परिवर्तन खबर, काठमाडौँ
२१ अगष्ट सन् २०१७ । टिरिङ्…… टिरिङ्…… टेलिफोनको घण्टीले सपनामै झस्किएँ म । निद्रा टुट्यो । रिसिभर उठाएँ । उताबाट मिस युआन बाईको नम्रस्वर मेरो कानमा ठोकियो, “गुड मर्निङ सर, आर यु रेडी ? इट इज अलरेदी टाइम फर बे्रकफाष्ट, ल्पीज कम डाउन बी वान् फ्लोर, आई एम वेटिङ यु हियर ।
गुड मर्निङ ! ओके आई एम कमिङ भन्दै रिसिभर राखेँ । राति अवेर पुगेको र बेइजिङको समय पनि नेपालको भन्दा करिब २ घण्टा १५ मिनेट छिटो भएकाले त्यतिबेला म निद्रामै थिएँ ।
घडी हेरेँ, बिहानको ७ बजिसकेछ । त्यो मेरो जीवनको विशेष दिन थियो । उदाएको सूर्यलाई चीनको विशाल भूमिबाट पहिलो नमस्कार गरेँ । वर्षौंदेखि मनमा साँचेर राखेको उत्सुकता र बेइजिङलाई हेर्ने कौतुहल मेटाउन झ्यालबाट बाहिर चियाएँ । ३०–३५ तले अग्लाअग्ला गगनचुम्बी भवनहरुले घेरिएको थिएँ म । मेरा आँखाले भ्याएसम्म नियाल्ने प्रयास गरेँ । मैले सोचेको बेइजिङको शहरी विकास र भौतिक अवस्था कल्पनाबाहिर थियो । अनुमान गर्न असम्भव ।
हतारहतार नित्यकर्म सकेर तयार भएँ र होटलको अण्डरग्राउण्ड तलामा ओर्लिएँ । युुआन बाई मलाई पर्खिरहेकी थिइन् आँखा घुमाउँदै । एक जना कलिलो उमेरको देखिने चिनीयाँ ठिटो उनीसँगै उभिएका थिए, विनम्र भावमा । बाईले मलाई देख्नासाथ परिचय गराइन् तिनै ठिटासँग । उनी थिए, डा. तियान चीनको कागज र पल्पसम्बन्धी राष्ट्रिय अनुसन्धान केन्द्रका निर्देशक । मेरो मन हुनसम्म चकित भयो । ती युवा त्यति ठूलो संस्थाका हाकिम, निर्देशक डा. तियान होलान् भन्ने अनुमानसम्म गरेको थिइन मैले ।
करिब तीन महिनाअघिदेखि इमेल आदानप्रदानको आधारमा बनेको अन्तर्मनको बिम्ब र आज मेरो अगाडि उभिएका डा. तियानमा आकाश–जमिनको फरक थियो । मैले अनुमान गरेको थिएँ, डा. तियान कपाल सेतै फुलेका, उमेरले प्रौढ र मभन्दा अलि पाका होलान् । तर उनी त मभन्दा निकै कम उमेरका थिए, तर पदीय जिम्मेवारीमा निकैमाथि ।
‘वेलकम टु चाइना मिस्टर सुवर्ण ! नाइस टु मिट यु ।’ उनले चिनीयाँ लवजको अङ्ग्रेजी भाषामै मलाई स्वागत गरे । हामीलाई चीनमा स्वागत गर्न पाएकोमा हर्षित भएको अभिव्यक्ति व्यक्त गर्दै उनले शिष्टतापूर्वक हात मिलाए र बे्रकफास्टपछि ८.१५ बजे होटलको लबीमा सबैजना जम्मा भएर कार्यशाला स्थलमा जाने कुरा जानकारी गराए ।
होटलबाट आयोजक र सहभागीहरुलाई बोकेर हुँइकिएको सटलमा बसेर स्वच्छ, प्रदुषणमुक्त हराभरा भव्य शहरी दृश्य क्यामेरामा कैद गर्दै कार्यशाला स्थलतिर अघि बढेँ । बाटामा सोच्दै थिएँ, सम्भवतः त्यहाँ बरिष्ठ अतिथीहरु, विज्ञान–प्रविधि मन्त्री, राजनैतिक पार्टीका ठूला दर्जाका नेताहरु, नगरपलिकाका मेयर, सहभागी देशका महामहिम राजदूतहरु आमन्त्रित गरिएका होलान् । आजको आधा दिन विशिष्ठ व्यक्तिका भाषणमा चीनको विविध बिषयमा धेरै जानकारी हासिल गर्न पाइन्छ होला…..आदि आदि ।
