गोकर्णेश्वर नगरपालिकामा चरम भ्रष्टाचार : वडाध्यक्षनै उपभोक्ता समितिको कोषाध्यक्ष



३० बैशाख २०७६, काठमाडौं

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार र वडाध्यक्ष समितिमा रहेको वडा नं. ९ स्थित ग्राम निर्माण बन्धु मण्डल क्लबलाई नगर स्तरीय खेलकुद मैदान निर्माणका बिना टेण्डर करिब एक करोड बजेट विनियोजन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाले २०७५ चैत्र १९ गते गरेको योजना कार्यक्रम सम्झौतामा नगरस्तरीय खेलकुद मैदान निर्माणका लागि भनी रु.९९,९९,९०२।– (अक्षरुपी उनानसय लाख उनान सय हजार नौ सय दुई रुपैयाँ) को नगरपालिकाको पूँजीगत खर्च मार्फत विनियोजन गरेको रकम नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल र वडा नं. ९ का वडाध्यक्ष राजीव थापा कोषाध्यक्ष भएको ग्राम निर्माण बन्धु मण्डल क्लबलाई २०७६ जेठ १५ भित्र आयोजना सम्पन्न गर्ने गरी योजना सम्झौता गरेको पाईएको छ ।

स्थानीय निर्वाचन हुनु अघिदेखि नै सार्वजनिक जग्गा संरक्षण समितिको संयोजक भई सार्वजनिक जग्गा छुट्याउन अहोरात्र खटेका सामाजिक अभियन्ता राजकुमार लामाले नगरपालिकाले कानुन विपरीत जननिर्वाचित प्रतिनिधि र नगरपालिकाका प्रभावशाली सल्लाहकारको मिलेमतोमा नगरपालिकाको रकम विनियोजन गरिएको भन्दै ३ दिने अल्टिमेटम सहित ०७६ बैशाख ३० गते गोकर्णेश्वर नगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञपान पत्रको ८ औं बुदाँमा ‘यस नगरपालिकाको आ.व. २०७५/७६ नगरस्तरीय योजना अन्तर्गतको खेलकुद मैदान निर्माण (गो.न.पा. ९ पानी खोल्सा) कार्यक्रम नितान्त कानुन विपरीत करोडौंको योजना विना टेण्डर आफू निकटको सामान्य क्लब जुन संस्था २०७३ साल देखि निरन्तर नविरकण समेत नभएको नगरपालिकाको प्रमुख सल्लाहकार दीपक रिजाल अध्यक्ष रहेको क्लबको कोषाध्यक्ष स्वयम् वडाध्यक्ष राजीव थापा बनी बजेट पचाउने उद्देश्यले स्थानीय सरोकारवाला, संघसंस्था, युवाहरुको भावना विपरीत २०७५ चैत्र १९ मा सम्झौता भई निर्माण कार्य अघि बढेको हुँदा उक्त गैर कानुनी कार्य तत्काल रोकी सम्झौता खारेज गरी पाउँ’ भनिएको छ । त्यसैगरी बुँदा नं. ९ मा गैर कानुनी कार्य गर्ने ९ नं. वडाका वडाध्यक्षलाई समेत कारवाही गरी पाउँ भनी माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्