नेपाल आईडलको उपाधि पोखराका बुद्ध लामालाई



परिवर्तन खबर, काठमाडौँ  ।

बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँ बजारका बुद्ध लामाले जितेका हुन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन् ।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो । सोमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन् ।

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाएका छन् । मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने ।

निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । सोमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ हिजो शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवात प्रकारण हुने बताइएको छ ।

को हुन् बुद्ध ?

२०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुख्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरा बसाईं सरेको थियो । बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाको स्वीपर काम गर्छन् भने आमा गृहिणी हुन् । उनका बुबा आमाको स्वर पनि राम्रो छ । उनीहरु गाउँमा गीत गाउनेको नाममा चिनिन्छन् ।

आफ्नो विद्यालय महेन्द्र माविमा बाल दिवसको कार्यक्रममा गाउँदै उनले सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा होस्टे गरिरहृयो । उनका लागि आवश्यक वाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन ।

दिदी भिनाजुको मार्गदर्शनमा उनले त्रिवेणी संगीतालयमा संगीत सिक्न थाले । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन–२०११’मा चौथो भए ।

चार वर्षअघि उनले आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत पनि रेकर्ड गराएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर, एक सदस्यको निधन भएपछि ब्याण्ड भताभुंग भएको छ ।

गएको वर्ष पोखराको महेन्द्र माविबाट एसईई परीक्षा उत्तिर्ण गरेका उनले त्यसपछि टूरिजम् हस्पिटालिटी म्यानेजमेन्ट पढिरहेका छन् । साथै पोखराकै गुरुकुल संगीतालयमा संगीत सिकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्