शिरीष कुमार जोशी, परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-२४
वामपन्थीहरुले जिते अधिनायकवाद आउँछ भन्ने काँग्रेसको प्रचार जनताले पत्याएनन् । काँग्रेसको नारा नै कमजोर भयो । वाम समीकरणको ‘स्थिरता र समृद्धि’ को नारा रुचाए जनताले । नेपालको इतिहासमा धेरै पटक वामपन्थीहरुको समग्र भोटमा बहुमत हुँदाहुँदै प्रतिनिधित्वमा बहुमत आउन सकेको थिएन । काँग्रेसले पटकपटक अवसर पाउँदा पनि स्थिर सरकार दिन नसकेकाले पनि जनताले वामशक्तिलाई रुचाएका हुन् । यस पटक जनताले वामशक्तिलाई बहुमत दिएर परीक्षण गर्न चाहेको देखिन्छ ।
तर पनि अबको बाटो यस्तै होला भन्न सकिन्न । २०७४ असोज १७ गते अप्रत्यासित रूपले सत्ता साझेदार दल कॉग्रेसलाई चक्मा दिएर चुनावी तालमेल र एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणा गरेका थिए एमाले र माओवादी केन्द्रले । नेपाली राजनीतिको इतिहासमा चमत्कारिक र अनौठो मिलन थियो त्यो । अनौठो यसकारण कि एमाले र माओवादीको सम्बन्ध अत्यन्त कटु थियो त्यतिबेलासम्म । २०७२ मा संविधान जारी भएपछि छिमेकी मुलुकले आफू अनुकूल संविधान भएन भनेर हाकाहकी असहमति जनाएर नेपाल र नेपालीलाई नाकाबन्दी मार्फत् तर्साउने र आफू अनुकूल बनाउने प्रयास गरेको थियो । संविधान संशोधन गरेर आफूले भनेअनुसारका व्यवस्था समावेश गर्न माग गरेको थियो । त्यही अमानवीय नाकाबन्दीले नेपालका केही राजनीतिक पार्टी राष्ट्रवादी, केही पार्टी राष्ट्रघाती र लम्पसारवादी कहलिएका थिए । जुन कर्मकाण्ड दुई वर्षसम्म निरन्तर चल्यो । पूरै देश दुई ध्रुवमा विभाजित भयो । इस्यु थियो संविधान संशोधन । एउटा पक्ष संशोधनको पक्षमा अर्को विपक्षमा ।
संशोधन हुनुहुँदैन भन्ने कित्ता अन्तमा आएर संसदबाट संशोधन हुन्छ भने गरौँ भनेर सहमत भयो । संशोधनको विपक्षमा रहेका सांसदहरुको बाहुल्य भएकाले संशोधन प्रस्ताव फेल भयो । त्यो मुद्दामा अचम्म त के भने गत स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भएपछि मात्र संसदमा भोटिङ भएको थियो । त्यस मुद्दाको छिनोफानो गर्दा नेकपा एमाले राष्ट्रवादी–देशभक्त पार्टी थियो भने माओवादी– काँग्रेस राष्ट्रघाती र लम्पसारवादी थिए । के राष्ट्रवाद र राष्ट्रघात यति हल्का चीज हो र ? एक चोटीको राष्ट्रघाती मानिस के रातारात राष्ट्रवादी हुन सक्छ ? राष्ट्रघातको कुनै कसी र मापदण्ड हुन्छ कि त्यसै भनिन्छ राजनीतिक जित–हारको लागि ?
