फ्रान्सिस्काको इमोजी र प्रेमिकाको चिसो मन



परिवर्तन खबर, काठमाडौँ

निद्राले चाँडै छोड्यो । फेरि सुत्नुभन्दा सामाजिक सन्जालमा रमाउने सुर आयो । किनभने यो संसारमा रात हुँदैन सधैँ दिन हुन्छ । कोही न कोही उठेकै हुन्छ । कसै न कसैले हरियो बत्ती बालेकै हुन्छ । शून्य भौगोलिक दूरी । सबै साथीभाइ स्क्रिनमा । अहिले म कम्युटरकै अघि बसेर दुईवटा काम गर्दैछु । पहिलो, यो प्रत्यक्ष अर्थात् साजी नियात्रा टाइप गर्ने । दोस्रो, फेसबुक खोलेर कसैसँग कुरा गर्ने । अनि, हिँड्दै छ पाइला मेट्तै छ को उल्टो हिँड्दै छ पाइला राख्तैछु भनेजस्तो गर्ने । आधुनिक संसारले त्यसलाई वास्तविक समय अर्थात् रियल टाइम भन्छ ।

मेरी इटलीयन साथी फ्रान्सिस्का देखा परी ।

‘ए, मोहिनी देवी ! तिमीलाई कोरियाको यो मिर्मिरे उषाबाट न्यानो अभिवादन !’ मैले अङ्ग्रेजीमा यही भावको वाक्य लेखेँ । हाम्रो सम्वाद अघि बढ्यो ।

‘गुुड मर्निङ, प्रोफेसर !’

कति आनन्द लाग्छ यो मोरीका यस्ता शब्द पढ्दा । अरुले लेख्ने पनि यिनै ए वि सि डि त हुन्, तर उसका शब्दको ओज नै बेग्लै हुन्छ ।

उसले अघि लेखी– ‘दक्षिण कोरिया ! त्यो त अद्वितीय नै भयो । म त्यहाँ पुगेकी छु र धेरै आनन्द पनि लिएकी छु । वाह, त्यहाँको किम्ची ! तपाईँ छुट्टिमा हो ?’

मैले जवाफ दिनुअघि फेरि उसले अर्को हरफ थपी– ‘अस्तिको दिन मेरो पिएचडी पनि सकियो ।’

उसले दुईवटा इमोजी पनि पठाई । पहिलोले विजयको संकेत दियो भने दोस्रोले, मुस्कानको ।

म पनि के कम, बधाई  संकेत गर्ने ५० वटा इमोजी पठाइदिएँ ।

‘बधाई छ तिम्रो सफलता र उपलब्धीका लागि । यो मेरो लागि आजको पहिलो र महत्वपूर्ण खुसीको समाचार भयो ।’

उसले मलाई केटीले हत्केला आकाशतिर फर्काएको इमोजी र थ्याङ्क यू लेखेको बिरालोको चित्र भएको स्टिकर पठाई । यो इटालियन सुन्दरीले पठाएका इमोजीले मलाई यस विषयमा थप जानकारी खोज्ने कुतूहल जगाइदियो । अहिले सामाजिक सञ्जालमा इमोजी र ह्यासट्याग जस्ता चित्र संवादको प्रचलन ह्वात्तै बढेको छ । इमोजीको उत्पति जापानबाट भएको हो अरे । चीन र जापानमा शब्दका चित्रले अक्षर जनाउँछन् । अक्षरको संवाद भन्दा चित्रको संवादमा अर्थ बुझ्न कठिन हुँदैन । चित्र बुझ्न भाषा होइन जीवन वा परिवेश बुझे पुग्छ ।

…………..

