इटहरी, १ माघ : इटहरीको राधाकृष्ण मन्दिरमा गतवर्ष एउटा अनौठो घटना भयो । एकजना दृष्टिविहिन तथा वेसहारा वृद्धले मन्दिरलाई ठूलो घन्ट दिन्छु भने । दिनभरी अरुले दिएको एकदुई रुपैयाँ सहयोग थाप्ने र मन्दिरमै आश्रय लिएर गुजारा चलाउने अम्बरबहादुर गुरुङले दिन खोजेको घन्टको मूल्य थियो करिब तीस हजार रुपैयाँ । बेसहारा तथा दृष्टिविहिन वृद्धले करिब तीस हजार रुपैयाँको घन्ट दिने ? अविश्वशनीय ठाने मन्दिर संचालक समितिका पदाधिकारीहरुले । तर, पत्याउनै पर्ने भयो ।
मन्दिरमा त्यति ठूलो घन्ट झुण्डाउने उपयुक्त ठाउँ थिएन । के गर्ने ? घन्ट झुण्डाउन विशेष ठाउँ बनाउन पर्ने भयो । त्यस्तो ठाउँ बनाउन एक लाख रुपैयाँ भन्दा धेरै लाग्ने आकलन गरियो । अम्बरबहादुर नै अगाडि सरे । उनले भने, ‘यसका लागि म दस हजार रुपैयाँ दिन्छु ।’ सानोतिनो रकममा लोभ नगर्ने, कसैलाई भनी नबिझाउने, दृष्टिविहिन भएँ भनेर अरुबाट सहयोगको अपेक्षा पनि नगर्ने अम्बरबहादुरको स्वभाव मन्दिरका सबैलाई थाहा थियो । बरु, खल्तीमा छ भने अरुलाई सहयोग दिन पछि नहट्ने, बालबालिकाको पढाईका लागि सहयोग गर्ने स्वभाव पनि धेरैलाई थाहा थियो । त्यसैले अम्बरबहादुरले दिन्छु भनेपछि पत्याउनै पर्ने भयो । नभन्दै, अम्बरबहादुरले दस हजार रुपैयाँ पनि दिए, घन्ट पनि किनिदिए । त्यो घन्टको आवाजले अहिले राधाकृष्ण मन्दिर गुन्जायमान भइरहेछ । दान या सहयोगको महिमा परिमाणले निर्धारण गर्दैन, दिनेको हैसियतले निर्धारण गर्छ । अम्बरबहादुरले चालीस हजार रुपैयाँ मूल्य बराबरको दान दिनु सामान्य दान होइन । त्यसैले उनलाई स्थानीय रुपमा सम्मान र अभिनन्दन समेत गरिएको छ ।
यसरी गुम्यो ज्योती
उमेर कति भयो ? अहँ थाहा छैन उनलाई । ७० वर्षको भएँ होला भन्छन् । बिहानै उठेर डुल्न हिँड्छन्, ‘म अन्धो मानिस आएँ है हजुर,’ भन्छन् प्रत्यक्ष केही माग्दैनन् । दृष्टिविहिन, त्यसमाथि वृद्ध मानिस देखेपछि प्राय सबैले एकदुई रुपैयाँ दिन्छन् । यसरी नै चलिरहेछ अम्बरबहादुरको जीवन ।
एउटा उमेर थियो, एउटा जमाना थियो, अम्बर पनि अरुले जसरी नै आँखा देख्थे । एउटा दिन यस्तो आयो, आँखा देख्न छाडे । त्यसबेला उनी बीरगञ्जमा थिए, रिक्सा चलाउँथे । आँखा कम देख्न थालेपछि जँचाउन गए । डाक्टरले आँखाको नसा सुकेको छ उपचार सम्भव छैन भने । जचाउन उनी झापाको विर्तामोड पुगे, सिराहाको आँखा अस्पताल पुगे । अहँ, उपाय लागेन । संसार यस्तै रहेछ, भाग्य यस्तै रहेछ भन्दै मन बुझाए । आँखाको ज्योती गुम्दैगुम्दै गयो, एकदिन अन्धकार भयो । आँखा पूर्ण रुपमा देख्न छाडे । आँखाको ज्योती गुमे पनि ह्रदयको ज्योती गुमेन । बाँच्ने जिजिविषा गुमेन । त्यसपछि उनलाई भाग्यले इटहरीतिर डोर्यायो ।
वर्मादेखि नेपालसम्म
‘वर्मा गए कर्म सँगै, नेपाल आए कपाल सँगै’ भन्ने उखान चरितार्थ भयो अम्बरबहादुरको जीवनमा ।
बाआमा इलामका हुन् अरे, वर्मा गए । वर्मामै अम्बरबहादुर जन्मिए । बुवाको नाम दलबहादुर हो, आमाको नाम सम्झना छैन । दस वर्षको हुँदा बाआमा दुवै परलोक गइसकेका थिए । परिवार, नातागोता कोही थिएनन्, दाजुभाई दिदी बहिनी पनि थिएनन् । एक्लो भए । उनले राधाकृष्ण मन्दिरमा बुवाको नाममा घन्ट चढाएका हुन् । बाआमा बितेपछि अरुको घरमा काम गरेर बस्न थाले ।
