शीतलहरले जनजीवन प्रभावित



धनगढी, १७ पुस : बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने जाडोले कैलालीको जनजीवन प्रभावित भएको छ ।

शीतलहरसँगै बढेको जाडोले विद्यालयका छात्रछात्रा, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्याएको छ । जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । शहरी तथा ग्रामीण क्षेत्रका कतिपय ठाउँमा भने सार्वजनिकस्थलमा आगो बालेर ताप्ने गरिएको छ । शीतलहरका कारण आलु, गोलभेँडालगायतको तरकारी बालीमा डढुवा रोगको समस्या देखिएपछि किसान चिन्तित बनेका छन् ।

जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वासप्रश्वासलगायतका बिरामीको चाप स्वास्थ्य संस्थामा बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । बाक्लो हुस्सु लाग्ने गरेका कारण धनगढी विमानस्थलको हवाई उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्