काठमाडौँ, १ माघ : ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। मौसमी चक्र अनुसार केहि न केहि चाडपर्व आउने गर्छ । जाडो याम अझ भनौ मध्य जाडोमा मकर संक्रान्ति मनाइन्छ । पुसको अन्त्य र माघ महिनाको प्रारम्भमा यो पर्व मनाइन्छ । कुनैपनि चाडपर्वसँग धार्मिक साइनो मात्र छैन, त्यसको खास बैज्ञानिक कारण पनि हुनेगर्छ ।
बैज्ञानिक महत्व
पुष मासमा जब सूर्य मकर राशिमा आउँछ, तब यो पर्व मनाइन्छ । सूर्यले धनु राशीलाई छाडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर मकर संक्रान्ति मनाइने गरिन्छ । १४ जनवरीमा सूर्य मकर राशीमा प्रवेश गर्दैछ । यहि दिनदेखि सूर्यको उत्तरायण गति प्रारम्भ हुन्छ । यस दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ ।
के खाने, किन खाने ?
तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे संक्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ । प्राकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । यतिबेला तिलको लड्डु लगायत मिठो परिकार खाइन्छ, जसले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ ।
बाँढीचुडी खाने पर्व
जाडो महिनामा पर्ने भएकाले यो पर्वमा हामी कन्दमुल खाने गर्छौ । नेपाली समाजमा मकर संक्रान्तिको दिन छिमेकमा खानेकुरा बाँडीचुडी खाने गरिएको छ । यतिबेला अन्नउब्जनी नहुने भएकाले पनि यस किसिमको संस्कार बसाइएको हुनसक्छ । यतिबेला दान गर्ने प्रचलन पनि छ । दान गर्दा पुण्य मिल्छ भन्ने धार्मिक विश्वास छ । खासगरी गरिब, निसाहय आदिलाई अन्न, तिल, गुड आदि दान गरिन्छ । संभवत यतिबेला खाद्य अभाव हुने भएकाले यस्तो संस्कार चलाइएको हुनुपर्छ ।
सकारात्मक उर्जाको सुरुवात
शास्त्र अनुसार दक्षिणयनलाई देवताको रात्री अर्थात नेगेटिभ इनर्जीको प्रतिक मानिन्छ । जबकी उत्तराचयणलाई देवताको दिन अर्थात पोजेटिभिटीको प्रतिक मानिन्छ । यस दिन जप, तप, ध्यान, स्नान, श्रद्धा, तर्पण आदिको विशेष महत्व छ । यो दिन दान गर्नु सय गुणा दान बराबर मानिन्छ ।
मकर संक्रान्तिदेखि सूर्य उत्तरतर्फ आउन थाल्छ । अर्थात गर्मी मौसम सुरु हुन्छ । दिन लामो र रात कम हुन्छ । अन्धकार कम हुन्छ । सूर्यको प्रकाश तेज हुन्छ ।
प्रकाश अधिक हुने भएकाले प्राणिको चेतना र कार्यशक्तिमा वृद्धि हुन्छ ।
यो पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई आदि नदी तथा घाटमा स्नान, दान, श्रद्धा गर्ने चलन छ ।