२०१७ सालमा वर्माका नेपाली समुदायमाथि विपत्ति आइलाग्यो । त्यहाँबाट नेपालीलाई लेखेट्न थालियो । रातारात भागेर ज्यान बचाउन अरु नेपालीहरुको साथ लागेर अम्बरबहादुर भारत आइपुगे । जाने ठाउँ कहिँ थिएन । मणिपुरमा बसे । त्यहाँ जंगलमा कटेरो बनाएर बसेका एक नेपाली परिवारको घरमा काम गर्न थाले । तीन वर्षपछि नागाल्याण्ड गए । नागाको कुटानी पिसानी मिलमा काम गर्न थाले । ज्याला पाउँथे दैनिक पचास पैसा ।
तीन वर्षमा पाँच सय रुपैयाँ वचत गरे ।
त्यसपछि आसामको डिमापुरबाट मणिपुरको कोहिमा जाने सडकमा कुल्ली काम गर्न थाले । महिनाको तीस रुपैयाँ पाउँथे, खान बस्न पनि निशुल्क थियो । ६ महिना कुल्ली काम गर्दा पाँच ६ हजार रुपैयाँ वचत गरे । २०२४ सालमा डिमापुरबाट रेल चढेर जोगबनी हुँदै नेपाल छिरे । नेपाल छिरेको त्यो दिन अझै याद छ अम्बरबहादुरलाई । नेपाली माटोमा टेक्दा उनका आँखा रसाए, अब दुःखका दिन सकियो भन्ने लाग्यो । उनी इटहरी आए । राधाकृष्ण मन्दिरमा बस्न थाले । त्यही मन्दिर, जुन मन्दिरमा उनी दृष्टिविहिन बनेपछि फेरि आइपुगे । केही समय मन्दिरमा बसेपछि झापाको कानेपोखरीमा आरा काट्ने काम गर्न थाले । ०२७ सालमा कानेपोखरीमै विहे गरे । एक वर्ष नबित्दै श्रीमती अर्कैसँग गइन् । मन विरक्तियो, भौंतारिएर हिँड्न थाले । २०३२ सालमा बीरगञ्ज गए, चार वर्ष दारा काट्ने काम गरे । त्यसपछि विभिन्न काम गरे । वीरगञ्जमा ट्रकमा दाउरा लोड गर्ने काम पनि गरे । त्यसक्रममा दुईतीन पटक काठमाडौं पुगे । पशुपतिनाथ र स्वयम्भू पुगेको अहिले पनि झलझली सम्झन्छन् । ०४० सालबाट रिक्सा चलाउन थाले । त्यही रिक्सा चलाइरहेको बेला आँखा कम देख्न थाले । र, जीवनले यो मोड लियो ।
आजका अम्बरबहादुर
इटहरी उपमहानगरपालिका कार्यालय अगाडीको चौतारोमा दिनमा २ ।३ घण्टा वस्छन् । अनि आँखा नदेख्ने मान्छे आयो है हजुर भन्दै बजार तिर हिडेपछि प्राय सबैले पैसा दिन्छन् । कसै कसैले त एक ढेढसय रुपैयाँ पनि दिन्छन् । राति मन्दिरमा आएर बस्छन् । इटहरीमै छन् एक परिवार जसले रोटी पसल राखेको छ । रोटी बेच्छन् । साँझको खाना त्यहिँ खान्छन् । रोटी पसलेको छोरीलाई उनले पनि छोरी मानेका छन् ।
छोरीले सात कक्षा पास गर्दा अझ राम्रो पढ्नु भन्दै १८ हजार रुपैयाँमा सुनको औंठी किनिदिए । आठ कक्षा पास गर्दा १६ हजार रुपैयाँमा पर्ने सुनको कुण्डल किनिदिए । नौ कक्षा पास गर्दा सुनको फुली बनाइदिए । अरुलाई पनि सहयोग गरेका छन् । तर, न मन्दिरमा घन्ट चढाएको कसैलाई सुनाउन मान्छन्, न अरुलाई दिएको सहयोग नै सुनाउँछन् । अम्बरबहादुर कुनै पनि देशका नागरिक होइनन्, उनीसँग नागरिकता नै छैन । त्यसैले न वृद्धभत्ता पाउँछन्, न अपांग दृष्टिविहिन भत्ता पाउँछन् । जम्मा भएको पैसा उनी झोलामा बोकेर हिँड्थे, एकदिन साँझ कसैले लुटिदियो । ८५ हजार रुपैयाँ थियो । कतै उजुरवाजुर गर्न गएनन् । त्यसपछि मन्दिर सञ्चालक समितिका अध्यक्ष विश्वप्रसाद रिजालले दुर्गा वचत तथा ऋण सहकारीमा वचत गर्ने व्यवस्था मिलाइदिए । त्यहाँ एक लाख रुपैयाँ थियो तर रकम निकालेर साथीलाई पचास हजार सापटी दिएका छन् । भन्छन्, ‘मेरो केही रहर छैन, केही पनि इच्छा छैन । जे छ ठिकै छ ।’ उनी अशक्त बन्दै गएका छन् । शान्तिसँग बाँच्न पाइयो भने यही ठूलो कुरा हो भन्छन् । उनको भनाई छ, ‘कसैको कुभलो नगर्नु, कसैको नराम्रो नचिताउनु, कसैलाई नराम्रो वचन नलगाउनु ।’
उनको अर्काे भनाई झन गज्जबको छ, भन्छन्, ‘लोभ नगर्नु, लोभले सुख दिँदैन ।’ साभार : हाम्रो कथा