उपत्यकाको प्रसारण प्रणालीलाई भुमिगत गर्न साढे १५ अर्ब खर्चने सरकारको तयारी



काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युतीय वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले एसियाली विकास बैंक (एडीबी)ले साढे १५ अर्ब रुपैयाँ ऋण सहयोगमा उक्त कार्य गर्न लागेको हो । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न र उक्त प्रणालीलाई अटोमेसनमा लैजान एडीबीबाट आएको ऋण सहयोग रकम नेपाल सरकारले प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

बैठकले एडीबीको १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहयोग लिने भएको छ । एडीबीको ऋण लिने भएपछि नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रमा बिजुली प्रावहलाई भूमिगत वितरण प्रणालीमा लैजाने योजना अघि बढ्ने भएको छ ।

दुबै क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भुगिगत गर्न प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरिसकेको छ ।

बोलपत्रमा वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख छ । रत्नपार्कको बोलपत्र पेश गर्ने मिति असोज १९ गतेलाई तोकिएको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने मिति असोज ४ गते तोकिएको छ ।

बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका (डिजाइन) समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिल्वालले बताए ।

उनका अनुसार वितरण प्रणालीलाई भुमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ ।

भुमिगत प्रणाली जडान भएपछि विद्युत वितरण अझ बढी प्रभावकारी हुने अनुमान गरिएको छ । पहिलो चरणमा २ वटा वितरण केन्द्रका अतिरित्त काठमाडौ उपत्यकाका ९ वटै वितरण केन्द्रमा भूमिगत गर्ने र दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना रहेको सिल्वालले जानकारी दिए ।

विद्युत प्रसारण तथा वितरण क्षमता अभिवृद्धि योजनामार्फत भुमिगत गर्न लागेको हो । बाहिरी प्रणालीबाट विद्युत वितरण गर्दा जोखिम हुनुका, मानविय क्षतिका साथै सहरको सौन्दर्यमा ह्रास आएको भन्दै प्राधिकरणले यसलाई भूमिगत गर्न लागेको हो ।

काठमाडौ उपत्यका र देशका प्रमुख सहरहरूमा वितरण प्रणाली सुदृढीकरण गर्न दिर्घकालीन गुरुयोजना तयार भैरहेको छ । भूमिगत लाइन विस्तारको काम अघि बढाउन प्राविधिक तयारी भईरहेको समेत उनले बताए ।

२ वर्षभित्र यसलाई सक्ने गरी योजना तयारी भएको छ । यस्तै उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, पोखरालगायत प्रमुख शहरमा भूमिगत प्रणालीबाट विद्युत वितरण गरिने योजना रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्