म दानकुक विश्वविद्यालयका प्राध्यापक दोक्कोको निमन्त्रणामा पाँचदिने भ्रमणार्थ दक्षिण कोरियाको राजधानी सोल आएको छु, एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन । हाम्रो सम्मेलन एक दिने थियो । चीनबाट आउनु भएका प्राध्यापक ग्वान र म मात्र दुई विदेशी थियौँ । राष्ट्रका हिसाबमा मैले चीनबराबरको सम्मान पाएको थिएँ । नेपालमा पेशागत कर्म गर्नुको आनन्द यस्तो बेलामा पाइन्छ । मेरो प्रस्तुती दिवाभोजभन्दा अघि थियो । अपरान्हमा हामी दानकुक विश्वविद्यालय परिसर गयौँ । दोक्कोको आग्रह र मेरो सिफारिशमा बाजुरा घर भएका मेरा पूर्व विद्यार्थी निर्मल शाहीले त्यही विश्व विद्यालयमा वातावरण इन्जिनियरिङ्मा स्नातकोत्तर गर्ने अवसर पाएका थिए । प्राध्यापक मित्रले हामी दुवैलाई के वाटर पानी प्रशोधन केन्द्रको प्रशोधन गर्ने ठाउँमा लिएर गए ।

सोलको एक तिहाई जनसङ्ख्या र सामसुङ् कम्पनीको कारखानालाई आवश्यक पर्ने उच्च गुणस्तरको पानी आपूर्ति यहाँबाटै हुँदो रहेछ । प्रशोधन केन्द्रपछि हामी १२८ तले गगनचुम्बी भवनको मजा लिन गयौँ । सोल टावरको नामले प्रसिद्ध यो धरहरारुपी संरचनाको उचाई झण्डै ५०० मिटर रहेछ । दृष्यावलोकन गर्ने १२१ औँ तलामा ४८६ मिटर लेखिएको थियो । भुर्इंतिर फर्केर हेर्दा हिँडेका कमिलाको ताँती जस्तो देखिन्थे सडकमा गुडेका सवारी साधन । यस्तो रोमाञ्चकारी अनुभूति मैले यसअघि बैँककको वायोके टावर चढ्दा पनि लिएको थिएँ । तर यो त टावरको ठूल्दाइ नै लाग्यो । भुर्इंको बाल्कोनीवाट आफूले टेकेको जुत्ताको तल कन्चन पानी भएको गहिरो तालमा पीँध देखिएजस्तो धर्र्ती हेर्दा मन रोमाञ्चित भयो । कतिको त डरले सातो जाँदो रहेछ ।

मलाई सोल स्टेशन नजिकैको फोर प्वान्ट्स बाइ सेराटन होटलमा बस्ने प्रबन्ध मिलाइएको थियो । इन्चोन विमानस्थल पुग्दा बिहानको ५.३० भएको थियो । म सोमवार दिनभर विश्वविद्यालयको काम गरेर रात्रीको उडानबाट बिहान सखारै कोरिया आइपुगेको थिएँ ।

मैले ६००१ नं.को लिमोजिन बस लिनुपर्छ भने थाहा भए पनि एक पटक निश्चित गर्न मन लाग्यो । सूचना केन्द्रमा गएर निश्चित गरेँ । बस बिसौनिमा गएर समय हेर्दा अर्को बस ७.१२ बजे मात्र रहेछ । मसँग १५ मिनेट केही गर्ने फुर्सत थियो । पर्यटक सूचना केन्द्रमा गएर होटेल परिसर वरपरको नक्शा संकलन गर्ने सुर चढ्यो । सूचना केन्द्र खोज्न थालेँ । तर अफसोच, त्यहाँ कोही पनि थिएन । यताउता आँखा डुलाएँ । खुल्ने समय ७.०० लेखेको बोर्ड देखियो । सात बज्न केही मिनेट बाँकी थियो । मैले आज कोरियन कर्मचारीको राम्रो जाँच लिन पाउने भएँ भन्ने लाग्यो । तर मलाई आश्चर्य पस्कदैँ सात बज्न ३० सेकेन्ड बाँकी हुँदा एक सेविका आइन् । मैले मागे जति नक्शा दिइन् ।

होटेलमा पनि म सजिलै पुगेँ । स्वागत कक्षमा मलाई अभिवादन गर्दै सुरक्षा धरौटीका लागि भिसा कार्ड मागे । उनीहरुलाई मेरो सम्पूर्ण खर्च आयोजकले व्यहोर्ने सूचना रहेनछ । मैले २१ तलाको कोठा पाएँ । चेक–इनको काम सकिएपछि कोठाको कार्ड (चाबी) दिँदै सेविकाले सोधिन्ः

‘डु यु निड एक्स्ट्रा रुम कार्ड ?’

