२६ बैशाख २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा संचालित बूढानीलकण्ठ माध्यामिक विद्यालयले कक्षा ९ को अन्तिम परीक्षा अघि नियम विपरीत १ विद्यार्थीलाई मौखिक आदेशमा निलम्बित गरेको खुल्न आएको छ ।
कक्षा ८ देखि सोही विद्यालयमा अध्ययनरत राजेश शर्मा (परिवर्तित नाम) लाई कक्षा ९ को अन्तिम परीक्षा हुनु अघि विद्यालयमा अनुशासन पालना नगरेको, कक्षाको शैक्षिक वातावरण विगारेको भन्दै एक महिनाका लागि विद्यालय आउन बन्देज लगाएको बुझिएको छ ।
विद्यालयले अन्तिम परीक्षाको मुखमा पढाईबाट बञ्चित गरी आफ्नो बच्चालाई मानसिक यातना दिएको कारण कक्षा ९ को परीक्षामा कम जीपिए ल्याएको भन्दै विद्यालय प्रशासनले विद्यार्थी भर्ना नलिएपछि आफ्नो बच्चाको भविष्य प्रति बुवाआमा चिन्तित भएका छन् ।
आफ्नो बच्चाले गल्ती गरेको भए आगामी दिनमा त्यसलाई सुधारका लागि अभिभावको तर्फबाट जिम्मा लिने भन्दै विद्यालयसँग कागज गर्न अभिभावक जाँदा विद्यालय प्रशासनले भर्ना नलिने बताएपछि पिडितका बुवाआमा जनप्रतिनिधि गुहार्न पुगेका थिए ।
स्थानीय वडाध्यक्ष स्वयम् विद्यालय गएर प्रशासनमा आफूले अभिभावकको तर्फबाट जिम्मा लिने बताउँदा समेत विद्यालय प्रशासनले नटेरेपछि घटना सार्वजनिक भएको हो । अभिभावकले आफ्नो बच्चा विद्यालयमा भर्ना गराउन बूढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखा, नगरपालिकाका जनप्रतिनिधि गुहार्दा समेत विद्यालय प्रशासनले पिडित विद्यार्थीलाई आजसम्म भर्ना लिएको छैन् ।
सूचनाको आधारमा परिवर्तन खबरको टोलीले जनप्रतिनिधि, वाल अधिकारकर्मी, बूढानीलकण्ठ शिक्षाशाखा प्रतिनिधि, अभिभावक र विद्यार्थी सहित स्कूल प्रशासनमा छलफल गर्दा विद्यालयका प्रधानाध्यापक विदामा रहेकाले सहायक प्रधानाध्यापकले छलफल नै नटुङ्ग्याई जरुरी काम छ भन्दै निस्केपछि छलफल निश्कर्ष विहिन भएको छ ।
यस विषयमा बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखा अधिकृत नवराज नेपालले विद्यार्थीलाई पढ्ने वातावरण विद्यालयले नै मिलाउनुपर्ने भन्दै विद्यार्थी भर्नाको लागि शिक्षा शाखाले पहल गर्ने परिवर्तन खबरसँगको कुराकानीमा बताए ।