कविता: टाेपी अनि गुन्द्रुक



काठमाडौं, १ माघ

गुन्द्रुककाे झाेलमा रमाएका

अाजकलका सहरबासीहरू

गाउँतिर पसिरहेथे

टाढाटाढा जिब्रामा टाँसिएका स्वादहरूमा

गाउँलेहरू अचेल गुन्द्रुक बेचिरहेथे

अाफ्ना बजारतिर नेपाली शानसँग।

गुन्द्रुक पहाडियाकाे जडि तिहुन

भुक्लुक्क उमाल्याे सुरूप्प पियाे

पहाडियाहरू गर्व गर्दथे

अाफूलाई अचेलका रेष्टुराँमा

ससम्मान साथ ।

नयाँ युगकाे परवेशमा

गुन्द्रुकजस्तै हराएका

नेपालकाे नक्साका टाेपीहरू

अाजकलका

पहाडिया मानिसहरूतिर माैलाइरहेथ्याे

टाेपी दिवशकाे नामसँग

टाेपीकाे शुभमुहूर्तमा

वर्षकाे एकदिन।

नेपाली टाेपी या गाेर्खाली टाेपी,

वीरताकाे टाेपी वा पहिचानकाे टाेपी

उहिले उहिले टाेपी लगाउनेहरू

पहाडमा थे हिमालमा पनि थिए,

तराईमा त अझै धेरै थे

अचेलकाे टाेपीलाई

पहाडियाहरू सम्झन्छन् र,

मात्रै अाफ्नाे पहिचानकाे दिवश ठान्छन् ।

मानिसहरूमा अाएकाे

टाेपीकाे स्खलनमा विदेशी

रक धुन बजिरहेथ्याे मेराे अघिल्तिर ।

अाज विहानै

टाेपी दिवशकाे खुब चर्चा गरेथेँ

फितला मानिसहरूका बीचमा

भावुक भएर ।

मलाई लागेथ्याे

गुन्द्रुक र टाेपीकाे अन्तर बारे

मानिसहरूकाे मानसिकता र

ढाेंगी चरित्रजस्तै लाटाेकाेसेराका

ऐठनी धुनजस्तै हाँसिरहेका,

तिनीहरूकाे

नक्कली व्यवहारका मापनमाथि।

देशमा टाेपी हराइरहेथ्याे, गुन्द्रुक चर्याइरहेथ्याे

पहाडियाहरू पसल थापिरहेथे

बाटाेबाटाे तिर पहिचानका नाममा

रक एण्ड राेलका स्वादमा ।

दिवश हुन्थ्याे पहिचानकाे,

पहिचान्ने काेही थिएनन्

नजिकै पहिचान बेचिरहेथेँ

म टाेपी लगाएर ।

विदेशी बजारमा किनेकाे गुन्द्रुक

र,

उतैतिरबाट अाएकाे मेराे टाेपीले

अचेल मलाई राष्ट्रियता सिकाइरहेथ्याे

म रमाइ रमाइ राष्ट्रियता घाेकिरहेथेँ।

प्रतिक्रिया दिनुहोस्