काठमाडौँ, पुस १९, २०७४ : चीन र कतिपय युरोपियन देशहरुमा त मैदामा मिसाइने केमिकलको प्रयोग निषेध नै गरिएको छ । किनकी मैदाबाट बनेका परिकारहरु हेर्दा आकर्षक र स्वादिलो भए पनि यसले हाम्रो स्वास्थ्यमा हानी पुर्याउँछ । मैदा निकाल्ने क्रममा त्यसमा भएको सबै फाइबर निकालिएको हुन्छ । त्यस्तै, यसलाई बेञ्जाइल पेरोक्साइड व्लीच गरेर सफा सेतो रंग दिइन्छ । त्यसो त मैदालाई दैनिक प्रयोग गर्दा यसको असर तुरुन्तै देखिँदैन तर लामो समयसम्म प्रयोग गरेपछि भने हाम्रो शरीरमा यसका साइड इफेक्ट्स देखिन सुरु हुन्छ । यस्ता साइड इफेक्ट्सले दीर्घकालीन रुपमै हाम्रो शरीरमा असर पुर्याउने पोषणविद डा. भुपाल बानियाँ बताउँछन् ।
मैदाका असर
हामी सबैको भान्छामा मैदाले बनेका परिकार पाइनु सामान्य कुरा हो । पुरी, सेल, दुनोट मःमः वा अन्य पिठोबाट बन्ने परिकारमा हामी प्रायः मैदाकै प्रयोग बढी गर्छौं । चाडपर्व नजिकिएसँगै मैदाको किनबेच बढी हुन्छ । तर, तपाईंलाई थाहा छ, मैदा हाम्रो शरीरका लागि कत्तिको हानिकारक छ ? यसले हाम्रो शरीरलाई कतिसम्म असर पुर्याउँछ ? आउनुस्, हामी पनि जानौं, मैदाले हाम्रो स्वास्थ्यमा पार्न सक्ने असरका बारेमा ।
मुटुको समस्या
जब ब्लडसुगरको मात्रा बढ्छ, तब रगतमा ग्लुकोज जम्न थाल्छ । यसले शरीरमा केमिकल्स रियाक्सन हुन्छ, जसले गर्दा कैटरैक्ट तथा मुटुको समस्या उब्जन्छ । त्यस्तै, मैदामा डाल्डा मिसाएको खण्डमा यो जनावरको बोसो भन्दा खराब हुन्छ, जसलाई सामान्य शब्दमा ‘ट्रान्सफ्याट’ भनिन्छ । यसले राम्रो कोलेस्टोरल (एचडीएल)लाई घटाएर खराब कोलेस्ट्रोरल (एलडीएल) को मात्रालाई बढाउँछ । जसले गर्दा मुटुका भल्भमा लेउजस्तो बस्दछ । यसले मुटुमा रोग लाग्नुका साथै हृदयघातको सम्भावनालाई बढाउँछ । विशेषगरी, मैदाबाट बन्ने सेल, पुरी, समोसा, रोटी, मम, डोनट लगायतका परिकारमा डाल्डाको प्रयोग गर्नाले शरीरका लागि घातक सावित हुन्छ ।
पेटको समस्या
मैदाबाट बनेका परिकार खानाले पेटमा पनि समस्या बढाउँछ । मैदाबाट बनेका धेरै परिकार खानाले आन्द्राको भित्तामा एकप्रकारको लेसिलो तह जम्दै जान्छ । जसका कारण शरीरमा पाचन प्रक्रियालाई कमजोर बनाउँछ । त्यतिमात्रै होइन कब्जियतको समस्या पनि बढ्छ । पेटको समस्याले मानिस बारम्बार विरामी भइरहन्छ । त्यसैले चिकित्सकहरुले चोकर पनि मिसिएको गहुँको पिठोका परिकार खान सुझाव दिने गर्दछन् ।
हड्डी कमजोर
गहुँलाई पेलेर मैदा बनाउँदा त्यसमा रहेका प्रोटिन, मिनरल्सको मात्रा समाप्त हुन्छ र त्यसमा प्रयोग भएका एसिडिक तत्वमात्र बाँकी रहन्छ । जसले हड्डीमा भएका क्याल्सियमलाई बाहिर निकाल्छ र हड्डीलाई कमजोर बनाउँछ । त्यसैले दीर्घजीवी हुनुछ भने मैदाका परिकार खान चटक्कै छाड्नु नै उत्तम हुन्छ ।
फुड एलर्जी
मैदामा ग्लूटन हुुन्छ, जसले मानिसहरुमा खानाको एलर्जी हुने सम्भावना बढाउँछ । ग्लूटनको एलर्जी सबै मानिसलाई एकै प्रकारले हुन्छ भन्ने छैन । कसैकसैलाई यसले असर नपार्न पनि सक्छ । तर जसलाई असर गर्छ, उसलाई खानाको एलर्जी हुने सम्भावना रहन्छ । त्यसो त मैदामा अधिक मात्रा ग्लूटन पाइन्छ, जसले खानालाई लचिलो बनउनुका साथै नरम बनाएर टेक्सचर प्रदान गर्छ । जबकी गुहँको पिठोमा धेरै मात्रामा फाइबर तथा प्रोटिन पाइने गर्छ ।
मोटोपना बढाउँछ
अधिक मात्रामा मैदा खानाले मानिसको तौल बढ्न थाल्छ, जसले गर्दा तपाई मोटो हुन थाल्नु हुन्छ । यतिमात्र होइन मैदाको अधिक प्रयोगले कोलेस्टोरलको मात्रा तथा रगतमा ट्राइग्लिसराइड समेत बढ्छ । त्यसैले यदी तपाईं तौल घटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो खानाबाट मैदालाई हटाउनु नै उचित हुन्छ ।