समकालीन उपन्यासका स्वर र भ्रष्टाचारविरुद्ध रचिएको तिवारीकृत उपन्यास ‘९६ गड्डी’को अन्तरक्रिया



चेतनाथ धमला, काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान आख्यान विभाग र नेपाल स्रष्टा समाजको सहकार्यमा ‘समकालीन उपन्यासका स्वर र ‘९६ गड्डी’ उपन्यास बारेमा प्रतिष्ठानको देवकोटा सभाकक्षमा अन्तरक्रिया गरिएको थियो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रकाश तिवारीले भ्रष्टाचारविरुद्ध रच्नुभएको उपन्यास ‘९६ गड्डी’ हो ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नु भएको थियोे। उहाँले आफू बाँचेको समयको यथार्थ चित्रण गरेर लेखिने उपन्यासलाई नै समकालीन नेपाली उपन्यासका स्वर हुन भन्ने बताउनु भएको थियो।प्राज्ञ तिवारीद्वारा रचिएको ‘९६ गड्डी’ उपन्यासले प्रशासनिक क्षेत्रमा कर्मचारी तहमा हुने भ्रष्टाचारलाई मिहिन ढङ्गले उजागर गरेको चर्चा गर्दै वास्तविक लेखक साहित्यकारहरू अपवाद छोडेर भ्रष्टाचारमा लिप्त रहेको कतै पाइदैन भन्ने जिकिर गर्नु भएको थियो।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ९६ गड्डी उपन्यासको अध्ययनले समकालीन नेपाली उपन्यासको स्वर र स्थान कहाँनेर छ भन्ने चित्रण गरेको बताउँदै आफू बाँचेको, सोचेको र भोगेको समय नै समकालीन स्वर रहेको बताउनु भएको थियो। सदस्य सचिव सुवेदीका अनुसार ९६ गड्डी उपन्यास आलोचनात्मक यथार्थवादको नजीक रहेको बताउनु भएको थियो।

प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपानेले स्वागतसहित कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै फूलबारी , फूलका रस र जातहरू फरकफरक हुन्छन् । मौरीहरू पनि फरकफरक हुन्छन् । फूल र मौरीको जातअनुसार महको स्वाद र गुण पनि फरकफरक हुन्छन् ।

खासमा लेखक मौरी जस्तै हुन्छन् । फूलबारी, समाज र फूलहरू व्यक्ति हुन् । मौरीले फूलबारीबाट फूलको रस चुसेर आफ्नो ग्रन्थीमा ग्रन्थी रस मिसाएर राख्छन् र मह बनाउँछन् । तर फूललाई निचोर्दा मह बन्दैन । त्यसैले मौरी रूपी लेखकका सिर्जनाहरू समय ,परिस्थिति ,मोड र चरणअनुसार फरक पर्ने बताउनु भएको थियोे।उहाँले ९६ गड्डी उपन्यास वर्तमान समयमा व्याप्त अनियमितता र भ्रष्टाचारको निसाना रहेको छ । यसले कर्मचारीतन्त्रलाई सजग हुन सहयोग पुर्याएको बताउनु भएको थियो। यसको विवेचना वस्तुपरक हुनुपर्नेमा जोड दिनु भएको थियो ।

समीक्षक एवम् पत्रकार राजकुमार बानियाँले उक्त उपन्यासको समीक्षा गर्दै विज्ञान जस्तो कर्मचारी कसरी स्वार्थ र भ्रष्टाचारको दलदलमा फस्छ। त्यस बारे सटीक चित्रण९६ गड्डी उपन्यासले गरेको बताउँदै लेखकले सामाजिक दायित्व र क्यानभासलाई फराकिलो पार्नुपर्ने बताउनु भएको थियो ।

समीक्षक अनिता कोइरालाले ९६ गड्डी जस्तो उपन्यासका प्रमुख पात्र कुमुदा निक्कै निष्ठावान् र चरित्रवान् रहेको पाइन्छ भने विज्ञान जस्तो पात्र भ्रष्टाचारमा लुप्त हुन पुग्नु र नैतिकवान् मान्छेलाई कसरी ट्यापमा पारेर भ्रष्टाचार गर्छन् ,त्यस बारेको निर्भय रूपको उपन्यास ९६ गड्डी रहेको बताउनु भएको थियो ।यस कार्यक्रममा सहभागीका तर्फबाट उक्त उपन्यासबारे पोखरेली बार्बरिकले जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा ९६ गड्डी उपन्यासका सर्जक प्राज्ञ तिवारीले प्रजातन्त्र, समाजवाद र साम्यवादको बाँसुरी बजाउँदै आएको नेपाली राजनैतिक नेतृत्व र कर्मचारीतन्त्रभित्र बढ्दो भ्रष्टीकरणको कथा हो- ‘९६ गड्डी’ भन्नु भएको थियो । उहाँले उपन्यासमा २०४६ सालदेखि वर्तमान कालसम्मका बिषयवस्तुहरू समेटिएको चर्चा गर्दै भन्सार विभागको महानिर्देशक विज्ञान आचार्य ९६ लाख रूपियँसहित रङ्गेहात पक्राउ परेसँगै उपन्यास समाप्त हुन्छ । भ्रष्टहरू जतिसुकै शक्तिशाली किन नहोउन्, एक दिन कानुनको फन्दामा अवश्य पर्छन् भन्ने कुरा उपन्यासको मूल सन्देश हो । उपन्यासमा तस्कर, माफिया, भ्रष्टाचारीहरूको तीर्थस्थलको झल्को दिने नाइटक्लबदेखि देहव्यापार स्थलका सनसनीपूर्ण तस्बिरहरू उतारिएको छ । उपन्यास पढ्दा जासुसी फिल्म हेरेको अनुभूति पनि हुन्छ । कथामा सत्य, न्याय र सुशासनको पक्षमा चट्टानझैँ खडा हुने एसएसपी आलोक नाम गरेको प्रहरी अधिकृतको समेत उपस्थिति छ । आलोकले भोग्नुपरेको नियति वर्तमान नेपालको यथार्थसँग मेल खान्छ । त्यसबाहेक राज्यसंयन्त्रको सर्वोच्च स्थानमा विराजमान मारफेल नामको हठी पात्र पनि छ उपन्यासमा, जो विसङ्गति, विकृति र भ्रष्टाचारको संरक्षक हो भन्दा फरक पर्दैन भन्दै उक्त उपन्यासको रचना गर्भबारे चर्चा गर्नु भएको थियो ।

सभाध्यक्ष तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले झिनामसिना कमजोरीबाहेक कर्मचारी तहमा रहेका स्रष्टाहरूले खास भ्रष्टाचार गरेको पाइदैन। ‘९६ गड्डी’ उपन्यासका रचयिता सर्जक तिवारीले निर्भीक रूपमा कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचारलाई केलाउनु भएको उल्लेख गर्दै रोदनले कर्मचारी वृत्तबारे यस्तै अन्य उपन्यास पनि उपन्यासकारले सिर्जना गर्नुपर्ने बताउनु भएको थियो। उहाँले ९६ गड्डी भ्रष्टाचार केन्द्रित ययार्थ उपन्यास भएकाले सबैभन्दा बढी कर्मचारीलाई अध्ययन गराउनु पर्नेमा जोड दिनु भएको थियो। नेपाल स्रष्टा समाजका महासचिव देविका तिमल्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियोे भने कार्यक्रममा झन्डै १०० जना जति लेखक साहित्यकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्