‘पर्दैन ।’ मैले भनेँ तर यो प्रश्न भने मथिङ्गलमा अहिलेसम्म पनि घुमिरहेको छ । कोठामा एक जना मात्रै बस्ने निश्चित हुँदा हुँदै किन दोस्रो कार्ड चाहिन्छ ?

………..

त्यो होटलमा स्वागत कक्ष, कफी कर्नर र रेष्टुरेन्ट आदि १९ तलामा थिए । कफी कर्नरको अग्रभागमा राखिएको एक बोर्डले मेरो ध्यान खिचेको थियो ।  वी ह्याभ बियर एज कोल्ड एज योर एक्स गर्ल फ्रेन्डस् हार्ट । अर्थात् हामीसँग तिम्री पूर्व प्रेमिकाको मनभन्दा पनि चिसो बियर पाइन्छ । यो सन्देश रोचक लाग्नु स्वभाविक थियो । मैले नजिक पुगेर मन्त्र पाठ गरेजस्तै गरी अलि ठूलो स्वरले सन्देश पढेँ । म सँगै उभिएका मेरा चिनियाँ प्राध्यापक मुस्कुराए । हाम्रो गतिविधिले कफी कर्नरकी सेविकाको ध्यानाकर्षण भयो । उनी पनि हामीतिर हेरेर मुस्कुराइन् ।

मैले सेविकासँग आँखा जुधाउँदै सोधेँ–‘ दिस इज क्वाइट कन्भिन्सिङ् । बट आइ ह्याभ अ क्वेश्चन ।’

‘यस प्लिज ।’

‘हाउ एबाउट दि हट कफी ?’

उनी लगायत अन्य वरिपरिका श्रोतासमेत हाँसे । सेविका मौन मुस्कानसाथ एकछिन चुप रहिन् र सुस्तरी बोलिन्– ‘आइ थिङ्क कफी क्यान बी एज हट एज दि एङ्गर अफ योर वाइफ ।’

अब हाँसोको आयतन अझ बढ्यो । मैले त्यो सन्देशको फोटो खिँचे ।

सन २००६ मा म जापानको आइजिइयस भन्ने संस्थामा काम गर्थें । भारतको पन्जाब घर भएकी एक युवती मेरो परिवारकी साथी थिइन् । अहिले उनी सोलमा नै कोरियन भाषाको पढाइमा लागेकी रहिछन् । उमेर ढल्किसके पनि उनको वैवाहिक जीवनको ढोका भने खुल्न सकेको थिएन । मैले उनलाई भेट्ने प्रस्ताव राखेँ ।

‘मेरा तो कलेजका प्रोग्राम है शायद मुस्किल होगा ।’

‘पूजाजी, तो आप कलेज जाती हो ?’

‘जी हाँ ।’

‘तब तो मेरे को आपसे मिल्ना और भी जरुरी हो गया ।’

‘वो क्योँ नवराजजी ।’

‘लाइन मार्नेके लिए । कलेज जानेवाली लड्कीको कोइ लड्का लाइन न मारे, ये कैसे होगा ।’

मेरो तर्क सुनेर उनी मोवाइल नै फुट्लाजस्तो गरी हाँसिन् । तर अफसोच ! पूजासँग स्टारबकमा कफी पिउने मात्र पनि सौभाग्य जुर्न सकेन ।

………..

