काठमाडौं म्याराथानको १६ औं संस्करण असोज १२ मा



काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ (२०२४ सेप्टेम्बर २८) गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसंगै कुल ३ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

म्याराथनमा १ सय ७० ले सहभागिताका लागि नाम दर्ता गरेका छन् । त्यस्तै हाफ म्याराथन ५ सय ५० ले नाम दर्ता गरेका छन् । सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।

काठमाडौं म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसंग छलफल भइरहेको पनि बनाए । उनका अनुसार दौडको सुचारु सञ्चालनका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक÷धाविकको पूर्ण सुरक्षा र दुर्घटनाको न्युनिकरणका लागि सबै प्रयास गरिनेछ ।

उनले भने, ‘मलाई पूरा विश्वास छ, ट्राफिक व्यवस्थापन निकायले दौडका बेला चाहिने सबै जिम्मेवारी गम्भीर भएर पूरा गर्नेछ र खेल सहरका रूपमा काठमाडौंको छवि कायम राख्न मदत पुग्नेछ ।’ उनले सटिक ट्राफिक व्यवस्थापनले खेलाडीलाई मात्र सजिलो हुने नभएर सहरको छवि ब्रान्डिङ तथा पर्यटन विकासमा पनि सहयोग पुग्नेछ ।

म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ । दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ । हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।

म्याराथन र हाफ म्याराथनको दौड त्रिपुरेश्वरबाट विहान ठीक ५.१० बजे सुरु हुनेछ । आयोजकले दौडका बेला प्रयोग हुने रुट त्यस दिन पाँच घण्टाका लागि सकेसम्म आप्mनो सवारी सधान त्यस रुटमा प्रयोग नगरिदिन हुन पनि काठमाडौंबासीलाई अनुुरोध गरेको । प्रमुख आयोजक श्रेष्ठले दौडका प्रमुख साझेदार र सहयोगी नेपाल एथलेटिक्स संघ, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलगायत पत्रकार, निर्णायक, स्वंयसेवक, प्रायोजकलाई धन्यवाद पनि व्यक्त गरे ।

श्रेष्ठले दौडको कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सहयोग गर्दै आएको ‘योर फेस बाई इन ड्राइभ’ लाई पनि विशेष धन्यवाद दिए । एनआरएस स्पोर्टस फाउन्डेसनले इन ड्राइभसंगको सहकार्यमा ‘योर पेस किप फिट सर्किट’ आठ सहरमा नियमित रूपमा विगत एक वर्षदेखि दौडको निःशुल्क प्रशिक्षण दिंदै आएको छ । सोही समूहबाट ४ सय ५० विद्यार्थीहरूले पनि काठमाडौं म्याराथनमा सहभागिता जनाउने छन् ।

प्रमुख आयोजक श्रेष्ठले दौडका क्रममा सहभागी हुनेलाई प्रोत्साहन गर्न सबै काठमाडौंबासीलाई सडकमा उत्रेर हौसलना प्रदान गर्न पनि आह्वान गरेका छन् । उनले भने, ‘यो दौडको सफल आयोजनाका लागि सबैको सहयोग आवश्यक छ । खेलकुदको माध्यमबाट पर्यटनको प्रवद्र्धनका लागि हामीले सकारात्मक सन्देश पनि दिन सक्छौं ।’ काठमाडौंं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्