आमाको महत्व दर्शाउने नाटक : ‘आमा’



रत्ननगर, चितवन, २६ पुस : सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमाबुबा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ ।

विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमाबुबा तिरस्कृत हुने गरेका छन् । पारिवारिक कारण आमाबुबा वृद्धाश्रममा छाडिन्छन् । भविश्यमा आफू पनि आमाबुबा भइन्छ भन्ने ख्यालै गरिँदैन । त्यस्तै त्यस्तै विषय समेटेर मानव सेवा आश्रमको एउटा कलाकार समूह नाटक ‘आमा’ सहित देश दौडाहामा छ ।

छोराछोरीको विकृत मनोभावलाई त्याग्न प्रेरणा दिँदै आमाको महत्व दर्शाउने एउटा जीवन्त उदाहरण हो नाटक ‘आमा’ ।

नाटकको शुरुवात् आमाप्रतिको बुहारीको तिरस्कृत मनोभावबाट शुरु हुन्छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले घरबाट निकालिएपछि वाग्मतीको पुलमुनि मृत्युवरण गर्न पुगेकी आमाले मृत्यु हुनुअघि छोरालाई सम्बोधन गर्दै लेखिएको मातृवात्सल्यसँग छोको हेयलाई तुलना गरिएको कथासहितको बेदनाको पोको खोल्छन् । यसैबाट दर्शकको मन रसाउन शुरु गर्छ ।

त्यसपछि नाटक ‘आमा’ शुरु हुन्छ …

“कत्ति सुत्न सक्या भन्या, घरमा काम लठपत्रै छ”, यसो उठेर फूलमा पानी मात्रै हाल्दे’नी हुन्थ्यो नि, सुतिरहेकी बिरामी तथा वृद्धा आमालाई शान्तिले चर्केर तिखाले बचन लगाउँछिन् । “बाहिर गर आफैँ, भित्र आफैँ, सक्दिन म, के म यो घरको नोकर हो र ?” शान्ति कराउन छाड्दिनन् ।

“हेर न बुहारी, आज मलाई अलि सञ्चो छैन, फूलमा पानी तिमी नै हाल न है”, आमा भन्छिन् । बुहारीलाई आमा घरमा बसेको मन पर्दैन । वृद्धाश्रममा पठाउन श्रीमान्लाई दबाब दिन्छिन् । देखावटी आधुनिकतामा हुर्केकी बुहारी उच्च वर्गको देखाउन साथीहरु आउँदा आमा नदेखिए हुन्थ्यो झैँ गर्छिन् । बुहारीकै कचकच र गनगनले छोरा पनि आमालाई तिरस्कार गर्न पुग्छ ।

आमाको ममता अपरम्पार हुन्छ । त्यसको कुनै मोल नै हुन्न । तर छोराले यी सब कुरा बिर्सन्छ । जन्माएको हुर्काएको कति खर्च लाग्छ त्यो चुक्ता गर्ने अहमत जाग्छ ।

“एकछिन छोरा, तँ एउटी आमाले गरेको ममताको मूल्य चुक्ता गर्न चाहन्छस् हैन, ठीक छ तँलाई जन्माएँ हुर्काएँ, बढाएँ, आज यतिसम्म बनाएँ, यति धेरै हिसाब त आज म बुझाउन सक्दिन, तर एक हप्ताभित्र तँलाई सम्पूर्ण हिसाब बुझाउने छु ।” ऊ घर छाडेर जान लाग्दा आमाले रोक्दै भन्छिन् । उपस्थित दर्शकमा आँशुका धारा बग्न थाल्छन् । आमाहरुको मन थामिँदैन ।

नाटक हेर्दै गोरखाकी लिलावती अधिकारी सुँक्कसुँक्क गरी रुन थाल्नुभयो । “सुखदुःख दुवैसँगै त हुन्छ, दुःख देख्दा रुन मन लाग्यो”, अधिकारीले भन्नुभयो, “घरपरिवार नै राम्रो भए बाआमा यसरी बिछोडिनु पर्थेन, बा आमा विचल्ली हुनुपर्थेन ।” उनीसँगै ८७ वर्षका वृद्ध वैकुण्ठ अर्याल र ८१ वर्षीया दमयन्ती अर्याल दम्पती नै लट्ठी टेकेर आमा नाटक हेर्न सहभागी हुनुहुन्थ्यो ।

(रासस)

प्रतिक्रिया दिनुहोस्