चीनका उपप्रधानमन्त्री तीन दिने नेपाल भ्रमण आएको बेला परेको थियो म बेइजिङ जान घरबाट निस्कँदा । चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल भ्रमण टोलीमा काठमाडौँ आउनुभएको थियो । उहाँसँगको टेलिफोन बार्तामा वहाँ दुई दिनपछि मात्र बेइजिङ फर्कने र त्यहीँ भेटघाटको लागि राजदूतावासको फोन, मोबाइल नं. दिनुभएको थियो मलाई ।
मैले सोचेँ, आज नेपालका राजदूतबाहेक अरु सहभागी देशका राजदूतहरु कार्यक्रममा आउने छन् । मैले आफ्नो जीवनभरको अनुभवका आधारमा अन्तर्राष्ट्रिय कार्यक्रममा कुनै न कुनै नेता वा मन्त्री सहभागी भएको देखिरहेकाले मेरो मनले यस्तो सोच्नु स्वाभाविक नै थियो ।
बेइजिङ नगरको फराकिला सडक, हरियालीयुक्त सडक किनारा, जताततै हरियाली वतावरण, गगनचुम्बी व्यापारिक भवनहरु, व्यवस्थित ट्राफिक यी सब हेर्दाहेर्दै हामी चढेको सटल बस ८.४५ बजे सिनोलाइट प्लाजा परिसर पुगेर रोकियो । आठौँ तलामा रहेको सम्मेलन हलतिर हामीलाई अगुवाइ गरे तिनै कलिला निर्देशकले । मलाई लागेको थियो यति भव्य कार्यक्रमको उद्घाटनमा केही बिलम्ब त अवश्य नै होला । तर, जब म भित्र पसेँ, सबै आगन्तुकहरु आ–आफ्नो स्थानमा विराजमान थिए । कार्यशाला गोष्ठीको उद्घाटन समारोह शुरु हुनै लागेको थियो । कार्यक्रमको अतिथी आसनमा विराजमान मानिसहरुतिर आँखा लगाएँ, भर्खरका कलिला अनुहार मात्र थिए, प्रौढ अनहार छँदै छैन । मैले एक पटक आफ्नै अनुहार सम्झेँ र फेरि उनीहरुतिर हेरेँ । मनमा अनेक खुलदुली चलिरहे । यति भव्य समारोहका अतिथीहरु यति कलिला ! मन चित् खायो हेर्दाहेर्दै । जिज्ञाशा अझ तिखारियो मभित्र ।
मैले सोचेभन्दा बिलकुलै फरक ढङ्गले कार्यक्रम शुरु भयो । कार्यक्रमको मुख्य प्रायोजक चिनीयाँ विज्ञान–प्रविधि मन्त्रालय, अन्तर्राष्ट्रिय सहयोग विभागका निर्देशक मिस् जिया ली, आयोजक संस्था सिएनपिपिआरआइका प्रेसिडेन्ट चुन काओ, भाइस प्रसिडेन्ट मिस बो सुनले ६ एसियाली र एक अफ्रिकी राष्ट्रबाट आमन्त्रित विज्ञ सहभागीहरुलाई स्वागत गर्नु हुदैँ आयोजक संस्थाहरुको गतिविधि, आसन्न तीनहप्ते कार्यशाला तालिम तथा अध्ययन भ्रमण कार्यक्रमको परिचय र उद्देश्यबारे संक्षिप्त चर्चा गरे ।
करिब २० मिनेटजतिमा सबै कार्यक्रम सकियो । मैले सोचेजस्तो न विषयबाहिरका कुनै राजनीतिक चर्चा गरियो न त लम्बेतान भाषण । त्यसपछि सबै सहभागीहरुद्धारा आफ्नो संस्था, आफ्नो परिचय, कार्यअनुभवका बारेमा जानकारी गराइयो । कार्य तालिकामा तोकिएबमोजिम आधा घण्टाभित्र औपचारिक कार्यक्रम समाप्त भयो ।
हेर्दा करिब चालीसको हाराहारीका युवाहरु, त्यसमा पनि धेरै त कलिला युवतीजस्ता लाग्ने महिलाहरु त्यो अन्तर्राष्ट्रिय कार्यशालाका हर्ताकर्ता थिए । तिनको फुर्तिलो काम गराई, अतिथीहरुप्रतिको आदरभाव र क्रियाशीलता देखेर मेरो मनले ती युवाहरुलाई मनमनै सलाम गर्न थाल्यो । मलाई लाग्यो यही सक्रियता, यही छरितोपन अनि यही विषयसम्बद्ध कामको जिम्मेवारीबोध नै चीनको आश्चर्यजनक प्रगतिको रहस्य होला ।
