रेखा थापालाई ५ प्रश्न : ‘रुद्रप्रिया’



परिवर्तन खबर, काठमाण्डौ २०७४-०७-०१

८ वर्षपछि पर्दामा फर्किएको चर्चित जोडी रेखा थापा र आर्यन सिग्देल अभिनित नयाँ फिल्म ‘रुद्रप्रिया’ कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । गीत-संगीत र ट्रेलरले बजारमा गज्जबको चर्चा बटुलिरहेको अवस्थामा ‘रुद्रप्रिया’ सफल हुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ । सुदिप बबी भूपाल सिंहले निर्देशन गरेको यो फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन् ।
फिल्मको सावर्जनिक ट्रेलरमा नायिका रेखा थापाले बोलेको ‘मर्न सजिलो बाँच्न गाह्रो हुँदो रै’छ’ संवाद अहिले दर्शकको जिब्रोमा राम्रै झुण्डिरहेको छ । फिल्मको फस्ट लुक पोष्टर र ट्रेलरमा रेखाले आधा अनुहार छोपेपछि त झन फिल्मप्रति दर्शकको उत्सुकता बढ्दै गएको छ । आखिर कस्तो फिल्म हो ‘रुद्रप्रिया’ ? नायिका रेखा थापासँग फिल्मीखबर डटकम ५ प्रश्न सोधेको छ ।
रेखा थापालाई ५ प्रश्न :
१. ‘रुद्रप्रिया’ले के सिकाउँछ ? 
गम्भीर विषयवस्तुमा फिल्म निर्माण भएको छ । समाजमा धेरै कुराहरु घटिरहेका हुन्छन्, राम्रा र नराम्रा । त्यही कथावस्तुमा फिल्म निर्माण भएको हो । फिल्मले दर्शकलाई के सिकाउँछ भन्दापनि विचार बोकेको फिल्म हो ‘रुद्रप्रिया’ । यो महिला प्रधान फिल्म हो । यसअघि मेरा फिल्मले महिला भनेको निडर, सशक्त र लडाकु हुनु पर्छ भन्थ्यो । लगभग अहिले महिलाहरु लडाकु भैसकेका छन् । यसपटक ‘रुद्रप्रिया’ले समाजका नराम्रा मानिसलाई दिने सजाय फरक छ ।
२. रेखा थापाका लागि ‘रुद्रप्रिया’ हिट हुन कत्तिको आवश्यक छ ? 
मलाई फिल्म हिट र फल्पको जरुरी छैन । मैले जुन विषयवस्तु उठाएको छु त्यो विषयवस्तु हलसम्म लागेर दर्शकमाझ पुग्नु नै म सफल भएको मान्छु । मेरो लागि फिल्म हलमा लाग्नु नै सुपरहिट । दर्शकको संख्यामा जसरी हिट र फल्प भन्ने गरिन्छ मलाई आश छ रेखा फिल्मसले निर्माण गरेका फिल्महरु दर्शकहरुले रुचाउँदै आउनु भएको छ र ‘रुद्रप्रिया’लाई पनि मन पराउनु हुनेछ ।
३. ८ वर्षमा आर्यन सिग्देलमा के फरक पाउनुभयो ? 
मैले ८ वर्ष अगाडि र अहिलेको आर्यनमा केही फरक पाइनँ । जस्तो पहिला अहिले पनि उस्तै छ आर्यन ।
४. तपाईले आधा अनुहार चाहिँ किन छोप्नुभएको ? 
फिल्म रिलिज हुन अब ९ दिन मात्र बाँकी छ । मैले आधा अनुहार किन छोपे भन्ने रहस्य फिल्म हेरेपछि थाहा हुन्छ । यो समाजमा दुई रुपका मानिसहरु धेरै पाइन्छन् । बाहिर एकथरी र भित्र अर्कोथरी । त्यसको एउटा संकेत पनि हो मैले आधा अनुहार छोप्नुको कारण । महिलाको दुई रुप हुन्छ एउटा समाजसँग जुध्ने र समाजभित्रै उत्पीडनमा परेर बस्ने अर्को रुप । कुन चाहिँ रुपलाई बढी प्रस्पोटन गर्ने र कुन चाहिँ रुप लिएर अगाडि बढ्ने । मैले आधा अनुहार छोप्नुको रहस्य यसैभित्र छ ।
५. ‘रुद्रप्रिया’को हिरो को हो ? 
रुद्रप्रिया नै हो ।

प्रतिक्रिया दिनुहोस्