कपिलवस्तुमा बाटो बनाउँदा पुरातात्विक संरचना भेटियो



जीतपुर, कपिलवस्तु, २६ पुस २०७४ : बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ ।

जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्ने क्रममा इँटाले बनेको संरचना फेला परेका हुन् ।

फेला परेका इँटाका संरचना स्थानीयबासीको जग्गामा पाइएका हुन् । भेटिएका संरचना पुरातात्विक महत्वका हुनसक्ने अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका छन् । संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ ।

तिलौराकोटमा उत्खननमा संलग्न पुरातत्व विज्ञको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाको निरीक्षण गरेको र हेर्दा पुरानो इँटा देखिए पनि विस्तृत कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताउनुभयो ।

उक्त स्थलको किनारमै प्राचीन कुवासमेत रहेको र केही वर्षअघि सो कुवामा प्राचीन वस्तु समेत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्