बोल्टको ५ विकेटसंगै पाकिस्तान ७४ रनमा अलआउट



काठमाडौं, २९ पुस
जारी तेस्रो एकदिवसीय खेलमा पाकिस्तान माथि १८३ रनको शानदार जित हात पार्दै न्यूजिल्याण्डले ५ खेलको सिरिज ३ – ० ले सहजै आफ्नो पक्षमा पारेको छ। ट्रेन्ट बोल्टले ५ विकेट लिएपछि २५८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ७४ रनमा अलआउट भयो।

डुनेदिनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली न्यूजिल्याण्डले कप्तान केन विलियमसन र रोस टेलरको अर्धशतक मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २५७ रन बनाएको थियो। विलियमसनले सर्वाधिक ७३ रन बनाए भने टेलरले ५२ रन जोडे। यस्तै मार्टि गप्टिलले ४५ तथा टम लाथमले ३५ रनको योगदान गरे। बलिङमा पाकिस्तानका रुमन रइस र हसन अलीले ३(३ विकेट लिए।

जवाफमा किविज बलरले किफायती बलिङ गरेपछि पाकिस्तान २७।२ ओभरमा ७४ रनमै अलआउट भयो। पाकिस्तानको यो संयुक्त रुपमा तेस्रो कम स्कोर हो र उसलाई यस्तो अवस्थामा पूर्‍याउन बोल्टले ७।२ ओभरमा मेडन राख्दै १५ रन खर्चेर ५ विकेट लिए। यस्तै कोलिन मुनरो ७ ओभर बलिङ गर्दा १ मेडजन राख्दै १० रन मात्र खर्चेर २ विकेट लिए।

पाकिस्तानको यो स्कोर २५ वर्षयताकै कम स्कोर हो। सन् १९९३ मा पाकिस्तान वेष्ट इन्डिज विरुद्ध ४३ रनमा अलआउट भएको थियो। यस्तै सोही वर्ष वेष्टइन्डिज विरुद्ध नै पाकिस्तान ७१ रनमा अलआउट भएको थियो भने १९९२ मा इंगल्याण्ड विरुद्ध ७४ रन मात्र बनाएको थियो।

पाकिस्तानलाई एकदीवसीयमा सर्वाधिक कम स्कोर बनाउन बाट रोक्न ११औँ नम्वरमा ब्याटिङ गरेका रुमन रइसले सर्वाधिक १६ रन बनाए भने कप्तान सर्फ्राज अहमद १४ रनमा नटआउट रहे। पाकिस्तानले १६ रनमै ६ विकेट गुमाइसकेको थियो। तर फहिम असरफले १० तथा मोहम्मद बमिले १४ रन जोडेपछि सबैभन्दा कम स्कोर बन्नबाट बचेको थियो।

एकदिवसीयमा सबैभन्दा कम स्कोर बनाउने कीर्तिमान जिम्वावेको नाममा छ। सन् २००४ मा श्रीलंका विरुद्ध जिम्वावेले मात्र ३५ रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्