१५ बैशाख २०७६, काठमाडौं
रविन्द्र मिश्र नेतृत्वको पार्टी (विवेकशील साझा पार्टी)ले नाम परिर्वतन गरेर साझा विवेकशील पार्टी बनाएको छ ।
तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको हो ।
छुट्टिएर गएको समूहले ‘विवेकशील’ नाम प्रयोग गर्दा उत्पन्न भएको भ्रम चिर्न पार्टीको नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’ बनाउने निर्णय भएको छ ।
बैठकले जेठ १ गतबाट देश यात्रामा निस्कने तय गरेको छ । ‘यात्राका क्रममा आम जनताको चासोका राष्ट्रिय एजेन्डा र अपेक्षाको पहिचान गरिने छ’ निर्णयमा भनिएको छ ।
साझा विवेकशीलले पार्टीमा युवालाई ४० प्रतिशत आरक्षण सुनिश्चित गरेको छ । पार्टीले तल्लो तहदेखि केन्दीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय भएको जनाएको छ ।
पार्टीका गतिविधिलाई भ्रष्टाचार विरोधी अभियानमा केन्दीत गर्ने तथा दिनको एक कप चिया कम पिऊँ, बचेको रकम साझा विवेकशीललाई सहयोग गरौं भन्ने अभियान सञ्चालन गर्ने निर्णय भएको पार्टीले बताएको छ ।