मिस्टर गे ह्यान्डसमको उपाधि मनिललाई



काठमाडौं, २७ पुस

अठार जना गे प्रतिस्पर्धीलाई उछिन्दै सर्लाहीका समलिंगी पुरुष मनिल सिंहले नेपालको दोस्रो मिस्टर गे ह्यान्डसमको उपाधि जितेका छन् । मिस्टर गे ह्यान्डसमको फस्र्ट रनरअप समीर विक र सेकेन्ड रनरअप अनुज पिटर राई भए ।

नीलहीरा समाजले आयोजना गरेको प्रतियोगितामा विजेता सिंहले पचास हजार रुपैयाँ नगद हात पारेका छन् । सर्लाही तराईमा अझै पनि तेस्रोलिंगीलाई खुल्न समस्या भएको भन्दै परिवारमा अहिलेसम्म गेका रूपमा खुल्न नचाहेको बताउने मनिल  चन्द्रनगरमा २८ वर्षअघि परिवारको माइला छोराका रूपमा जन्मिएका हुन्  । मनिलले केवल साथीहरूमाझ मात्रै खुलेको तर परिवारमा भने नखुल्ने गरेको समेत बताए । । समय आएपछि खुल्ने भन्दै परिचय लुकाएका उनको परिचय अहिले खुलेको छ ।

ट्रिटन कलेजमा बीएसडब्लू अध्ययन गरिरहेका सिंहले भने, ‘मिस्टर गेको उपाधि जितेसँगै आफ्नो समुदायको हितमा काम गर्ने उत्तरदायित्व बढेको छ ।’ तेस्रोलिंगी समुदायलाई हेर्ने सोच बदल्न तथा आफ्नो समुदायको उत्थानका लागि काम गर्ने प्रतिबद्धता पनि उनले जनाए । आफू सोसल वर्कको विद्यार्थी भएकाले पनि सामाजिक कार्यमा रुचि भएको उनले बताए ।

नेपालमा यो दोस्रोपटक समलिंगी पुरुषहरूको राष्ट्रि«यस्तरको प्रतियोगिता भएको हो । सन् २०१३ मा पहिलो मिस्टर गे ह्यान्डसम उपाधि हेटौंडाका विश्वराज अधिकारीले हात पारेका थिए । उपाधिपछि उनले तेस्रोलिंगी समुदायको मानव अधिकार, स्वतन्त्रता, समलिंगी विवाहजस्ता विषयमा काम गर्दै आएका छन् ।

नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङले यस्ता कार्यक्रमले समाजमा व्याप्त भेदभाव, पूर्वाग्रह हट्ने र यो समुदायका मानिसलाई पनि स्वतन्त्रता र सहानुभूति मिल्ने बताइन् । उनले भनिन्, ‘मिस्टर गे प्रतियोगिता शारीरिक र मानसिक क्षमता प्रदर्शन गर्ने मौका पनि हो ।’

प्रतिक्रिया दिनुहोस्