मुस्कानसहितको सेवा



पुस २२, २०७४

डा. प्रकाश बुढाथोकी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले धुलिखेलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५८ औं वार्षिकोत्सवमा बिरामीको आधा रोग डाक्टरको बोली र व्यवहारबाट निको हुने भएकाले चिकित्सकहरूलाई मुस्कानसहितको सेवा दिन आग्रह गरेकी थिइन् ।

के कार्यपालिका, के न्यायपालिका, के संवैधानिक निकाय तथा प्रहरी, सेना, निजामती सेवा प्रमुख र निर्वाचित राजनेता सबैले मुस्कानसहितको सेवा प्रदान गर्ने बताउँछन् तर व्यवहारमा ?

बर्लिनस्थित इन्स्टिच्युट अफ ह्युमन बायोलोजी एन्ड एन्थ्रोपोलोजीका निर्देशक कार्सटेनका अनुसार मानव मस्तिष्कलाई प्रभाव पार्ने हाँसोले श्वासप्रश्वास तथा मांसपेशी विशेषत: अनुहारका प्रणाली बढी सक्रिय हुन्छन् । यसले आवश्यक सकारात्मक हर्माेन निष्कासन हुन्छन् । हाँसो एक प्रकारको एरोबिक व्यायाम हो जसले पेट र छातीका मांसपेशीलाई कसरतका साथै शरीरको अक्सिजन प्रयोग गर्ने क्षमतालाई बढाउँछ ।

प्राय: हाँसिरहने मानिसका कोषमा सामान्यमा भन्दा बढी अक्सिजन प्रवाह हुन्छ जसले विकार वस्तु धेरै र छिटो बाहिर निस्कन्छ, मुटुको धड्कन र रक्तसञ्चार उत्तेजित भई मांसपेशी बलियो रहन्छ । हाँसिरहने मस्तिष्कले एड्रेनालिन र कोर्टिसोलजस्ता तनाव घटाउने हर्माेन निकाल्छ, मानसिक तनावबाट पीडित हुने सम्भावना रहँदैन । इन्डोर्फिन, सेरोटोनिन र न्युरोट्रान्समिटरहरूले शरीरमा आनन्द र खुसी सञ्चार गर्छ । हाँसोले मानिसलाई फुर्तिलो, सिर्जनशील, सहयोगी र सह्दयीसमेत बनाउँछ ।

लोमा लिन्डा विश्वविद्यालय, क्यालिफोर्नियाका डा. ली वर्क र डा. स्टान्ली टानले हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा सकारात्मक असर पर्ने कुरा पत्ता लगाएका छन् । हाँसोले रक्तचाप र तनाव बढाउने हर्माेन घटाउँछ, रोगको संक्रमणसँग लड्ने टी कोष रत्तकोषिका, गामा इन्टरफेरोन तथा विटा कोषिकाजस्ता प्रोटिन वृद्धि गराउनुका साथै शरीरबाट निस्कने प्राकृतिक दुखाइ कम गर्ने रस निकाल्छ । हाँसिरहेका तथा हाँसोको अपेक्षा गरिरहेकामा परीक्षाको पूरै समयभित्र पनिइपिनेर्फिन, डोपामिन कम रहन्छ ।

मुस्कान र हाँसो सर्वमान्य भाषा हुन्, जुन सबै भाषी, सबै उमेरका तथा केही जनावरले समेत बुझ्न सक्छन् । मानसिक तनाव, रिस, घमन्ड, भोक, पीर तथा चिन्तालाई कम गर्ने तथा नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । ‘शोकलाई मुस्कानले मिच्छ अनि मुस्कानले नै रिसलाई पनि जित्छ ।’ मुस्कान भनेको जिन्दगीले जिन्दगीलाई गाँस्ने पुल हो । साहित्यले मुस्कानलाई ‘ओछ्यान नलगाएको सुहाग’ भन्छ भने लेखकलाई सिर्जनाको स्रोत । मनोविज्ञानअनुसार वास्तविक हाँसो आन्तरिक अनुभूति हो र सुखमै मात्र आउँछ । वास्तविक हाँसोले आफू मात्र होइन, अरूलाई पनि आनन्द प्रदान गर्छ ।

चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घट्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर हुन्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमाभाव र सहजता विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति र मनोबल बढ्छ । त्यस्तै प्रेमीप्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई पगालिदिन्छ र अगाध प्रेममा नाफा गाँसिदिन्छ । मुस्काउँदा अनुहारका १३ मांसपेशी प्रयोग हुन्छन् भने मुख अँध्यारो पारी झोक्रिँदा ६४ मांसपेशी उपयोग हुन्छन् । हाँस्दाभन्दा रिसाउँदा वा चिन्तित हुँदा ज्यादा जोड पर्छ, धेरै मांसपेशी प्रयोग हुन्छन्, धेरै शक्ति खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानिनोक्सानी पुर्‍याउँछ ।

हाँसोले तनाव घटाउने, रक्तचाप घटाउने सकारात्मक सोचाइ, आत्मरक्षा, मस्तिष्कको कार्यशक्तिमा सुधार, प्रतिरोधात्मक क्षमता बढाउने, हृदयलाई बचावट गर्ने, मुटुमा सुप्रभाव पार्ने, आराम तथा शान्त महसुस हुने, आफूलाई राम्रो, सफल तथा सहयोगी महसुस हुने र व्यक्तिगत एवं सामाजिक सम्बन्ध तथा भावनामा सकारात्मक प्रभाव पार्छ । यसबारे भारतको एम्स अस्पतालले अनुसन्धान नै गरेको छ ।

डिप्रेसन र दुखाइमा ध्यान हटाउन हासो उपचार ज्यादै उपयोग सिद्ध भएको छ । दैनिक १० पटकको ठूलो स्वरको हाँसोले व्यक्तिलाई स्वस्थ बनाउँछ भन्ने खोज पनि आएका छन् । औषधिका रूपमा यसको प्रयोग भइरहेको छ र अनेक खोज अनुसन्धान पनि जारी छन् ।

कानमा झुम्का, टप लगाउने पुरानो चलन विकसित हुँदै नाइटो छेडेर झुम्का झुन्ड्याउने, आँखीभौंमा टप लगाउने, जिब्रोमा गहना लगाउने फेसन व्यापक भइरहेका बेला फेसन विधामा दाँतमा हिरा जड्ने फेसनले पनि नेपालमा विशेषत: किशोरावस्थामा स्थान पाएको छ । यसमा हिरा नभई हिराको स्टोन प्रयोग गरिन्छ र यो झर्दै नझर्ने वा झरेर निल्दा मानिस मर्ने हुँदैन । स्वर्ण मुस्कानमा परिवारलाई नढाँट्ने, आफूलाई आवश्यक परेका बेला सुन बेच्न पाइने र नबेचुन्जेल दाँतको शृंगार हुने गथ्र्याे भने हिरक मुस्कान सौन्दर्यका लागि मात्र हो ।

डा. बुढाथोकी वीर अस्पतालका डेन्टल सर्जन हुन्

प्रतिक्रिया दिनुहोस्