प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न



परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-१७

प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीले दोश्रो चरणमा मंसिर २१ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षार्थ सिराहा, धनुषा, रौतहट र बारामा खडा भएका सुरक्षा बेशहरुको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी श्री क्षत्रीले उक्त सुरक्षा बेशहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्ती लगायत आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन भएका तयारीहरुको बिषयमा जानकारी हासिल गर्नुभएको थियो ।

सोहि अवसरमा वहाँले काठमाण्डौ—तराई/मधेश द्रुतमार्ग (Expressway) निर्माण कार्यदल गणको मकवानपुर जिल्लाको दोभान र बारा जिल्लाको निजगढस्थित नवनिर्मित बेशक्याम्पहरुको समेत समुद्घाटन गर्नुभएको थियो । उक्त दुबै कार्यक्रमहरु सम्पन्न गरी प्रधानसेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्