सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान



काठमाडौँ, १२ पुस (रासस) :  विधुत खरिद सम्झौता नविकरण गर्न नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विधुत खरिद सम्झौता नवीकरण गर्ने उद्देश्यका साथ कार्यकारी निर्देशकसहितको टोली भारत प्रस्थान गरेको जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा कार्यकारी निर्देशक घिसिङ र प्रवक्ता अधिकारी सम्मिलित हुनुहुन्छ ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता नवीकरण गर्न आज बिहानै उच्चस्तरीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

भारतकोे विधुत व्यापारको नोडल एजेन्सी विधुत व्यापार निगम (एनभिभीएन) लिमिटेडका अधिकारीसँग घिसिङ नेतृत्वको टोलीले छलफल गर्ने र सम्झौता नवीकरण गर्ने कार्यसूची रहेको छ ।

एनभिभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा स्पष्ट जवाफ नआएको र सम्झौताको म्याद सकिन लागेपछि थप छलफल आवश्यक देखिएको प्राधिकरणले जनाएको
छ ।

ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिँदैछ । ढल्केबर—मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट पाँच रुपैयाँ ७६ पैसाअर्थात ३.६० भारुमा आयात भइरहेको छ ।

भारतबाट विधुत उपलब्ध हुन नसकेमा विधुत भार कटौती हुने आशंका बढेको भन्दै प्राधिकरणले दिल्ली बैठकलाई महत्वपूर्ण बैठकका रुपमा लिएको छ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विधुत खरिद गर्ने योजना बनाएको छ । विधुत प्रवाहमा सहजता ल्याउनका लागिसमेत थप विधुत जरुरी रहेको बताइएको छ ।

तीन महिना पहिले प्राधिकरण र एनभिभीएनबीच भएको सम्झौता नवीकरण गरेर विधुत आयातमा सहजता ल्याउने लक्ष्य राखिएको त्रिभुवन विमानस्थलबाट प्रवक्ता अधिकारीले रासससँग भन्नुभयो “दिल्लीमा विधुत आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विषयमा छलफल हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्