उखुखेतीतर्फ किसानको आकर्षण



भीमदत्तनगर, २६ पुस : कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान उखुखेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

यस क्षेत्रमा उखु खेती फस्टाउँदै गएको छ ।  दोब्बर आम्दानी लिन सकिने भएपछि किसान उखुखेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी, बैवाह, झिलमिला, खैरिघाट, भुडा, कलकत्ता, बेलौरी, पुनर्वास र शंकरपुरका सयौँ किसान अन्य खेती लगाउन छोडेर उखुखेती गरिरहेका छन् ।

नौ वर्षदेखि उखु खेती गर्दै आएका बेल्डाँडी गाउँपालिकाका मानबहादुर चौधरीले अन्य बालीनाली भन्दा उखुबाट पर्याप्त आम्दानी गर्न सकेको  बताउनुभयो ।

“उखुखेती एक पटक र धान, गहुँ खेती पाँच पटक गर्नु एउटै हो”, उहाँले भन्नुभयो, “नगदे बालीतर्फ किसानको आकर्षण बढेको छ ।”

केही वर्षयता आफ्नै घरमा समेत गुड उत्पादन गरिरहेका चौधरी दैनिक तीन क्विन्टलसम्म गुड उत्पादन गर्दै आएको बताउनुभयो । गुड प्रतिकिलो रु ५५ का दरले बिक्री भइरहेको छ । उहाँले १० बिगाहमा उखुखेती गर्नुभएको छ ।

उखुखेतीबाट ६ महिनामा रु २०  लाखदेखि रु २४ लाखसम्म आम्दानी हुने गरेको किसान बताउँछन् ।  जिल्ला कृषि विकास कार्यालयका प्रमुख देवीदत्त कलौनीले पछिल्लो समय जिल्लामा उखुखेती फस्टाएको बताउनुभयो । उहाँले उखुखेतीतर्फ किसान आकर्षित भइरहेको बताउनुभयो ।

“कञ्चनपुरमा सात प्रतिशतले उखुखेती बढेको छ”, उहाँले भन्नुभयो, “स्थानीयस्तरमा चिनी मिल सञ्चालनमा आएपछि किसान थप उत्साहित भएका छन् ।”

प्रतिक्रिया दिनुहोस्