स्वस्थ रहनका लागि भोजनका  १३ तरिका



१. हामीले पेट भर्नका लागि मात्रै खाने बानी गर्नु हुँदैन । त्यसकारण जस्तो पायो त्यस्तै परिकार खानु हुँदैन । हामीले खाएको खानाले मन, शरीर र संस्कारलाई बनाउँछ । खानालाई गलत तरिकाले सेवन गर्नु हुँदैन ।

२. मौसम, शरीर, भूगोल र आयुअनुसार खानेकुराको निर्धारण गरौँ । सबैले एउटै प्रकारको खाना खानु हुँदैन । श्रम गर्नेले अलि वजनदार खाना खानुपर्छ भने श्रम नगर्नेले हलुका खानेकुरा खानुपर्छ ।

३. बिहान उठ्नेबित्तिकै खाली पेटमा मुख कुल्ला नगरी मुखमा भएको र्यालसहित निल्ने गरी पानी पिउनुपर्छ । यसले मानिसलाई बल, स्वास्थ्य, आरोज्ञ, शीतलता सबै प्रदान गर्छ । त्यसपछि मात्रै शौचालय, व्यायाम आदिमा जाने गरौँ ।

४. पूर्वीय दर्शनअनुसार स्वस्थ हुनलाई बिहान टन्नै खाने, दिउँसो कम खाने र बेलुका अझ कम खाने गरिन्छ । अहिलेको हाम्रो आधुनिक चलनमा बिहान हतारहतार गरेर थोरै खाने, बेलुका खाएर सुत्ने गर्दा राम्रो पाचन हुँदैन । हाम्रो भूगोलमा ब्रेकफास्ट जरुरी छैन । यो पश्चिमा मुलुकका लागि आवश्यक हो । हामीले घाम झुल्किएको तीन घन्टाभित्र मुख्य खाना खाइसक्नुपर्छ ।

५. धेरैपटक खाएर व्यक्ति स्वस्थ हुँदैन । भोक लागेपछि मात्रै खाने गरौँ । क्यालोरीका आधारमा खाने पश्चिमाहरूको चलन हो । त्यहाँको भौगोलिक अवस्था तथा मौसमले पनि यस्तै भन्छ ।

६. ऋतुअनुसार खानेकुरा खानुपर्छ । मौसमी खानेकुरा जस्तोे– सागसब्जी, अन्न, फलफूल आदि प्रयोग गरे स्वस्थ रहिन्छ । प्रकृतिले हाम्रो शरीरलाई पोषण, क्यालोरी, न्युट्रोसियन, भिटामिन जुन तत्व आवश्यक पर्छ, त्यही ठिक्क पारेर राखिदिएको छ । सुन्तलाको सिजनमा सकेसम्म सुन्तला खानुपर्छ । मौसमी खानेकुराको प्रयोग ग¥यौँ भने स्वस्थ रहन सकिन्छ ।

७. बजारमा पाइने जंकफुडबाट बचौँ । थोरै जंकफुडमा धेरै क्यालोरी हुन्छ । धेरै नुन, चिनी, चिल्लो हुँदा शरीरले पचाउन सक्दैन र शरीरभित्रै थुप्रिएर बस्छ । मानिसलाई तीन हजार क्यालोरी दिनभरिमा चाहिन्छ भने कुनै–कुनै जंकफुड चिप्स, आइसक्रिमहरू एउटैमा तीन हजार क्यालोरी हुन्छ । त्यसैले गर्दा दिनभरि खाएको अरू खानेकुरा रोगमा परिणत हुन्छ । हाम्रो शरीरले एक दिनमा पाँच चम्चा मात्र चिनी पचाउँछ । जंकफुडमा २० चम्चा चिनी हुन्छ । यसले शरीरको विकासमा अवरोध, मनको अशान्ति, मन्द बुद्धि हुनुका साथै मानसिक विकासमा अवरोध आउने गर्छ ।

८. पानी पिउने नियमबारे जान्नुपर्दछ । बिहान जति पानी खाए पनि हुन्छ, तर दिउँसो भएपछि बिस्तारै घटाउँदै लैजानुपर्छ । एक दिनमा जति पानी खाइन्छ, त्यति शरीरबाट निस्कन्छ । सामान्य मानिसले अढाई लिटर पानी खानु राम्रो हुन्छ । खानासँगै पानी खानु हुँदैन । राति सुत्ने वेलामा आधा घन्टाअगाडि एक गिलास पानी खाएर सुत्दा मुटु स्वस्थ हुन्छ ।

९. हाम्रो खानेकुरा घरको चुलोमा, सूर्यको चुलोमा र पेटमा गरी तीन ठाउँमा पाक्छ । जो व्यक्ति सूर्यको किरणमा पाकेको खानेकुरा खान्छ, ऊ स्वस्थ हुन्छ । सूर्यको चुलोमा फलफूल पाक्छ । सागसब्जी काँचो खान मिल्छ । तीन समय खाना खान्छौँ भने एक समय काँचो खाना खाने गरौँ, जुन नपकाएको होस् । कच्चा भोजन अमृत भोजन हो भने पकाएको मृत भोजन हो । त्यसैले एकपटक अमृत भोजन गरौँ ।

१०. प्राकृतिक रूपमा हेर्ने हो भने माटोमा उम्रेको खाने हाम्रो चलन हो । यसकारण स्वस्थ हुने चाहना छ भने शाकाहारी बनौँ । आजको युगमा पशु नै अस्वस्थ रहेको छ, त्यसैले पनि साकाहारी बन्ने गरौँ ।

११. जुन खानेकुरा पकाउनलाई त्यसको रूप, रङ बिगार्नु पर्दैन, बुद्धि लगाउनु पर्दैन, त्यो प्राकृतिक खाना स्वस्थ हुन्छ । जुन रूप, रङ बिगारेर पकाइएको हुन्छ, त्यो अस्वस्थ हुन्छ ।

१२. खाना खाइसकेपछि पचाउन पनि जान्नुपर्छ । शरीरमा खाना नपच्दा विष बनाउन मद्दत गर्छ । त्यसैले योग गरौँ, व्यायाम गरौँ र हिजो खाएको खानालाई पचाएर मात्रै अर्को खाना खाऔँ ।

१३. आवश्यक परेको वेला खाना छोड्ने पनि गरौँ, उपवास बस्ने गरौँ । उपवास बस्दा पेट खाली भएको अवस्थामा रोगहरू पचाइदिन्छ । त्यसैले वेलावेलामा आगो र ग्यास्ट्रिकलाई फुर्सद दिनुपर्छ । शरीरभित्र रहेको फोहोरमैला निकाल्न उपवास बस्नु अनिवार्य छ । त्यसैले उपवास दिनचर्याको अभिन्न अंग भएको छ ।

प्रतिक्रिया दिनुहोस्