अहिले भने म इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नं. २१ को प्रतिक्षालयमा छु । देब्रेतिर शिशाको पर्खाल छ बाहिरको दृष्य हेर्न बाक्लै पाइएको छ । भर्खरै उज्वेकिस्थानको जहाज गुडेको देखियो । कोरियन एयरको जहाज तान्ने यन्त्रले विपरित दिशामा लिएर गयो । मजाले घाम लागेको छ । होटलबाट निस्कँदा त पानी पनि छिट्याएको थियो । मेरो देब्रेतिर एउटी मोटी महिला सानो किताब पढ्दै छिन् । सिधै अगाडि फाटेको पाइन्ट लगाएकी एउटी युवती छिन् । शायद उनी नेपाली मूलकी हुन् । युवती बसेकै लहरमा एक जना छालाको जुत्ता र ज्याकेट लगाएका नेपाली पुरुष छन् । उनी भने सीटको छेउमा राखेको सामान राख्न बनाइएको बेन्चमा बसे । उनी केही अघि अर्को एक युवासँग नेपालीमा बोल्दै थिए । दाहिनेपट्टि एक जना मंगोलिन पुस्तक नै पढ्दै छन् । उनी शायद कोरियन हुन् ।

अहिले भने ती युवक पनि आएर मिसिए । उनीहरु एकअर्कालाई चिन्दा रहेछन् । युवकले भने एउटा झोला काँधमा तेर्साे पारेर भिरेका छन् ।

युवकले बोलेको सुनियो– ‘चाँडै आएसी समस्या हुने ।’

उनको मोवाइल बज्यो । उनी एकान्तमा गएनन् । सबैका अघि नै बोल्न थाले । सबै कुराकानी बुझिएन । तर एउटा वाक्य भने बुझियो– ‘आफ्नो खातामा आउँछ ।’

अब युवतीको मोबाइल बज्यो । तिनले भने बोलेको बुझिएन । मसिनो बोलिन् ।

………

सिधै अगाडि सामसुङ टेलिभिजन राखिएको छ । लोटे भन्ने कम्पनीको विज्ञापन आइरहेछ । हिजोको कुराअनुसार डा. पदम प्रसाद खतिवडा आउनु पर्ने । संयोगवश हाम्रो एउटै उडानमा टिकट परेछ । तर वहाँ अहिलेसम्म भेटिनुभएको छैन । तर अस्ति म आउँदा सँगै आएका आमाछोरी भने भेट भए । उनीहरु देब्रेतिर अगाडि बसेका छन् । नियात्राको थप कथा बुन्ने उन भेटिँदैन । म आमा र छोरी बसेकै सीटमा जान्छु । छोरीको छेउमा बस्छु ।

‘माँलाई एउटा कुरा सोध्न मन लागेर आएको ।’

माँले कान सुन्दिनन् । बोल्न पनि सक्दिनन् । यसैले छोरीको साथलागेर बहिराहरुको कुनै कार्यक्रममा भागलिन कोरिया आएकी । आमाले आफ्नो परिचय पत्र मतिर बढाइन् ।

लक्ष्मी देवकोटा, अध्यक्ष, बहिरा तथा सुस्त श्रवण राष्ट्रिय समाज ।

कार्डमा लेखिएको पद र संस्थाले भन्दा उनको थरले मलाई आश्चर्यचकित बनायो । मैले उनीहरुको समुदाय नेवार होला भन्ने ठोकुवा नै गरेको थिएँ ।

‘आम्मामा ! तपाईहरुको थर देवकोटा पो हो ?’

दुवै हाँसे । छोरीले दोभाषेको काम गरेकी थिइन् । मैलेजति आमा–छोरीको कुरामा चाख मानेको थिएँ त्योभन्दा पनि धेरै माँले मेरो कुरामा मानेकी थिइन् भन्ने मलाई लाग्यो । मैले पनि मेरो परिचय पत्र छोरीलाई दिएँ । छोरीले आमातिर बढाइन् । आमाले केही संकेत गरिन् ।

‘हजुरको डिग्री र पद देखेर माँलाई पनि आम्मामा ! भयो रे ।’

अब हामी तीनै जना एउटै लयमा हास्यौँ । लक्ष्मीले प्रवेशिकासम्मको अध्ययन गरेकी रहिछिन् । नौ बर्षको उमेरमा विफर भएर बिरामी परेपछि उनको श्रवणशक्ति गुमेछ । त्यसपछि आफूजस्तै कान नसुन्ने बाहुन केटासँग प्रेम विवाह भएछ । केटा भने जन्मजातै श्रवणशक्तिविहीन रहेछन् । मेरो दिमागमा बिजुली तोडमा दुई प्रश्न सिर्जना भए ।

‘तपाईँ नेवारकी छोरी र बाहुनकी बुहारी । दुवै समुदायको संस्कारको राम्रो अनुभव छ । यी दुई संस्कृतिमा एकअर्कामा नपाइने राम्रा कुरा के हुन् ? जन्मजातै श्रवणशक्ति नभएका र पछि कुनै दुर्घटनामा परी नसुन्ने स्थितिमा पुगेकाहरुमा के फरक हुन्छ ?’

पहिलो प्रश्नको सामान्य उत्तर आयो । तर दोस्रो प्रश्नको उत्तरले भने अहिलेसम्म मैले कल्पना नगरेको तथ्य उजागर गरिदियो । एक पटक एक दृष्टिविहीन सहयात्रीले पनि यस्तै कहिल्यै नबिर्सने उत्तर दिएका थिए । मेरा अन्यन्य मित्र स्वर्र्गीय हिमप्रसाद गौतमले यो अन्धाको सट्टा प्रयोग गरिने आदरार्र्थी मानिएको शब्द दृष्टिविहीन पनि उपर्युक्त नभएको तर्क राखेका थिए । उनको विचारमा दृष्यविहीन शब्द उपर्युक्त हो अरे ।

‘जन्मजातै श्रवणशक्ति गुमाएकालाई बोल्दा ओठ कसरी चलाउने भन्ने सिकाउन कठिन हुन्छ ।’

लक्ष्मीले यो भन्दै गर्दा मैले उनको अनुहारमा हेरेँ । उनको हाउभाउ र ओठको चाल बोल्नेको जस्तै थियो । उनी खाली आवाजविहीन थिइन् । मैले हाम्रो कालखण्डकै प्रख्यात सरस्वती–साधिका झमक घिमिरेका बारेमा लेखेको पराजित अशक्तता शीर्षकको लेखको चर्चा गरेँ ।

यत्तिकैमा जहाजभित्र प्रवेश गर्ने समय भयो । मैले उठेर सामान मिलाएँ । वरिपरि घुमीघुमी हेर्न थालेँ । पदम काकाको उपस्थिती थिएन । लामबद्ध यात्रुको नजिकै गएर नियालेर हेरेँ । देखिन । अचम्म लाग्यो । तर, अन्यौल चिर्दै वहाँ झुल्किनुभयो । विविध कारणले गर्दा ढिलाइ हुन गएछ । मेरो दुई वर्षअघि यही विमानस्थलमा आफ्नै हुस्सुपनले गर्दा झण्डै जहाज छुटेको घटना काकालाई सुनाउँदै हामी जहाजभित्र प्रवेश गर्यौँ ।

मैले प्रवेशद्वारमा भेटिएकी हवाइ–सुन्दरीलाई सोधि हालेँ– ‘डु यु ह्याभ दि इकोनोमिस्ट म्यागाजिन ?’

‘लेट मि चेक । ह्वाट्स् योर सीट नम्बर ?’

अन्तराष्ट्रिय उडानमा धेरै यस्ता सुविधा हुन्छन् । थाइ विमान सेवामा कोट पनि राखिदिन्छन् । तर धेरै यात्रुले यस्तो विषयमा चासो लिँदैनन् । कतिपयलाई यस्तो ज्ञान र बुद्धिले यात्रा सहज हुन्छ भन्ने थाहा पनि हुँदैन ।

गज्जब भयो । त्यसले मलाई इकोनोमिस्ट र टाइम पत्रिकाका हालैका दुईं अंक ल्याएर भनी– ‘थ्याङ्क यु फर रिडिङ् सर ! हियर इज योर म्यागाजिन ।’

म दङ्ग परेँ । मैले दाहिनेतिरको झ्यालको आसन लिएँ । पदम काका पनि संयोगले त्यही लहरमा तर देब्रेतिर पर्नुभएछ । मेरा देब्रेतिरको सँगैको पहिलो सीट भने खाली नै थियो । तर दोस्रोमा एक भद्र देखिने कोरियन थिए ।

