०७ जेठ २०७६, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाको लाईफलाईनको रुपमा रहेको धोबीखोला करिडोर विस्तार बूनपा १० स्थित पाथीभरा टोलका कारण सडक विस्तार हुन नसकेपछि बूढानीलकण्ठ नगरपालिकाले विकल्प सहित बस्ती स्थानान्तरण गर्न पहल थालेको छ ।
पाथीभरा टोलवासीलाई सम्बोधन गर्दै नगरप्रमुख उद्धव खरेल :
बूनपा १० वडा कार्यालयमा नगरप्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई, नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटी, सल्लाहकार मिठाराम अधिकारी, बूनपा २ का वडाध्यक्ष राजेन्द्र खड्का, १० का अध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु सहित धोबीखोला करिडोरमा पर्ने २३ घरपरिवारका प्रतिनिधि तथा सदस्यहरु विच छलफल गरी जेठ मसान्तभित्र बस्ती खाली गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
नगरप्रमुख खरेलले, ‘बस्तीका कारण धाबीखोला बिस्तार परियोजना अलपत्र परेको भन्दै जेठ अन्तिमसम्ममा बस्ती खाली गर्न अनुरोध गरेका छन् ।’ उपस्थीत सहभागीलाई ५ महिनाभित्र व्यवस्थित घर बनाएर सार्ने वातावरण मिलाउन नगरपालिका प्रतिबद्ध रहेको भन्दै स्थानीय सरकारको अनुरोध अवज्ञा गरे बल प्रयोग गरी डोजर लगाउने समेत चेतावनी दिए ।
कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख सल्लाहकार, सल्लाहकारहरु सबैले विकासका लागि समयमै बस्ती खाली गरी सहयोग गर्न अनुरोध गर्दै, ‘तपाईहरुको व्यवस्थापनको लागि हामी र नगरपालिका प्रतिबद्ध रहेको बताउँदै दुविधामा नपर्न अनुरोध गरेका थिए ।
पाथीभरा टोलबाट विस्थापित हुने परिवारका सदस्यहरुले तत्काल कोठा पाउन गाह्रो हुने, कोठाभाडा महङ्गो भएकोले तिर्न नसकिने, ठूलो परिवार र धेरै सामान भएकोले घरबेटीले कोठा भाडामै नदिने जस्तो समस्या नगरप्रमुख लगायत जनप्रतिनिधिलाई राखेका थिए ।