जुम्ला, १२ पुस (रासस) : कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।
अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ । जाडोका कारण तल झर्नेहरुको पनि त्यत्तिकै ओइरो छ ।
हवाईजहाज मात्र नभई गाडीमा दक्षिण झर्नेहरुको भीड छ । अत्यधिक चिसोबाट वृद्ध, अशक्त, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यसमा पनि गरिब तथा विपन्न परिवारका सदस्य बढी मर्कामा परेका छन् ।
चिसोले निमोनिया, दम र ज्वरोका बिरामी बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल निर्देशक डा पूजन रोकायाले बताउनुभयो । अस्पतालमा आउने बिरामीलगायत सबैलाई बाक्लो कपडा लगाएर न्यानो राख्न र झोलिलो पदार्थ खान सुझाव दिइएको पनि उहाँले बताउनुभयो ।
छोटो दिन र लामो जाडो रातले गर्दा पानी जम्ने, पाइप फुट्ने, धारा भाँचिने र बन्द हुँदा खानेपानीको समस्या भएको छ । चिसोले गर्दा आगो बालेर व्यापारिक कारोबार भइरहेको छ । जाडोले व्यापार घटेको स्थानीय व्यापारी कल्से रावतले बताउनुभयो । थोरै भए पनि व्यापार होस् भन्ने आशले पसल खोलिन्छ तर आजभोलि ग्राहक नआउँदा चिसो खानेबाहेक अरु केही छैन, उहाँले भन्नुभयो ।
गाडी ट्याङ्कीको इन्धन जम्दा गाडी सञ्चालन गर्न समेत समस्या हुने गरेको देखिन्छ । हिमपात नहुँदा खेती किसानी गर्न कर्णालीवासीलाई चिन्तित बनाएको छ । बेलैमा पानी नपरे कृषकको हिउँदेबालीको उत्पादन घट्ने वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले बताउनुभयो ।
हिजोआज जुम्लामा माइनस चार डिग्री सेल्सियस तापक्रम रहेको जनाएको छ ।