२३ बैशाख २०७६, काठमाडौं
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले समयमै जनताको काम नगर्ने पनि भ्रष्टाचारी नै हुने भन्दै आफूलाई अख्तियारको छानबिनको दायरामा ल्याउन चुनौती दिएका छन् ।
समयमै सम्पन्न गर्नुपर्ने योजना र तत्काल गर्नुपर्ने जनताका कामहरु सवै वडाध्यक्षबाट हुन नसकेको स्वीकार्दै नगरप्रमुखका हैसियतले सवै कमजोरीको जिम्मेवारी आफूले लिने बताउँदै नगरप्रमुख खरेलले आफूलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।
गोष्ठीमा सहभागी वडाध्यक्षहरुले विभिन्न प्रश्न गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको, सार्वजनिक बाटो मिचिएको, सार्वजनिक खोलाको जग्गा मिचि व्यक्तिले नीजि घरहरु बनाएको विषयमा अख्तियारको भूमिकाबारे प्रश्न गरेका थिए ।
नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरुको प्रश्नको जवाफ दिदैं अख्तियारका सचिव महेश्वर न्यौपानेले नगरप्रमुख खरेलको प्रशंसा गर्दै काममा ढिलासुस्ती हुनु अख्तियारको दुरुपयोग नभएपनि त्यसको मूल्याङ्कन आगामी निर्वाचन मार्फत जनताले गर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खरेलद्वारा प्रस्तुत मन्तव्यको भिडियो :
गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री थापा गुरुङ, नगरप्रमुख उद्ववप्रसाद खरेल, उपप्रमुख रमादेवी राई, प्रशासकीय अधिकृत कुमार प्रसाद कोईराला, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शैक्षिक संस्थाका प्रमुखहरु लगायत जनप्रतिनिधी तथा नगर कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव प्रदिप कुमार कोईरालाले भ्रष्टाचार नियन्त्रण र सुशासन : स्थानीय सरकारसँग आयोगको अपेक्षा बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।