ऐतिहासिक रजत विजेता एरिकासहित कराते टोलीको भब्य स्वागत



काठमाडौं । चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा ऐतिहासिक रजत पदक जित्न सफल एरिका गुरुङसहितको कराते टोलीलाई मंगलबार भब्य स्वागत गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका पदाधिकारी, नेपाल प्रहरीका अधिकृत र खेलाडी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईं, प्रशिक्षक, खेलाडी, परिवारजन, शुभेक्छुकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरे ।

विमानस्थलमा स्वागतपछि टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा हातामा कर्मचारीहरुले पनि स्वागत गर्दै सफलताका लागि बधाई दिएका थिए ।

राखेपमा टोलीलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले एरिकाले हासिल गरेको पदक भाग्वश नभइ खेलाडीको अथक प्रयास र मेहनतबाट सम्भव भएको बताउदै एकिकरणपछि करातेले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको बताए ।

सदस्यसचिव घिसिङले एकपल्ट फेरि एरिकाले आफूलाई प्रमाणित गरेको उल्लेख गर्दै उनले अभैm धैरे सफलता दिलाउन सक्ने विश्वास व्यक्त गरे । उनले यो सफलतामा प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षण र नेपाल कराते महासंघको व्यवस्थापन सह्रानीय रहेको भन्दै प्रशंसा गरे । सन् २०२६ मा हुने २० औं एसियाली खेलकुदमा कराते नेपालका लागि मेरुदण्ड नै रहेको भन्दै खेलाडीहरूको एक्सपोजरका लागि राखेपले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । एरिकासँगै अन्य खेलाडीले पनि सम्भावना देखाएकाले उनीहरूको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि राखेपले सहयोग गर्ने   बताए ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले विमानस्थलमै रहेका एरिका माता पितालाई लक्षित गर्दै भने– ‘तपाईंहरुले आफ्नो छोरीलाई जनमाउनु भयो । अब एरिका नेपालकै छोरी भइ सकिन् । यो सफलताका लागि तपाईं र एरिकालाई विशेष बधाई र धन्यवाद ।’

एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शन र सहभागी अन्य खेलाडीको प्रदर्शनबारे पनि चर्चा गरे ।

कुशलले चोटका कारण एरिकाले फाइनलमा सोचे अनुरूपको प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए । कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा गत आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहमा एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसंग ६–० ले पराजित भएकी थिइन् । यद्यपि एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले एसियाली सिनियर करातेमा जितेको पहिलो पदक हो । सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिप भने एस्टर राईले यु–२१ उमेरसमूहमा कांस्य जितेका थिए ।

एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वाटरफाइनलमा सोप्mया बेरुल्टसेभालाई पराजित गरेकी  थिइन् । एरिका र सोप्mयाबीचको खेल १–१ को बराबरीमा टुंगिएपछि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भएकी थिइन् । सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरेकी थिइन् ।

समग्रमा पाँचौ अन्तर्राष्ट्रिय सहभागितामा एरिकाले सबैमा पदक जितेकी छन् । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यि सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।

प्रतिक्रिया दिनुहोस्