११३ परिवारलाई एकीकृत बस्ती निर्माण गरिने



परिवर्तन खबर, काठमाडौं ।

पहिरोबाट प्रभावित पाँचथरको फालेलुङ गाउँपालिका, वडा नम्बर ३ मा अब एक सय १३ परिवारको लागि एकीकृत बस्ती निर्माण गरिने भएको छ । सुरक्षित बसोबास गर्ने व्यवस्था मिलाउन भन्दै एकीकृत बस्ती निर्माण गर्ने निर्णय गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

जिल्ला दैविप्रकोप उद्धार समितिको बैठकले फालेलुङ–३ को खोलाघारी, खोलागाउँ, विकटे, माङलेबुङका पहिरोबाट विस्थापित भएका एक सय १३ परिवारका लागि एकीकृत बस्ती बसाउने निर्णय गरेको हो ।

अहिले पनि वर्षात् नरोकिएको हुँदा त्यस भेगका स्थानीय छिमेकीको घर तथा विद्यालयको प्रांगणमा बस्न बाध्य छन् । अहिलेसम्म त्यस भेगका ७२ परिवारले मात्रै राहत पाएको स्थानीय बताउँछन् । अझै ४१ परिवारले राहत पाउन सकेका छ्रैनन् । त्यस क्षेत्रमा जिल्ला दैविप्रकोप उद्धार समिति र केन्द्रीय दैविप्रकोप उद्धार समितिबाट आगामी सोमबार संयुक्तरुपमा लगेर राहत वितरण गरिँदैछ ।

अविरल वर्षात्कै कारण गत साउन २७ गते फालेलुङ गाउँपालिका वडा नम्बर १, ३ र ४ मा पहिरोले किचेर दुईजनाको मृत्यु भयो भने दुईजना अहिले पनि बेपत्ता छन् ।

वडा नम्बर १ का त्रिलोचन विक र वडा नम्बर ३ का विष्णुभक्त राईकी नातिनी प्रियाको शव भेटिए पनि अहिलेसम्म विष्णुभक्त राई र उनकी छोरी गंगाको भने शव भेटिएको छैन ।

प्रतिक्रिया दिनुहोस्