लगभग जहाज भरिएको थियो । अधिकांश जत्था कोरियनहरुकै थियो । देश आर्थिक रुपले सम्पन्न हुँदै गएपछि डुल्ने उद्देश्य लिएर विदेश जानेको पनि संख्या बढ्छ । कम्बोडिया जाँदा पूरै पर्यटकीय स्थल कोरियनहरुले भरिएको पाएको थिएँ । इन्चोनबाट काठमाडौँको सिधा उडान भएको र आँखाअघिको हुल देख्ता अब नेपाल पनि कोरियनहरुको गन्तव्य सूचीमा परेको रहेछ भन्ने लाग्यो ।

मेरो छेउमा एक दुरुस्तै कोरियन देखिने एक यात्रु बस्न आए । उनीसँगै आएका विमान परिचारकले भनेको सुनियो– ‘आइ विल ह्यान्डओभर योर पासपोर्ट इन काठमाण्डु ।’

मलाई चिसो पस्यो । के यी व्यक्ति नेपाली नै हुन त ? मस्तिष्क प्रश्नले हुँडलियो । उनी केही नबोली बसे । मैले पत्रिकामै ध्यान दिएँ । प्रवेशद्वारमा मैले फाइनान्सियल टाइम्सको पनि एक प्रति उठाएको थिएँ । मसँग प्रशस्त सामग्री थियो । सिटको भिडियोमा पनि श्रव्यदृष्यमा मन बहलाउने चिजबिज थिए । राम्रो तयारी भए जहाजमा उडानको छ घण्टा त के दश घण्टा पनि सजिलै बिताउन सकिन्छ ।

‘यति सारो त नगर्नु नि !’

उनी बर्बराए । मेरो शंकाको बादल हरायो ।

‘ए, तपाईं त नेपाली नै हुनुहुँदो रहेछ । म त दोधारमा पो थिएँ ।’

हाम्रो कुरा शुरु भयो । मलाई लाग्यो– अब कुरा समेत गर्न पाइने भयो । तर उनका एकपछि अर्को गर्दै उदेकलाग्दा अभिव्यक्ति र गतिविधि उजागर हुन थाले । उनका अनुसार तीन वर्षअघि उनी कोरियामा श्रमिकको रुपमा प्रवेश गरेका थिए । तर कम्पनीले भिसा थपका लागि पहल गरेको रहेनछ । अध्यागमन प्रहरीले समातेर नेपाल फिर्ता पठाइदिएको रहेछ । सात दिनसम्म थुनामा पनि राखेछ ।

‘सात दिन भयो चुरोट, खैनी केही पनि मुखमा राख्न नपाएको । कति बेला प्लेनबाट ओर्लेर चुरोट तानाँै भएको छ ।’ मनको वह पोखे उनले र मेरो काम र कोरिया यात्राबारे सोधे । मेरो जवाफ सुनेपछि उनले आक्रोसित अभिव्यक्ति दिए ।

‘केही हुन्छ र नेपालमा ? कोरियनले दिएको सब नेताले झ्वाम पार्छन् ।’

‘तपाईँको भिसा किन थपिदिएन त कम्पनिले ?’

‘मैले धेरै काम गरेको उनीहरुलाई मन परेनछ ।’

मैले लिएको टाइम पत्रिका मलाई नसोधि मेरो अगाडिको पत्रिका राख्ने थैलोबाट लिएर हेर्न थाले । एकछिन हेरेर आफ्नोमा राखे । त्यसमा विमान परिचारकलाई फिर्ता गर्ने टिपोट थियो । मैले पत्रिका फिर्ता मागे   र उनको परिवारका बारेमा सोधेँ ।

‘मेरो उमेर ४० भयो अहिलेसम्म बिहे भएको छैन । अब नेपाल गएर गर्ने विचार छ ।’

खाना बाँड्दै हवाइ सुन्दरीहरु आए । कोरियन परिकार विविम्पाप र कुखुराको मासु रहेछ ।

‘विविम्पाप कम्स विथ द विफ, राइट ?’

