जान्नुहोस एकमुखे रुद्राक्ष के हो र कस्तो हुन्छ ?



काठमाडौँ, १ माघ : एकमुखे रुद्राक्षको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि औषधीका रूपमा यसबारे उल्लेख छ । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार यस्तो रुद्राक्ष एउटा बोटमा बाह्र वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ । तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । सौर्य परिवारमा सूर्यग्रह बीचमा रहन्छ र अरु ग्रहहरुले सूर्यलाई परिक्रमा गर्दछन् । जसको प्रतिनिधित्व एकमुखे रुद्राक्षले गरेको हुन्छ । यसले सूर्यको नकारात्मक प्रभावबाट बचाउँछ साथै दाहिने आँखाको रोग, टाउको, कान, खानानली, पेट तथा हड्डीको रोग निदान गर्दछ । एकमुखे रुद्राक्ष धारण गर्नेलाई मनोवैज्ञानिक रुपमा आत्मविश्वासी, मनलाई प्रफुल्लित राख्ने, नतृत्व गुण बढाउने, सम्मन्नतामा वृद्धि हुने गर्दछ किनकी यसको धारणले सूर्यको नकारात्मक प्रभावबाट सहजै बच्न सकिन्छ । एकमुखे रुद्राक्ष ज्यादै दुर्लभ रहेको छ । यो ज्यादै मूल्यवान् एवं गुणकारी हुन्छ । एकमुखे रुद्राक्ष साथमा रहनाले एश्वर्य बढ्दै जाने, शक्ति बढ्दै जाने, प्रतिष्ठा, इज्जत बढ्दै जाने हुन्छ । मानिस आत्मविश्वसी, साहसी, धैर्यवान, आध्यात्मिक सचेततायुक्त हुन्छ । यो धारण गर्नाले शिव शक्ति प्राप्त हुने विश्वास छ । यो अरु रुद्राक्षहरुभन्दा सर्वश्रेष्ठ छ । यसलाई नै रुद्राक्षको जननीको रुपमा लिइन्छ । जीवनलाई सुखमय बनाउन र चौतर्फी सफलता प्राप्त गर्नका लागि यो धारण गर्नुपर्छ । यो रुद्राक्ष घरमा राख्नाले लक्ष्मी प्राप्त भैरहन्छ । हुन नसकेका र नचिताएका शुभ कार्यहरु समेत पूर्ण हुँदै
जान्छन् ।

प्रतिक्रिया दिनुहोस्