माष्टरको थेसिस गर्न सरकारले खर्च दिने



परिवर्तन खबर, काठमाडौँ

काठमाडौँ, भाद्र २२ : सरकराले स्नातकोत्तर तह (मास्टर्स) व्यवस्थापन पक्षको सोधपत्र (थेसिस) लेख्न पैसा दिने भएको छ । सरकारी निकाय महालेखा नियन्त्रकको कार्यालयले मास्टर्स गरिरहेका विद्यार्थीलाई थेसिस लेख्न छात्रावृत्ति प्रदान गर्न लागेको हो । यसको लागि महालेखा नियन्त्रकको कार्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिविवि) बीच सम्झौता भएको छ । यस्तो छात्राबृत्ति सबै संकायका विद्यार्थीले पाउने भने होइन । पहिलो चरणमा ब्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरिरहेका विद्यार्थीको लागि छात्राबृत्ति दिन महालेखा नियन्त्रकको कार्यालय र त्रिविविको व्यवस्थापन संकायको केन्द्रीय विभागबीच सम्झौता भएको सहमहालेखा नियन्त्रक दामोदर रेग्मीले जानकारी दिए ।

महालेखाले आफ्नो वार्षिक बजेट कार्यक्रमबाट नै यसरी छात्राबृत्ति दिन लागेको हो । आगामी आर्थिक बर्षदेखि यस्तो कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको रेग्मीले जानकारी दिए । महालेखा र केन्द्रीय विभागबीच पहिलो चरणमा ४ जना विद्यार्थीलाई थेसिस लेख्न छात्रावृत्ति दिने सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रत्येक विद्यार्थीले जनही ३५ हजार रुपैयाँ पाउने छन् । यस्तो छात्रावृत्ति पाए वापत उनीहरुले नेपाल सरकारको लगानीका विषयमा थेसिस लेख्नुपर्नेछ । ‘यो वर्ष ४ जना विद्यार्थीको लागि छात्रावृत्ति दिने सम्झौता भएको हो, छात्राबृत्ति पाउने विद्यार्थीले सरकारको लगानीका सम्बन्धमा थेसिस लेख्नुपर्ने हुन्छ,’ सहमहालेखा नियन्त्रक रेग्मीले भने । विद्यार्थीले सरकारी लगानी रहेको संस्थान, सार्वजनिक निकाय वा अन्य क्षेत्रमा सरकारी लगानीको सम्बन्धमा थेसिस लेख्नुपर्ने छ ।

यसरी छनोट भएका विद्यार्थीलाई एक सातासम्म महालेखा नियन्त्रकको कार्यालयमा ‘इन्टर्नशीप’ गर्ने अवसर पनि पाउने छन् । यस्तो अवसरले विद्यार्थीलाई सरकारी सेवामा प्रवेश गर्न सजिलो हुनेको साथै सरकारको लेखाप्रणाली कसरी चलिरहेको छ भन्ने जानकारी पनि प्राप्त हुने रेग्मीले बताए । महालेखाले आफ्नो वार्षिक बजेट कार्यक्रमबाट नै यसरी छात्राबृत्ति दिन लागेको हो । आगामी आर्थिक वर्षदेखि यस्तो कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको रेग्मीले जानकारी दिए ।

‘अर्को वर्षदेखि अर्थशास्त्र संकायमा अध्ययन गरिरहेका विद्यार्थीलाई पनि यस्तै छात्राबृत्ति दिने सोच बनाएका छौं, छात्रावृत्तिको दायरा फराकिलो बनाउँदै विद्यार्थीलाई ब्यवहारिक ज्ञान प्रदान गर्ने तथा उनीहरुमा भएको शीपको उपयोग गर्ने हाम्रो लक्ष्य हो,’ रेग्मीले भने । पहिलो चरणमा केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले मात्रै यस्तो छात्राबृत्ति पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्