‘ओ यु नो दिस । तिनै मेरा सहयात्रीलाई हतेरेर ल्याउने विमान परिचारक बोले ।’

मैले कुखुराको मासु भएको परिकार रोजेँ ।

मेरा मित्रको भने खाना भन्दा पनि पेय पदार्थमा ध्यान गयो । उनीहरुले ह्वीच ड्रिन्क यु वान्ट ? भनेर सोध्नुअगावै उनले भने– ‘अल्कोहल !’

उनले वियर, वाइन वा ह्विस्की भन्न सकेनन् । शायद उनले यो पेय नभेटाएको पनि धेरै भएको थियो । परिचारकले वाइन राखिदियो । हामी खानामा केन्द्रित भयौँ । उनले कुरै कुरामा भने– ‘एक चोटी मलाई धेरै रक्सी लागेछ । म त सिधै ककपिटमा पुगेँछु ।’

‘यही एयरलाइन्समा ?’

‘होइन, दुबईबाट आउँदा ।’

खाना खाएर म सुतेँ । उठ्दा उनी स्क्रिनमा सोदोकु खेल्दै थिए । धन्य आफूलाई व्यस्त राख्ने केही सीप त रहेछ भन्ने लाग्यो । उनीसँग कुरा गर्नुको कुनै तुक थिएन । मैले आफूलाई इकोनिमिष्टमा नै हराएँ । कार्यस्थलमा हुने यौन उत्पीडन अर्थात् सेक्सुअल ह्यारासमेन्ट शीर्षकमा दुईवटा लेख रहेछन । भेरोनिकाले पठाएको इमोजी जस्तो यौन उत्पीडनको पनि सानो तर सांकेतिक चित्र लेखमा थियो । यस्तो चित्र मैले यसभन्दा अघि देखेको थिइनँ । अहिले सारा संसार यौन उत्पीडितहरुको म पनि भन्ने अभिव्यक्तिको प्रसारले आन्दोलित भएको छ । ह्यास ट्याग मि टु को सन्देश सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेर म पनि यौन उत्पीडनको शिकार भएकी छुु भन्ने खबर सारा दुनियाँले पत्तो पाउँछ । हलिउडका हस्तीहरुले समेत यस्तो दुव्र्यवहार गरेर कुख्याती कमाएका प्रसङ्गहरु लेखमा पढेँ । मेरो समय मज्जाले बित्यो । दुईवटा फ्रेन्डस शीर्षकका हास्य टेलिभिजनका सोहरु पनि हेरेँ ।

तर मेरो रमाइलोमा शत्रु पसे झैँ मेरा छिमेकी साथी बाधक बनेका थिए । घरीघरी केही न केही उदेकलाग्दा कुरा
निकाल्थे ।

‘ओड्ने कम्बल लैजान पाए त एउटा राम्रो सम्झनाको चिनो हुन्थ्यो । लान मिल्ला नि हगि ?’

फौजदारी अभियोगमा परेर प्रहरीले अड्डासार गर्दै ल्याएको व्यक्तिको चेत अझै नखुल्नु मेरो लागि रहस्यमय विषय भएको थियो ।

मैले सबैभन्दा अन्तिममा आइसक्रिम खाएको थिएँ । चम्चा र आइसक्रिमको बट्टा भने हवाइ सुन्दरीहरुले संकलन गर्न बाँकी थियो । मित्रले त्यसमा पनि आँखा लगाए ।

‘यो चम्चा खुसुक्क झोलामा हाल्ने कि ?’

‘मैले सोचेँ, हामी दुवै कोरिया पुगेर आएका नेपाली । सँगै बसेका छौँ । तर हैसियत ? यो के हो ? विधिको खेल ? या राज्यको दुरावस्थाको परिणाम ? वा व्यक्तिको भाग्य ?

