प्रदीप, प्रणव र निसान सेमिफाइनलमा



प्रदीप खड्का, प्रणव खनाल, प्रणव मानन्धर र निसान श्रेष्ठ बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले निहानजंग बहादुर थापालाई ६–२ र ६–४, प्रणव खनालले सक्षमविक्रम शाहलाई ६–२ र ६–३, प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–२ र ६–१ तथा निसानले बोरिस अधिकारीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे ।

सातदोबाटोस्थित टेनिक कोर्टमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि रोहित सुनुवारले छेवाङ लामालाई ७–५ र ७–६(५) तथा कमलबहादुर भण्डारीले महेश श्रेष्ठलाई ६–१ र ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाहले डियोनम लामालाई ६–३ र ६–० तथा कमल थापाले उत्तम बोगटीलाई ६–३ र ६–० ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङले कर्मा घलेलाई ६–१ र ६–२ तथा कमल थापाले डियोनम लामालाई ६–१ र ६–३ ले पन्छ्याउदै फाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि जितेन्द्र परियार, भीष्मजंग गुरुङ, सिमान्त गुरुङ र सन्तोष खत्रीले सेमिफाइनल यात्रा तय गरे । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङ तथा विदुर विष्ट र भिक्टर राणाको जोडीले उपाधि भिडन्त पक्का गरे । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही तथा रोहित सुनुवार र हिमाल शाहको जोडी स्वर्णका लागि भिड्ने छन् । ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र डेगेन्द्र श्रेष्ठ तथा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

प्रतिक्रिया दिनुहोस्