नियमित स्वास्थ्य परिक्षणका लागि अध्यक्ष ओली थाइल्याण्ड प्रस्थान (भिडीयो सहित)



राजु पोख्रेल, काठमाडौँ, २६ पुस : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि दिउँसो १ः३० बजे थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।

उहाँले जानुभन्दा अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गरी सरकार र निर्वाचन आयोगले एक महिना बितिसक्दा पनि सत्ता हस्तान्तरण नगरेकामा असन्तोष व्यक्त गर्नुभयो ।

यो सरकारले राष्ट्रिय सभा चुनावको विषय जोडेर सरकार लम्ब्याउने, नयाँ सरकार बनाउन अवरोध गर्ने र नयाँ सरकार गठनमा प्रतिनिधिसभाको स्वतन्त्र अधिकार रहेको कुरा अध्यक्ष ओलीले बताउनुभयो । गत मंसिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भए पनि समानुपातिक तर्फको मत परिणाम सार्वजनिक हुन बाँकी हुनु, जनताको अभिमतको अनादर गर्नु र लोकतन्त्रको गतिलाई अड्काउने काम भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) सँगको एकता चाँडै हुने जनाउँदै एकता भाँड्न गरिएका सबै षड्यन्त्र असफल हुने दाबी गर्नुभयो ।

पत्रकारहरुले पार्टी एकताको विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै उहाँले “हामीलाई जनताको सुख र समृद्धिको चिन्ता छ,  पद व्यवस्थापनको कुनै चिन्ता छैन, म विदेशबाट फर्के लगत्तै एकता प्रक्रिया अघि बढ्नेछ” भन्नुभयो ।

अध्यक्ष ओली बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आगामी माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनको फोटोफिचर 

फोटो : मेघराज पहाडी

प्रतिक्रिया दिनुहोस्