पाओलीको हनिमुनमा भीषण हिमवर्षा



काठमाडौं, २८ पुस

एक फरक फिल्म ‘हेट स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी  बंगाली नायिका पाओली दमले आफ्नो पहिलो फिल्ममा दिएको एउटा बोल्ड सिनले गर्दा उनी रातारात चर्चामा आइन् । जति नै उत्तेजक सिन दिएता पनि बलिउड अभिनेत्रीको रुपमा उनको करिअरले सोचे जस्तो गति लिन भने सकेन ।

गत डिसेम्बर ४ मा गुवाहाटीका रेष्टुरेन्ट मालिक अर्जुन देवसँग पाओलीले विवाह गरेर फिल्मलाई ‘गुडबाई’ गरेकी थिइन् । हनिमुनका क्रममा स्विजरल्यान्ड पुगेको जोडी त्यहाँ फसेपछि फेरि चर्चाको केन्द्रमा आएको छ । उनको विवाहमा उनको परिवारका सदस्य, केही आफन्त र साथीको मात्र सहभागिता थियो ।

विवाहपछि यो जोडी हनिमुन मनाउन स्विट्जरल्यान्डको हिउँ ढाकिएको इलाकामा पुगेको थियो । रोमान्सका लागि उपयुक्त थलो मानिएको यो ठाउँ पाओली जोडीका लागि भने पीडादायी बन्यो । हनिमुन मनाउन गएको यो जोडी भीषण हिमवर्षाको चपेटामा परेपछि  मुस्किलले ज्यान बचाएर फर्किएको छ । भारतीय सञ्चारमाध्यमले अत्यधिक हिमपातका कारण सो क्षेत्र संकटग्रस्त बनेपछि सरकारले सो क्षेत्र खाली गराएको बताएका छन् ।

समाचारमा उल्लेख भए अनुसार पाओली श्रीमानका साथ त्यहाँको  स्की रिसोर्टमा बसेकी  उनको हिमपातका कारण सञ्चार सम्पर्कसमेत टुटेको थियो । हिउँ पर्ने क्रम नरोकिएपछि रेल्वे ट्रयाकको बाटो पनि पूर्ण रूपमा बन्द भएपछि सरकारले सो ठाउँमा बसेका सबैको उद्धार गरेको थियो । चिसोकै कारण बिरामी भएकी पाओलीलाई त्यहाँको सरकारले हेलिकप्टरबाट उद्धार गरेको जनाएको छ ।

पाओली र उनका पतिसँगै त्यहाँ फसेका पर्यटकलाई पनि सुरक्षित स्थानमा लगिएको थियो । पाओलीले ‘अंकुर आरोरा मर्डर केस’, ‘यारा सिलीसिली’आदि फिल्ममा अभिनय गरेकी छिन् । पाओलीको डेब्यु रहेको ‘हेट स्टोरी’ बलिउड कै एक  हिट फिल्म मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्