परिवर्तन खबर, काठमाडौँ
काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव निकै रोचक देखिएको छ । उम्मेदवारी घोषणा गरेकाहरुले आफ्नो प्रचारलाई तीब्र बनाएका छन् । एनआरएनएको उपाध्यक्षका उम्मेदवर खगेन्द्र क्षेत्रीको प्रचारमा महानायक राजेश हमाल सक्रिय भएका छन् । यसले अमेरिकाका चर्चित वकिल क्षेत्रीको पक्षमा माहोल बनाउँदै लगेको छ । क्षेत्रीको प्रचारमा नायक हमाल शनिबार दिनभर सक्रिय रहे ।
अमेरिकी भूमीमा बहस पैरवी गर्ने पहिलो नेपाली वकिल क्षेत्रीको ब्यक्तित्वले पनि धेरै गैरआवासीय नेपालीलाई प्रभावित गरेको छ ।
को हुन् क्षेत्री ?
अमेरिकी माटोमा कानुन व्यवसायीको पेसा अंगाल्ने पहिलो नेपालीसमेत रहेका क्षेत्रीले न्युयोर्कमा क्षत्री एन्ड एसोसियट्स पिसी नामको ल फर्म चलाइरहेका छन् । अमेरिकामा सुपर लयर उपाधि पाएका क्षेत्री गुल्मीको मरभुङमा जन्मेका हुन् ।
उनले २ कक्षासम्म गाउँमै पढे । उनको नवलपरासीको नवलपुरमा पुख्र्यौली जमिन थियो । उनको परिवार गुल्मी–नवलपरासी आवतजावत गरिरहन्थ्यो । विस्तारै परिवार नवलपरासीतिरै बस्न थाल्यो । उनले हाइस्कुल त्यतै पढे । त्यसपछि चितवनबाट प्राइभेटमा एसएलसी दिए ।
सानोमा क्षेत्री ठूलो भएर व्यवसायी बन्ने सपना देख्थे । त्यसै अनुसार काठमाडौंको सरस्वती क्याम्पसमा वाणिज्य तथा व्यवस्थापन विषय पढ्न भर्ना हुन गएका थिए । भर्नाको म्याद सकिइसकेको रहेछ । त्यसपछि उनी कानुन पढ्न ल क्याम्पस भर्ना भए । रुचिले भन्दा नियतिले डोर्याएर कानुनका विद्यार्थी बनेका खगेन्द्रले यही क्षेत्रमा आफूलाई अब्बल बनाए । नेपालकै ल क्याम्पसमा पढाउँदा पढाउँदै त्यहाँको प्रशासनिक व्यवहारबाट वाक्क भएरका थिए उनी ।त्यतिबेलाका डिनले उनलाई हैरानी दिए । कहिले पढाउन पोखरा पठाइदिन्थे, कहिले नेपालगन्ज । स्थिर भएर आफ्नो ड्युटी पूरा गर्न नपाएपछि उनलाई विदेशमा गएर अझै धेरै पढ्ने हुटहुटी जाग्यो । ‘पढ्न जान विदा दिन आग्रह गर्दा डिनले फर्केर आउँदा जागिर दिने ग्यारेन्टी गर्न सक्दिन भन्नुभयो,’ उनी सुनाउँछन्, ‘जागिर माया मारेरै अमेरिका पुगेर कोलम्बिया युनिभर्सिटीमा भर्ना भएँ ।’ उनलाई पढ्ने खर्च जुटाउन समस्या थियो । त्यसपछि उनले छात्रवृत्ति माग गरे । खर्च जुटाउन लाइब्रेरीमा काम गरे । उनले विश्वविद्यालयका डिन र प्राध्यापकहरुबाट सहयोग पनि पाए । हौसला दिए । त्यहाँबाट मास्टर्स सकेपछि भने उनलाई समस्या भएन । उनी त्यतै सेटल भए । फोर्डम युनिभर्सिटीबाट जुरिस्ट डक्टरेटसमेत गरेका उनी अमेरिकी बार एसोसियसन, न्युयोर्क बार एशोसियसनका सदस्य हुँदै इन्डो नेपाल बार एसोसियसनको महासचिव भइसकेका छन् । नेपालमा बसिरहेकाहरु खगेन्द्रलाई गैरआवासीय नेपाली महासंघको नेताका रुपमा चिन्छन् ।
उनले गैरआवासीय नेपाली महासंघ अमेरिकाको नेतृत्व गरिसकेका छन् । अमेरिका–नेपाल मेडिकल फाउन्डेसन र नेपाल–अमेरिका मैत्री संघको बोर्ड मेम्बर रहिसकेका खगेन्द्र एलायन्स फर डेमोक्रेसी एन्ड ह्युमन राइट्सको संस्थापक अध्यक्ष हुन् । उनले न्युयोर्क सिटीको मानवअधिकार आयोगमा रहेर समेत काम गर्ने मौका पाएका थिए । एनआरएनमा रहेर उनले नेपालमा भूकम्प पीडितका लागि सक्रिय सहयोग गरे । यस्तै एनआरएनकै भवन निर्माणमा पनि महत्वपूर्ण योगदान पुर्याए ।
खगेन्द्रले नेपालसँगको सम्बन्धलाई उत्तिकै दरिलो बनाएको यहाँका सामाजिक संघसंस्थामा क्रियाशील भएर मात्रै होइन । न्युयोर्क म्यानहटनको क्षत्री एन्ड एसोसियट्स पिसी क्विन्स, टेक्सास र क्यालिफोर्निया हुँदै नेपालसम्म आएको छ । नेपालमा समेत उनले कानुनी सेवा दिँदै आएका छन् । अमेरिकामा रहेका उनका कार्यालयहरुमा नेपाली, अमेरिकी र चिनियाँहरुले रोजगारी पाएका छन् । नेपाली समुदायमा हुने गतिविधिमा उनी सक्रिय हुन्छन् । विदेशिएका नेपाली र नेपालको नाता सधैं कायम राख्न उनले दोहोरो नागरिकताका पक्षमा निकै पैरवी गरे । त्यसो त २०४६ सालमा नेपालमा प्रजातान्त्रिक आन्दोलन हुँदा उनी अमेरिकी समर्थनका लागि दौडधूप गर्थे । अहिले उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनलाई जिताउन एनआरएन अमेरिका एक ढिक्का भएर लागेको छ । उनी विश्वभरका एनआरएनहरुको आफूलाई समर्थन रहेको बताउँछन् । उनी आफ्नो विजय हुनेमा विश्वस्त छन् ।