माघ १ देखि साताव्यापी राष्ट्रिय योग दिवस मनाइने



काठमाडौँ, २५ पुस २०७४ : तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर बनाइने  भएको छ । शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो ।   समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।

सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो । विभिन्न संघ संस्थाको सहयोगमा पहिलो दिन प्रभातफेरी र साताको अन्यतिर योगसम्बन्धी अन्तक्र्रिया गर्ने योग दिवस मूल समारोह समितिले जनाएको छ । तेस्रो योग दिवसका लागि नारा तय गर्न डा हरिप्रसाद पोखरेल र अन्तक्र्रिया सञ्चालनका लागि डा चिन्तामणि योगीको  संयोजकत्वमा तथा प्रभातफेरिका लागि ब्रह्मकुमारी राज योग सेवा केन्द्रका प्रतिनिधिको  सयोजकत्वमा  उपसमिति गठन गरिएको छ ।

छलफलमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वीय दर्शनबाट अभिप्रेरित हामी नेपालीले योगलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पाउनु आफैँमा गौरवको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हाम्रै ऋषिमुनिले विगतमा योग साधना गरेकाले  हामीले पुनर्जीवन दिने प्रयास मात्र गरेका हौँ, योग साधनाले मानिसलाई शान्त र स्वस्थ्य बनाउन  योगदान पु¥याउँछ ।”

मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पूर्वीय दर्शनको अभिन्न अंगका रुपमा रहेको योग साधनालाई मानिसका जीवनशैली बनाउने प्रयासले सुखको अनुभूति दिलाउने छ भन्नुभयो ।

छलफलमा  सहभागी वक्ताले योगलाई आशन र प्रणायममा मात्र सीमित नराखेर शान्ति, समृद्धि र विकाससग जोडेर हेर्न सुझाव दिएका थिए ।

उनीहरूले योगलाई विद्यालयको प्राथमिकतहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्न, योग सधैका लागि सवैका लागि भन्ने सन्देश प्रवाह गर्न  आवश्यक रहेको धारणा व्यक्त पनि गरे  । सदाचार, सत्य, धर्म, ध्यानसंगै सिकाइने योग शिक्षा विस्तार गरौँ, जिल्ला जिल्लामा योग दिवस मनाऔँ भन्ने कार्यक्रम बनाउनु आवश्यक रहेकामा पनि जोड दिइएको थियो  । रासस

प्रतिक्रिया दिनुहोस्