्वले गरेको राम्रो कामको प्रशंसा र नराम्रो कामको खबरदारी गर्न उपयुक्त स्थान सम्म पहिल्याउन नसक्ने नेतृत्व प्रति आम जनताले के बुझेका होलान् ? शक्ति र जनमतले मात्तिएरै आफ्नो हैसियत भुल्दै सार्वजनिक ठाउँमा, अझ सामाजिक संजाल र आमसंचारका माध्यमबाट आफ्नै पार्टीका नेताहरु बीचमा हुने पक्ष र विपक्षको दोहोरीले जनमत र जिम्मेवारीको उपहास भएको आम जनताले बुझ्छन भने नेताले किन बुझपचाएका होलान् । जनताको भावना र हैसियत भुल्ने नेताहरुलाई नेपाली जनताले २००७, २०४६ र २०६३ मै देखाईसकेका छन् । आज कुर्सीमा विराजमान भै बाचुन्जेल सत्ताको रसस्वादनमा मस्त होईन्छ भन्ने भ्रम छ भने सबैले बुझुन जनताले फेरि सडकमा ल्याउने क्षमता राख्छन् । जनताले प्रतिकार वा वहिस्कार गरी सडकमा झर्नु भन्दा पहिले सबै नेताहरुमा बुद्धि फिरोस् ।
व्यतिगत रुपमा म सिके राउतलाई चिन्दिन । तर हिजोका दिनमा उनले आफ्नो ज्ञान, सीप र क्षमताको दुरुपयोग गर्दै नेपाललाई विखण्डन गर्न खेलेको भूमिका निन्दनीय छ । नेपाली राजनीतिको त्यो सानै भएपनि कालो ईतिहास हो । हिजो क्षेत्रीय, वर्गीय, जातीय वा स्वतन्त्र राष्ट्र बनाउने नाममा राउतले खेलेका भूमिका र गरेका काम कुनै नेपालीलाई स्वीकार्य छैन । सम्झौतामा सहमतिपछि राउतले नेपालको संविधान र शान्तिपूर्ण लोकतान्त्रिक व्यवस्थालाई सम्मान गर्दै शान्तिका अग्रदुत भगवान बुद्धप्रति गरेको सम्मानले भने डाकु रत्नाकारबाट बाल्मिकी बने जस्तै आशा जगायो । जसले रामायणको व्याख्या गरी सिंगो सभ्यताको विकासमा योगदान पुर्याए झैँ तराईवासी नेपालीको आर्थिक रुपान्तरण गर्दै नेपालको आन्तरिक एकता र राष्ट्रियतालाई अझ दरिलो बनाउने अवसरको रुपमा हिजोको सम्झौताले भूमिका खेल्ने आम नेपालीले आशा गरेका छन् ।
शब्दको व्याख्या/अपव्याख्या गरी जनतामा भ्रम सिर्जना गर्ने नेकपा नेता रावल, भित्री रुपमा वर्तमान संविधान र व्यवस्थालाई स्वीकार गरेपनि बाहिरी दुनियाँमा भ्रम सिर्जना गर्न प्रयाश गर्ने राउत र राम्रो काम गर्दागर्दै सधैँ आलोचित हुने प्रधानमन्त्री ओलीलाई समयको गति सँगै मिलेर शान्त, समृद्ध र सभ्य नेपाल निर्माणको महाअभियानमा एकाकार हुने प्रेरणा जागोस्–शान्ति र सम्मृद्धिको हार्दिक शुभकामना !
नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धन पार्टीविच भएको सम्झौता :