ज्ञान नेपालद्वारा दुई सय परिवारलाई राहत वितरण



परिवर्तन खबर, काठमाडौं ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ स्थित संगम बस्तीका दुई सय बाढी पीडितलाई राहत वितरण गरिएको छ । गोस्पल एसेम्बली नेटवर्क नेपाल (ज्ञान नेपाल ) ले दुई सय परिवारलाई एक महिनाभन्दा बढीलाई खान पुग्ने करिब १० लाख बराबरको खाद्यान्न राहत वितरण गरिएको हो ।

बबईनदीमा आएको बाढी गाउँमा पस्दा घरमा रहेका खाद्यान्न, भाडाकुडा र घरहरु समेत बगेर घरबारविहिन भएका संगमबस्तीका २ सय पीडित परिवारलाई सो बस्तीमै पुगेर सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो राहत प्याकेज वितरण गरिएको हो ।

सो राहत सामाग्रीलाई गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारी, गुरुबा केवी बसेल र ज्ञान नेपालका अध्यक्ष शुसिला बसेलले संयुक्त रुपमा पिडित परिवारलाई वितरण गर्नुभयो ।  सो अवसरमा बाढी पीडितहरुलाई ५० क्विन्टल चामल, ५ क्विन्टल दाल, आलु ६ क्विन्टल, सोयाविन १ क्विन्टल, खानेतेल २ सय लिटर, बेसार ४० किलो, आयोडिन युक्त नुन ४ क्विन्टल, सुकेको खुर्सानी ५० किलो, २ सय प्लाष्टिकको बाल्टी, बाटा र जग गरेर १० लाख बढीको राहात वितरण गरिएको थियो । प्रति परिवार ३० किलो चामल, एक किलो दाल, एक किलो खाने तेल, १ किलो सोयाविन, २ किलो आलु, नुन, बेसार र खुर्सानी तथा बाल्टी, बाटा र जग वितरण गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनु भयो ।

सो अवसरमा बोल्दै वडा नम्बर २ का अध्यक्ष अधिकारीले बबई नदी गाउँमा पसेपछि घरबार विहिन भै पालमुनी बसिरहेका संगमबस्तीका पीडितका लागि एक महिना बढी पुग्ने खाद्यान्न राहात र भाडाकुडा प्रदान गरिएपछि उनीहरुलाई धेरै सहयोग पुगेको बताउनुभयो । उहाँले यो राहतबाट यस क्षेत्रका धेरैको घरमा अब केही दिनसम्म चुलो जल्ने भएको जनाउँदै अन्य पिडितका लागि पनि राहात पुर्याउन सरकारसँग आग्रह गर्नुभयो ।

ज्ञान नेपालका अध्यक्ष शुसिला बसेलले यो राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने जनाउँदै भत्केका र बगेका घरहरु निर्माणमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिनु भयो । सो वडाका वडा सदस्य तथा बाढीपीडित गंगा विश्वकर्माले बाढी आएको २ साता बितेपनि हालसम्म सामान्य चाउ चाउ र चिउरा राहत बाहेक अन्य कुनै राहात कसैले नदिएको जनाउँदै यसबाट धेरै सहयोग पुग्ने बताउनु भयो ।

राहत लिन आएका अधिकांश पिडितले हरेक बर्ष बबई नदी गाउँमा छिरेर आतंक मच्चाउदै आएकोले सो नदीबा जोगाउने स्थायी उपाय अपनाउनु पर्नेमा जोड दिएका थिए । यसअघि ज्ञान नेपालले बर्दियाको बारबर्दिया, बाँकेको फत्तेपुरमा पनि बाढी पीडीतहरुलाई राहत स्वरुप विभिन्न खाद्य सामाग्रीहरु वितरण गरेको ज्ञान नेपालका कार्यक्रम संयोजक तिलक नेपालीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्