विदेशमा केही नेपाली कामदारले गर्ने यस्ता गैरकानुनी गतिविधि र यात्रा गर्दा समेत देखाउने अमर्यादित व्यवहारले गर्दा सामान्य यात्रुलेसमेत झन्झट र  दुःखसास्ती व्योहोर्नुपरेको छ । यसपटक त्रिभुवन विमानस्थलको कोरियन एयरलाइन्सको चेक–इन काउन्टरमा मैले पनि तनाव झेल्नु पर्यो । मेरो राहदानी र टिकट हेरेपछि काउन्टरका कर्मचारीले मलाई सोधे– ‘तपाईं किन जान लाग्नु भो कोरिया ?

तपाईको प्रश्न गलत भयो । यो प्रश्नको उत्तर दिन म जरुरी ठान्दिन ।

मेरो जवाफले तिनको कन्पारो तात्यो । उनले उनका हाकिमलाई बोलाएर ल्याए ।

हामीलाई यात्रु विवरण सूची बनाउनको लागि यो प्रश्नको जबाफ आवश्यक छ ।

‘मसँग म्याद नगुज्रेको राहदानी, वैध भिसा र राम्रो श्रेणीको इकोनोमी क्लासको टिकट छ । यसको आधारमा मेरो चेक–इन हुँदैन भने म फिर्ता जान तयार छु । तर गलत प्रश्नको जवाफ म दिँदिन ।’

मैले अडान कायाम राखेँ । उनीहरु गले । पछि अध्यागमनका अधिकृतसँग बुझ्दा उनले पनि मेरो तर्कमा सही थपे ।

यसरी यो यात्राको शुरुवात र अन्त्यमा केही विधर्र्मी संस्कारसँग जुझ्नु पर्यो । तर प्रत्येक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैँ भयो । मेरा छिमेकीको सामान झ्याप पार्नेु कुबुद्धिले पनि मलाई भने एउटा विचार जन्माइदियो । मलाई इकोनोमिष्ट पत्रिका मागेर लैजान मिल्ला कि ? भन्ने प्रश्न गर्ने विचार आयो । तर मैले यसमा अलिकति बुद्धि खर्च गरेँ ।

मैले अरु यात्रुलाई अघि जान दिएँ । एक हवाइसुन्दरी नजिकै आइन् ।

‘डु यु ह्याभ एनि सोभेनियर ?’

‘वेट ए मिनट ।’

उनले एउटा एयरबस ३८० को पोष्टकार्ड दिइन् । मैले पत्रिका फिर्ता गर्ने आशयले उनीतिर बढाएँ । मैले टाइम चै फिर्ता गर्न र इकोनोमिष्ट चै सौजन्य सामाग्रीको रुपमा माग्ने विचार गरेको थिएँ ।

‘इफ यु वान्ट यु क्यान अल्सो टेक देम् ।’

‘ओ, यु आर सो काइन्ड, थ्याङ्क यु ।’

चेक–इन काउन्टरको अप्रसन्नतालाई सोभेनियर र दुई पत्रिकाको प्राप्तिले पखालिदिएको अनुभूति भयो । घर आएर फ्रान्सिस्काले पठाएको इमोजीको बारेमा थप अनुसन्धान गरेँ । कम्प्युटर विषयका ज्ञाता साथीहरुलाई समेत सोधेँ । जसरी शौचालयमा राखिएको पुरुष र महिलाको संकेत चिन्ह जसले पनि बुझ्छ, इमोजी पनि त्यस्तै लाग्यो । त्यसलाई पढ्न अक्षर नचिने पनि हुने । चित्र चिने हुने । चिसो बियरलाई पूर्व प्रेमिकाको मुटुसँग दाँजेको सन्देशमा पनि पानको पातको एक संकेत चिन्ह राखेको थियो । रातो पानको पातले प्रेम बुझाउँछ भन्ने अहिले प्राथमिक तहको नानीहरुले पनि बुझ्छन् । कोरिया यात्राले पूर्व प्रेमिकाको चिसो मन वा फन्किएकी श्रीमतीको तातेको मुड जनाउने इमोजी पनि हुन्छन् कि भनेर शोध गर्ने चाहना पलाएको छ ।


सोलको पानी प्रशोधन केन्द्रमा लेखक


इन्छन विमानस्थलको एक दृश्य

प्रतिक्रिया दिनुहोस्