विदेशी पाहुनाहरु भएकाले कार्यक्रमको शुरुमा आयोजक समूहसँग घुलमिल हुन सजिलो होओस् भनेर डा. तियानले उनको कार्यटोलीका वैज्ञानिक, अनुसन्धाता, ईन्जिनियरहरुको परिचय गराए । धेरै त महिलाहरु नै थिए वैज्ञानिक र अनुसन्धाताहरु पनि ।
जसैजसै म उनीहरुका क्रियाकलाप, कामप्रतिको लगाव, समयको ख्याल, अतिथीहरुप्रतिको आदर–सम्मान हेर्दै गएँ, मलाई हाम्रो आतिथ्यभावप्रति आलोचनात्मक भाव बढ्दै गयो । के चिनीयाँहरुजति आतिथ्यभाव छ हामीसँग ? के एउटा विदेशीलाई हामी पनि यतिकै सम्मान गर्छौं ? मलाई बारम्बार उनीहरुको आतिथ्यले सोचमग्न बनाइरह्यो ।
सबै विज्ञ, सबै कलिला । कसरी हुनसक्छ विज्ञता र यो उमेरको मिलन ? मेरो मन उनीहरुको अनुहार र विज्ञताको लोखाजोखा गर्दा सधैँ झस्किरह्यो । यति कलिलो उमेरमा योस्तरको विज्ञता कसरी सम्भव छ ? कसरी यति उच्च जिम्मेवारी दिइयो यी कलिला युवाहरुलाई । निर्देशक बन्नेबेलासम्म कपाल फुलेर अनुहार चाउरिसकेका निर्देशकहरु देख्ने बानी परेका हामीलाई ती विज्ञ युवाहरु र निर्देशक डा. तियान व्यग्यचित्रजस्तै थिए ।
तीन हप्तासम्म ती अविस्मरणीय अनुहारहरुको सम्पर्कमा रहँदा मैले अनुभूत गरेको व्यक्तिगत अनुभव, प्रभाव, अन्र्तदृष्टि र चिनीयाँ संस्कृति, संस्कार एवं चालचलनबाट हामीले सिक्न सकिने धेरै कुरा देखेको छु । तर, अहिले यति भन्छु,
चिनीयाँ जादुगरी विकासको मूल रहस्य युवा मस्तिष्क, युवा सोच अनि युवा काम गराइ नै हो । डा. तियान र उनको त्यो अनुसन्धान संस्थाका ती कलिला युवाहरुको हिम्मतिलो मन, लगनशील भावना अनि बलबुताले भ्यायसम्म देश र संस्थाका लागि काममा लागिरहने जोश र जाँगर । यही युवा मनले आज चीनलाई थकाइ नमार्नेहरुको देश, अल्छी नगर्नेहरुको देश अनि आश्चर्यजनक प्रगति गर्ने सामथ्र्य भएको देश बनाएको रहेछ । मैले यसैगरी बुझेँ पहिलो दिन बेइजिङको त्यो रहस्यमय विकास र कार्यक्रम आयोजनामा देखिएको चुस्तताबाट ।
योजना र कार्यान्वयपक्ष बीचको तालमेलबाट व्यवस्थापन नतिजा चुस्त, दुरुस्त हुनुपर्ने र अघिल्लो प्रयोग र व्यवहारबाट सिकिएका सफलतम् सुचना र ज्ञानको आधारमा नयाँ ज्ञान, सीप र प्रविधिको आबिष्कार गर्दै भविष्यमा यसको प्रयोग गर्ने र निरन्तर अनुसन्धान पद्धतिबाट सिक्दै र विकास गर्दै जाने यहाँको व्यवस्थापकीय विशेषता रहेछ । व्यवस्थापन सीप वास्तवमा औपचारिक शिक्षाबाट आर्जित ज्ञानको विषय र क्षेत्रभन्दा प्रत्येक व्यक्तिमा अन्तर्निहित सामान्य सुझबुझ, कामप्रतिको चासो, उत्प्रेरणा र व्यक्तिगत प्रतिबद्धता आदिबाट आर्जन हुँदो रहेछ । चिनीयाँ कार्यशैली तथा व्यवस्थापन कलाबारे पछिल्ला लेखहरुमा उल्लेख गर्नेछु । (बाकी क्रमशः अर्को भागमा……..)
बसबाट खिचिएको बेइजिङ शहरको हरियाली वातावरणसहितको दृश्य
कार्यशाला गोष्ठीका सहभागी तथा व्यवस्थापन टोलीका सदस्यहरु
चाइनिज नेशनल पल्प एण्ड पेपर रिसर्च इन्ष्टीच्यूट । सन् २००१ मा निर्मित सिनोलाइट प्लाजा बेइजिंगको भवन
(माथिबाट क्रमशः सन् १९५६ देखि २००१ सम्मको विकासक्रम)