यो प्रश्न गम्भीर र मननयोग्य छ । हुनसक्छ । कसरी चमत्कारिक ढङ्गले राष्ट्रघाती र राष्ट्रवादी एउटै रेलका यात्री बने वा बनाइए ? यसको रहस्य भोलि पत्ता लाग्दै जाला । नेपालको संविधान २०७२ अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भई मत गणना अन्तिम–अन्तिमतिर पुगेको छ । परिमाण हेर्दा वाम गठबन्धनको शहुमत आउने सुनिश्चित छ । के जनताले भोट दिएर जिताउँदैमा देशको कायापलट हुन्छ ? पङ्क्तिकारको विचारमा त्यो कदापि होइन । किनभने २०६४ को संविधान सभाको निर्वाचनमा जनताले गलत पार्टीलाई भोट दिएर जिताए । त्यसको दुष्परिणाम संसारमै कहीँ कतै नभएको दुई पटक संविधान सभाको निर्वाचन हाम्रै मुलुकमा भयो । जनताले गलत ठाउँमा मत हाल्दा गलत दुष्परिणाम भोगेका कैयौँ मुलुकहरु छन् ।
जनताले गलत ठाउँमा भोट हालेर गलत ब्यक्तिलाई जिताएका थुप्रै उदाहारणहरु छन् । हाम्रै छिमेकी मुलुक भारतमा सन् २०१४ मा बिहार राज्यका पूर्व रेल मन्त्री एवं विहारका मुख्यमन्त्री लालु यादव र तमिलनाडुकी मुख्यमन्त्री जयललिता सर्वोच्च आदालतले भ्रष्टाचार ठहर गरी दुईर्दुइ वर्ष जेल सजाय भोगिसकेका मानिसलाई भोट दिएर जिताएका थिए । सन् २०१७ मै पाकिस्तानको एक उपचुनावमा भ्रष्टाचारमा दोषी ठहर भई प्रधानमन्त्री पदबाट मुक्त भएका नवाज सरिफकी पत्नीलाई भारी मतले विजय गराएका थिए । हाम्रै देश नेपालमा पनि कम्तीमा ३५ प्रतिशत कुनै न कुनै आपराधिक पृष्ठभूमिका ब्यक्तिहरुले चुनाव जितेको तीतो यथार्थ छ ।
२०६४ सालमा नेपाली जनताले गलत ठाउँमा भोट हालेको हुनाले नेपाल झण्डैझण्डै जातीय राज्यतिर धकेलिएको थियो । यदि त्यो सफल हुन्थ्यो भने देश अहिले सुडान र नाइजेरियाको हालतमा हुन्थ्यो । त्यतिबेला स्थिति कतिसम्म खतरनाक थियो भने जातीय नारा लगाएर देश अर्काे बाटोमा मोडिएको थियो । ‘चुच्चे नाक काटिन्छ भित्तामा टाँसिन्छ’ भन्ने नारा नै लागेको थियो । यो पङ्क्तिकारको नाक लामो र सधँै निधारमा टिका लगाइराख्ने हुनाले नाकै काट्छन् भन्ने डरले कैयाँै दिन त काठमान्डूमा कोठामै बसेको थिएँ ।
एमाले–माओवादी गठबन्धन टिक्ला अथवा पार्टी एकीकरण होला भन्ने विषयको निरूपण हुन बाँकी नै छ । अहिले नै त्यसबारे बोलिहाल्नु अलि छिटो होला । वामपन्थीहरु इमानदार भए भने अवश्य पनि नेपाली जनताले स्थिर सरकार पाउन सक्छन् । तर एमाओवादी केन्द्रका नेता पुष्पकमल दाहालमा अस्थिरतामा रमाउने र राजनीतिमा चलखेल गर्ने प्रवृत्ति छ । उनले प्रधानमन्त्रीको महत्वाकांक्षा छोडेको देखिन्न । त्यसो हुँदा वाम गठबन्धनलाई कहींँबाट खतरा छ भने त्यो वाम गठबन्धनभित्रैका प्रमुख नेता प्रचण्डबाटै छ । खड्ग ओली र एमालेका सामु दाहालको व्यवस्थापन गर्ने चुनौती सबैभन्दा ठूलो चुनौती छ । स्थिर सरकार भताभुंग हुने खतरा पनि त्यहींबाट छ । अहिले वामपन्थीको जितलाई बधाई दिन सकिन्छ । उत्सव मनाउन पनि सकिन्छ, तर अगाडिका बाटा राजनीतिक र आर्थिक चुनौतीले भरिएका छन् ।
यो जितका कारण अर्काे समस्या भूराजनीतिमा पनि आउन सक्छ । नेपाल जस्तो सामरिक महत्व भएको देशमा यदि साँच्चिकै कम्युनिष्ट एकता भयो भने त नेपाललाई हेर्ने दृष्टिकोण विश्व राजनीतिमा नै फरक हुन सक्छ । नेपाल मामिलामा विश्व नै दुई ध्रुवमा बाँडिन सक्छ । अनि नयाँ खेल मैदान बन्न सक्छ नेपाल । जुन धरातलमा हामी बाँचेका छौँ त्यति सजिलै भनेजसरी जुनसुकैको दुई तिहाई बहुमत आए पनि नेपाल चलाउन सजिलो भने छैन ।
दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएपछि नेपाली काँग्रेस र एमालेबीच जून १४ बुँदे सहमति भई सुशील कोइराला ज्यू को नेतृत्वमा सरकार बनेको थियो, संविधान जारी काँग्रेसको नेतिृत्वमा गर्ने र संविधान कार्यान्वयन एमालेको नेतृत्वमा गर्ने भन्ने भद्र सहमतिबाट काँग्रेस रातारात खै कुन शक्तिको दबाबमा पछि हट्यो । यसको समीक्षा काँग्रेसले भोलि पर्ला । आज काँग्रेसले देशभरी भोगेको पराजयमा त्यो भूल नै मुख्य कारण देखिन सक्छ । गगन थापाले त सार्वजनिक संचार माध्यमबाट त्यो हाम्रो भुल थियो भनिसके । यदि काँग्रेसले त्यो भूल नगरेको भए देश फरक दिशामा जान्थ्यो । ती दुइटै पार्टीहरुलाई अन्तराष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्थ्यो तर अब त यही वाम गठबन्धन टिकिरह्यो भने विश्व राजनीति नै दुई धारमा बाँडिने प्रायः निश्चित जस्तै छ ।
माओवादी केन्द्रका नेता प्रचण्डको अस्थिर चरित्र हेर्दा हिजो माओवादी पार्टी र उसलाई छहारी दिएर पुष्पित र पल्लवित गर्ने शक्ति त्यतिकै माओवादी पार्टीलाई भनेजसरी चल्न दिने छैनन् । किनभने पश्चिमा देशहरूको मिसन पूरा गर्न नेपाललाई धर्म निरपेक्ष राष्ट्र उनकै पहलमा भएको हो । भोलिका दिनमा धर्म निरपेक्ष बनाउने शक्तिको मिसन पूरा नभए त्यसमा पनि उनको जीवन खतरामा छ । यो वा त्यो ढङ्गले भोलि नेपाल खेल मैदान बन्ने पक्का जस्तै छ । नेपाली जनताले वाम गठबन्धन भन्दा पनि एउटै कम्युनिष्ट पार्टी निर्माण होस भनेर मत दिए जस्तो लाग्छ मलाई । तर यी दुइटै पार्टीको कुनै हालातमा पनि एकता भने भोलि हुने छैन । माओवादी केंद्र भित्रका थुप्रै नेताहरु वाम गठबन्धन बनेको दिन नै ब्लडप्रेसर भो भनी रोइरहेका थिए । अहिले ती नेताहरु चुपचाप छन् । अबको दश–पन्ध्र दिनमै ती नेताहरु विष बनेर निस्कने छन् जुन आँधी प्रचण्डले थेग्न सक्ने छैनन् ।
पार्टीको नाम, झण्डा, सिद्धान्त, भाषण, उत्तरतिरको छिमेकीसँग मिल्ने भए पनि यिनीहरूको व्यवहार, हिँडाई, लवाई, खवाई, बसाई बिलासी जीवन र अरु चीजहरु हेर्दा महाँ पूँजीवादी देशका नवधनाढ्यहरूको जस्तै छ । नामले उत्तरतिरको छिमेकीसँग मिल्ने भए पनि दक्षिणको छिमेकीको लगानी धेरै छ । सिद्धान्तको आधारमा थोरै सदाशयता, सहयोग र समर्थन त यसले प्राप्त गर्ला तर त्यतिले मात्रै शासन सञ्चालन गर्न सम्भव हुँदैन ।
अब नेपालका मूलधारका कम्युनिष्ट पार्टीहरुले झण्डा, पार्टीको सिद्धान्त र नाम फेर्नुपर्ने बेला आएको छ । पार्टीको पुच्छरमा लगाएको माक्र्सवाद, लेनिनवाद, माओवाद, हटाउनु पर्छ । नेपाली जनतालाई गुमरहमा राख्न मिल्दैन । सिद्धान्तमा माक्र्सवाद,लेनिनवाद, माओवादी राख्ने चुनावमा भोट माग्न जनताको घरमा जाने, चुनाव जित्ने सांसद बन्ने लोकतान्त्रिक पद्दति मान्ने, यो सुहाउँदैन । अब सिद्धान्त र पार्टीको नाम परिवर्तन गर्नुपर्छ ।
दक्षिणको छिमेकी वाम गठबन्धनको जितलाई टुलुटुलु हेरेर बस्ला भन्ने नचिताए हुन्छ । किन भने यी नवधनाढ्यहरुको जीवनमा विलाशिता छर्ने काम उसैले नै गरेको छ । म विश्वस्त छु यी गठबन्धनकारीहरु दक्षिणको पञ्जाबाट मुक्त भने हुने छैनन् ऊ पनि आफ्नो स्वार्थका लागि अन्तिम लडार्इं लड्नेछ । तसर्थ भोलिको सरकारलाई दक्षिणको व्यवस्थापन ठूलो चुनौती हुनेछ ।
जनतामा जुन समृद्धिको आशा पलाएको छ, त्यसलाई प्रारम्भिक दिनबाटै ‘डेलिभरी’ गर्न सकिएन भने आउने सरकारको चुनौती तिनै जनताबाट आउनेछ । संविधानले परिकल्पना गरेको तीन तहको जुन राजनीतिक तह छन्, तिनको व्यवस्थापन, साधन–स्रोतको बाँडफाँट र ती क्षेत्रमा गर्नुपर्ने प्रशासकीय स्थापना पनि उत्तिकै चुनौतीले भरिएका छन् । प्रादेशिक राजधानी, नाम र प्रादेशिक गभर्नरका कुरा चुनौतीपूर्ण नै छन् । तर पनि यी चुनौतीका बीच सम्भावना के छ भने जनताको व्यापक समर्थन र भरोसाबाट भावी सरकार बन्दैछ । जनताको समर्थन पाइसकेपछि गर्न नसक्ने चुनौती केही हुँदैन । आशा गरौं, भावी दिन नेपाल र नेपाली जनताको समृद्धिका दिन हुनेछन् । देशले नयाँ बाटो र गन्तब्य लिनेछ ।