‘कान्छी’को शिर्ष गीत रिलिज



काठमाडौँ, २१ पुस २०७४ : प्रतिक्षित फिल्म कान्छी को शीर्ष गीत यो दिल दाऊमा लाउने बोलको गीत सार्वजनिक गरिएको छ । चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत, दयाराम पाण्डेको शब्द र धर्मेन्द्र सेवानको स्वर रहेको गीतको भिडियोमा नायिका श्वेता खड्का र नायक दयाहाङ राई फिचरिङ छन् । बसन्त श्रेष्ठको कोरियोग्राफीमा तयार भएको भिडियोमा यो जोडीको आकर्षक केमेष्ट्री देखिन्छ ।

मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्