रोटरी क्लब अफ धनगढीले ‘डिनर इन दि डार्क’ आयोजना गर्दै



कैलाली, २५ पुस २०७४ : नेत्रहीनहरुको सहयोगार्थ रोटरी क्लब अफ धनगढीले नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’(अँध्यारोमा रात्रिभोज) कार्यक्रम गर्दैछ । आँखाको ज्योतिबिना संघर्षमय जीवन बाँचिरहनुभएका व्यक्तिहरुलाई दया नभई माया, स्नेह र सहयोगको खाँचो छ भन्ने सन्देश दिन यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको रोटरी क्लब अफ धनगढीका अध्यक्ष दीर्घराज उपाध्यायले जानकारी दिनुभयो ।

दिन पनि रातसरह अन्धकार भएकाहरुलाई खानाको जोहो गर्न कति कठिनाइ हुन्छ भन्ने महसुस समाजका विभिन्न वर्ग र पक्षलाई गराउन रात्रिभोजको आयोजना गरिएको रोटरी क्लब अफ धनगढीका कार्यक्रम संयोजक डा गणेशबहादुर सिंहले बताउनुभयो ।

यस कार्यक्रमका लागि अन्धकार हलमा टेबुल राखिनेछन् । सोही टेबुलमा विभिन्न खानाका परिकार राखिनेछन् । जहाँ प्रकाश हुने छैन । सहभागी व्यक्तिले त्यही अन्धकारमा आफ्नो भागको खाना खानु पर्नेछ भने खाना खाने समयावधि ३० मिनेट मात्र छुट्याइएको छ ।

नेत्रहीनलाई सहयोग गर्न उत्प्रेरित गर्ने यो कार्यक्रमको उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस्