काठमाडौँ, पुस १६, २०७४ : नेकपा एमाले सिन्धुली – काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली- संघीय उपत्यका जनसम्पर्क मञ्चले सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको छ । मंचद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड प्रमुख अतिथि र एमाले सचिव योगेश भट्टराई विशेष अतिथिको रुपमा उपस्थित थिए ।
सम्बोधनका क्रममा यागेशले भने ‘वामतालमेल गरेर शिर्ष नेताहरुले ९० प्रतिशत अंक प्राप्त गरिसक्नु भएको छ । अब पार्टी एकता घोषणा गर्नुहोस्, सयमा १०० प्रतिशत अंक तपाईहरुले प्राप्त गर्नु हुनेछ । ‘
प्रमुख अतिथी प्रचण्डले भने ‘सरकार गठन अघि नै पार्टी एकता हुन्छ । अब पार्टी एकता कुनै शक्तिले रोक्न सक्दैन ।’ शहीद ऋषिराज देवकोटा ‘आजाद’ बाट आफुले विधार्थीकालमा प्रशिक्षण लिने अवसर पाएको समेत प्रचण्डले सुनाए । ‘सिन्धुली कम्युनिष्ट इतिहासको स्रोत हो भन्दै सिन्धुलीबाट निर्वाचितलाई नयाँ सरकारमा उचित स्थान दिने समेत बताए ।
प्रमुख अतिथि प्रचण्ड र विशेष अतिथि योगेशले सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेल र गणेशकुमार पहाडी, प्रदेशसभा सदस्य प्रदिप कटुवाल,राजन दाहाल, बुद्धिमान माझी र बिनोद खड्कालाई सम्मान पत्रबाट सम्मान गरेका थिए । सम्मानित सांसदहरुले मतदातालाई धन्यवाद दिँदै आफूले चुनावका बेला गरेका बाचा पूरा गर्ने प्रतिबद्धता गरेका थिए भने पार्टी जिल्ला इञ्चार्जहरु माओवादी केन्द्रका विषमलाल अधिकारी दनुवार र एमालेका कमलजंग राईले पार्टीको तर्फबाट बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षाविद् डा. सुरेशराज शर्माले पनि बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रम नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अमर थापामगरको अध्यक्षता, नेकपा माओवादी केन्द्र सिन्धुली- संघीय उपत्यका जनसम्पर्क मञ्चका अध्यक्ष रुद्रबहादुर थिङको संचालन, ऋषि गड्तौलाको स्वागतबाट भएको थियो । कार्यक्रममा गायक फुलमान बम्जनले सिन्धुलीको एतिहासिकतामा आधारित तामाङ सेलो भाकामा ‘माने पामे हम’ बोलको गीत समेत गायका थिए ।
फोटो : मेघराज पहाडी