काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्री, चिसो अझै दुई दिन स्थिर



काठमाडौँ, २३ पुस २०७४ : काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको  तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो ।

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री) रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ ।  सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्